ताजा अपडेट »

सीमामा कडाई गरेपनि सुध्रिएनन् व्यापारी, रोकिएन भन्सार छलेर चोरी तस्करी

बुधबार, १३ असार २०८०

भैरहवा । रुपन्देही प्रहरीले एकै दिन फरक फरक स्थानबाट ठूलो परिमाणमा भारतबाट तस्करी गरि ल्याउदै गरेको सामाग्री बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक श्यामु अर्यालका अनुसार सिद्धार्थनगर नगरपालिका वडा नंम्बर १० भुजौलीबाट भारतका महाराजगंज जिल्ला बस्ने ३४ बर्षिय को भगवान दास मौर्य, सिद्धार्थनगर नगरपालिका १ बस्ने २४ बर्षिय को ईन्तियाज अहमद मुसलमान र मायादेवी गाउँपालिका वडा नम्बर ६ बस्ने १९ बर्षिय को अजय कुमार चमारलाई अवैध समान सहित पक्राउ गरिएको हो ।

उनिहरुबाट प्रहरीले भारत बाट नेपाल तर्फ भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको सिलकन थान कपडा ९ हजार ४२ मिटर, लेडिज सुट १ सय ५२ थान, टप्स १९ थान, साडी ७ थान, ब्लाउजको कपडा ६० मिटर, ध्वजा कपडा १ सय २६ मिटर, हुक्कामा प्रयोग गर्ने फ्लेवर १० कार्टुन बरामद गरेको छ । यस्तै लु १९ प ८४२१ नम्बरको मोटरसाईकल र लु ३१ प ४८४१ नम्बरको मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

यी सबैको अन्दाजी मूल्य ७ लाख ७० हजार १ सय रहेको डिएसपी अर्यालले बताए । यस्तै रुपन्देहीकै मायादेवी गाँउपालिका वडा नम्बर ७ बनगाईबाट मायादेवी गाँउपालिका वडा नम्बर ६ बस्ने १८ वर्षिय बिकास नाउँ, १९ वर्षिय महेश बनिया बनियालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनिहरुले अवैध रुपमा भारत बाट नेपाल तर्फ भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको डेरी मिल्क ४ प्याकेट, जुत्ता ६८ जोर, कोकोनटबार चकलेट १९ कार्टुन, चिनी ६ बोरा, छाता १ सय ४७ पिस र जुत्ता ६८ पिस प्रहरीले बरामद गरेको छ ।

प्रहरीले दुबैले चलाएको लु ४ प १८६८, लु ६ प २८२३ नम्बरको मोटरसाईकल र वेवारिसे अवस्थामा रहेको लु २१ प ३१५१ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिएको छ । बरामद भएको समान र मोटरसाईकल सहितको मूल्य ३ लाख ९१ हजार २ सय रहेको प्रहरीको आँकलन छ । सामान्यतः प्रहरीले अवैध समान बरामद गरे पनि समान ओसार प्रसार गर्ने भरियाहरुलाई भने उम्काउने गरेको थियो ।

तर पछिल्लो समय रुपन्देहीमा तस्करीमा कडा देखिएको प्रहरीले यसलाई थप नियन्त्रण ल्याउन भरिया र उनिहरुले चलाएको सवारी समेत नियन्त्रणमा लिएको हो । भैरहवा भन्सार कार्यालयले भारतबाट आयात हुने १ सय मूल्य भन्दा बढीको समानमा भन्सार महशुल लिन थाले पछि यस क्षेत्रमा अवैध तरिकाबाट कारोबार भएको भन्दै प्रशासनको आलोचना हुदै आएको छ ।