भैरहवा । साविकको १८ वटा गाविसहरु रहेको क्षेत्र मर्चवारको रुपमा पहिचान बनाएको छ । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको केन्द्रको रुपमा मझगावा रहेको छ । ईलाका प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, बैंक तथा बित्तीय संस्था लगायतका प्रशासनिक निकायहरु रहे पनि मझगावा अहिलेसम्म ग्रामीण क्षेत्रकै रुपमा रहेको छ । सोही मझगावालाई ब्यवस्थित शहरीकरण गर्न गाउँपालिकाले अगुवाइ थालेको छ ।
कोटहीमाई गाउँपालिकाले मझगावाँलाई मर्चवारको मुख्य शहरको रुपमा निर्माण सुरु गरेको छ । शहरीकरणको पहिलो खुडकिला अन्तरगत पालिकाले मझगावा आसपासका सडकमा सडक पेटी, नालीसहित फराकिलो गरी निर्माण कार्य सुरु गरेको कोटहीमाई गाउँपालिका अध्यक्ष बाल कृष्ण त्रिपाठीले बताए ।
शहरी विकास मन्त्रालयसँग समन्वय गरी ल्याइएको करीब ३ करोड रुपैयाको लागतमा सडक संरचनाबाट निर्माण कार्य सुरु गरिएको गाउँपालिका अध्यक्ष त्रिपाठीले जानकारी दिए ।
मझगावाको कृषि विकास बैंक देखि कोटहीमाई गाउँपालिकाको सभाहल सम्मा २२ फिट चौडाईको आरसीसी सडक निर्माण सुरु गरिएको छ । साथै सडकको दुबै तर्फ ४/४ फिट नाली समेत निर्माण गरिने अध्यक्ष त्रिपाठीले बताए । यसैगरी मझगावाको मुख्यचोक वडा नम्बर ५ को कार्यालयदेखि बैरघाट सम्म १ हजार ८ सय मिटर भन्दा बढी कालोपत्रे सडक सहित नाली तथा सडक पेटी निर्माण हुने उनले बताए ।
लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य तथा पूर्व शिक्षा मन्त्री वसीउद्दीन खाँले आफुले निर्वाचन भन्दा पहिला गरेको वाचा पुरा भएको बताए । “म लुम्बिनी प्रदेश सरकारको शिक्षा मन्त्री हुँदा शहरी विकास मन्त्रालयबाट पहल गरी ल्याएको हु । ” उनले भने “मझगावाँलाई शहर बनाउन १ अर्ब ६१ करोडको डिपिआर भएको छ । अहिले पहिलो चरणको काम सुरु भएको र ४/५ चरणमा गरि काम पुरा हुने छ ।” मझगावामा रहेको सम्पूर्ण सरहकारी कार्यालयहरुको संरचना नयाँ तरिकाले विकास गर्ने प्रदेश सभा सदस्य खाँले बताए । कोटहीमाई ७ तिनकोनियालाई आधुनिक पार्क बनाउने गरि केही दिनमा टेन्डर आव्हान हुने खाँनले जानकारी दिए ।
मझगावालाई शहरको रुपमा विकास गर्ने योजनाबारे जानकारी दिदै कोटहीमाई गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष संजय कुमार सैनीले शहरलाई आवश्यक अन्य भौतिक संरचनाहरु पनि क्रमशः निर्माण गर्दै जाने बताए । सार्वजनिक शौचालय, उचित पार्किङ्ग व्यवस्था, स्वच्छ खानेपानी, फोहोरको व्यवस्थापन लगायत सार्वजनिक ठाउँको सुन्दरीकरणका योजना रहेको सैनीले बताए ।
शहरी विकास मन्त्रालय अन्र्तगतको बजेट दर्शन मालिका बिल्डर्स प्रालि संग सम्झौता भएको निर्माण कम्पनीको सुपरभाइजर केशव केसीले जानकारी दिए । यसै आर्थिक वर्षभित्र सम्पन्न हुनेगरी निर्माण कार्य ३ दिन भित्र सुरु गर्ने निर्माण कम्पनीले जानकारी दिएको छ । काम गर्ने सडकको छेउमा निर्माण भएका अन्य संरचनाहरुको ब्यवस्थापन नहुँदा कार्यमा ढिलाई भएको निर्माण कम्पनीका सुपरभाइजर केसीले जानकारी दिए ।
“सडकको चौडाई भित्र पर्ने अन्य संरचनाको एकीन भइसकेको छ गाउँपालिकाले त्यसलाई हटाउन सूचना समेत टाँस गरेको छ,” उनले भने “अहिले सब बेस राख्ने काम सुरु गरी साईट क्लियर पश्चात नाली निर्माण कार्य सुरु गर्छाै ।”
प्रतिक्रिया