ताजा अपडेट »

रुपन्देहीको शुद्धोधनका प्रशासकीय अधिकृत र वडा नं.७ का अध्यक्षसहित ३ जना विरुद्ध भ्रष्टाचारको मुद्दा

मंगलबार, १२ असार २०८०

बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी र वडा नम्बर ७ का वडाध्यक्ष भीमबहादुर यादवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत मरासिनी र वडा नम्बर ७ का वडाध्यक्ष यादव र बिचौलिया बिनोद भरविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । मरासिनी र वडाध्यक्ष यादवलाई अख्तियारले ५० हजार रुपैयाँ बिगो कायम गर्नुका साथै त्यति नै जरिवाना र कैद सजायको मागसहित मुद्धा दर्ता गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले २०७९ चैत १६ गते प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी, सोही गाउँपालिकाको वडा नम्बर ७ का वडाअध्यक्ष भीमबहादुर यादव र विचौलिया विनोद भरले ५० हजार रुपैयाँ घुस रकम सहित नियन्त्रणमा लिएको थियो । उनीहरुले नदीजन्य पदार्थ उत्खनन् सम्बन्धमा घुस माग गरेको उजुरीको आधारमा उनीहरुलाई गाउँपालिकाको चमेना गृहबाट पक्रा परेका थिए ।