ताजा अपडेट »

नागरिक भएपछिको खुशी

सोमबार, ११ असार २०८०

भैरहवा । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ३ पडरीया बस्ने रोहन कसौधन काठमाडौंमा चार्टड एकाउटेन्ट पढदै छन् । पढाईकै क्रममा उनलाई नेपाली नागरिकता प्रमाण–पत्रको माग गरेपछि अप्ठयारो परेको थियो । उनै कसौधनले सोमबार भैरहवाबाट बंशजको नागरिकता पाएपछि उनको खुशीको सीमा थिएन । अब अगाडिको पढाई सहज हुने भन्दै सरकारलाई धन्यवाद पनि दिन भ्याए ।

रोहन जस्तै सिभिल इन्जिनियरिङ्गको छैटौ वर्षको परीक्षा दिएर बसेका विनय कुमार यादवलाई पनि थप अध्ययनकै लागि नागरिकता आवश्यक परेको थियो । सोमबार उनले पनि नागरिकता पाएपछि अब अध्ययन सहज हुने बताए । नागरिकता पाउने मात्र हैन उनिहरुका अभिभावक पनि सन्तानले नागरिकता पाएपछि राहत महशुश गरेका छन् । बिनयका बाबु गोसाई यादवले आफ्नो छोरा पनि अब नेपाली नागरिक भएकोमा खुशी ब्यक्त गरे । “अहिलेसम्म कति जनाले नागरिकता नभएको भन्दै हेप्ने गरेका थिए ।” यादवले भने “दुई छोराहरुले नागरिकता पाए अब उनिहरुको भविष्य पनि उज्वल हुनेछ ।”

२०६३ सालमा जन्मसिद्ध आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानलाई रुपन्देहीमा वंशजको आधारमा नागरिकता दिन सुरु गरिएसंगै नागरिकता बिहिन बनेर बसेकाहरुमा उत्साह छाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भई नेपाल नागरिकता ९पहिलो संशोधन० ऐन २०७९ कार्यान्वयन गर्ने बाटो खुलेसँगै आइतबारदेखि रुपन्देहीमा पनि नागरिकता वितरण सुरु गरिएको हो ।
जन्मको आधारमा नागरिकता प्राप्त सन्तानलाई वशंजको आधारमा नागरिकता वितरण सुरु गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताए । प्रमुख जिल्ला अधिकारी पाण्डेले कार्यालयमा भिडभाड हुन नदिन र कामलाई व्यवस्थित गर्न पालिकाअनुसार आलोपालो प्रणाली लागू गरिएको बताए ।

“जिल्ला प्रशासन कार्यालय भैरहवाबाट २ सय, ईलाका प्रशासन कार्यालय बुटवल र मझगावाबाट १÷१ सय गरी औषतमा दैनिक ४ सय जनालाई नागरिकताको प्रमाणपत्र वितरण गरिने तयारी गरेका छौं ।” उने भने “त्यही अनुसार सिफारीस गर्न हामीले स्थानीय तहहरुलाई अनुरोध पनि गरेका छौ, तोकिएको दिनमा तोकिएको पालिकाले सिफारीस गरि दिनुभएको छ ।” उनले कतिपय कागजात नमिलेको र अप्ठ्यरो परेका नागरिकताको हकमा छुट्टै संयन्त्र बनाई समाधानको प्रयास गरिने जानकारी दिए ।

रुपन्देहीमा २०६३ सालमा करिब १४ हजार ८ सय जनाले जन्मको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए । सोही तथ्यांकलाई आधार मान्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अहिले जिल्लामा जन्मका आधारमा नागरिकता पाएकाको नागरिकता पाउनु पर्ने सन्तानको संख्या २५ हजार रहेको अनुमान गरेको छ ।