भैरहवा । वडा अध्यक्ष, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष बीच बजेट बाँडफाडको विषयमा कुरा नमिल्दा रुपन्देहीका ३ गाउँपालिकाले तोकिएको समयमा गाउँसभा नै गर्न सकेनन् । जिल्लाको रोहिणी गाउँपालिका, कोटहीमाई गाउँपालिका र सम्मरीमाई गाउँपालिकाले तोकिएको १० गते भित्र निति, कार्यक्रम तथा बजेट ल्याउन सकेनन् ।
वडा अध्यक्षहरुले वडाको लागि अत्याधिक बजेट माग गर्न थालेपछि ३ वटै पालिकाले निश्चित समयमा गाउँसभा गर्न सकेनन् । यसले पालिकालाई प्राप्त हुने अनुदानमा प्रत्यक्ष असर पार्नेछ । “असार १० गते भित्र स्थानिह तहले कानुन अनुसारको गाउँसभा गर्नुपर्छ ।” सियारी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले भने “समयमा गर्न नसके कानुनको पालन गर्न नसकेको ठहरी अनुदानमा कटौती हुने हो ।”
सम्मरीमाई गाउँपालिकाका वडा अध्यक्षहरुले २ करोड ५० लाखको बजेट माग गरेको र गाउँपालिका अध्यक्षले पनि समन्वय गर्न नसक्दा गाउँसभा हुन नसकेको त्यहाँका प्रमुख प्रशासकिय अधिकृत झविलाल भट्टराईले बताए । यस्तै रोहिणीमा पनि बजेट सिलिङ्गकै समस्या रहेको प्रमुख प्रशासकिय अधिकृत श्रीप्रसाद गौतमको भनाई छ । कोटहीमाई गाउँपालिकामा पनि लामो समयको छलफलपछि पनि गाउँसभा हुन सकेको छैन । समस्या समाधान गरि असार १५ गते भित्र नै गाउँसभा गर्ने प्रयासमा रहेको प्रमुख प्रशासकिय अधिकृत राजन श्रीवास्तवको भनाई छ ।
जनप्रतिनिधिहरुको लडाईले यसको प्रत्यक्ष मार सम्बन्धित पालिकाको विकासमा पर्ने भन्दै स्थानियहरुले रोष ब्यक्त गरेका छन् । १ वटा उपमहानगर पालिका, ५ वटा नगरपालिका एवम १० वटा गाउँपालिका सहित रुपन्देहीमा १६ स्थानिय तह रहेका छन् ।
प्रतिक्रिया