ताजा अपडेट »

सिद्धार्थनगरको बजेट १ अर्ब १३ करोड, टुक्रे तथा साना योजनालाई निरुत्साहित गर्ने नीति

आइतबार, १० असार २०८०

भैरहवा । सिद्धार्थनगर नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को लागि १ अर्ब १३ करोड ४१ लाख ४२ हजार रुपैया बराबरको बजेट सार्वजनिक गरेको छ । आईतबार भैरहवामा आयोजित पालिकाको १३ औं अधिवेशनमा सिद्धार्थनगर नगरपालिकाकी उप–प्रमुख उमा अधिकारीले चालु आर्थिक वर्ष भन्दा २१ करोड बढी बजेट घटाएर पेश गरेकी छन् । चालु आर्थिक वर्षमा १ अर्ब ३४ करोड आम्दानी हुने लक्ष्य राखिए पनि ९४ करोड मात्र आम्दानी भएको कारण बजेटको आकार घटाउनु परेको छ ।

संघीय सरकारबाट समानीकरण अनुदानमा १७ करोड ८९ लाख, सशर्त अनुदानमा २८ करोड ५४ लाख, समपुरक अन्दान ८० लाख रुपैया, विशेष अनुदान ९० लाख रुपैयाँ र राजस्व बाँडफाँडमा १० करोड ४३ लाख ४६ हजार आम्दानी हुने नगरपालिकाको प्रक्षेपण रहेको छ । यस्तै प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान १ करोड ३७ लाख ३३ हजार, सशर्त अनुदान ८६ लाख ५० हजार रुपैया, राजस्व बाँडफाडबाट ८६ लाख ८० हजार ४ सय १३ रुपैया, समपुरक अनुदान १ करोड ५० लाख रुपैया प्राप्त हुने उप–प्रमुख अधिकारीले बताइन ।

नेपाल सरकार र एसियाली विकास बैंकको संयुक्त लगानीमा संचालन हुने परियोजनाको लागि दातृ निकायबाट प्राप्त हुने १३ करोड ४० लाख, मालपोत कार्यालयबाट प्राप्त हुने राजस्व बाँडफाडको रकम ५ करोड रुपैया, आन्तरिक आयबाट १९ करोड ९५ लाख र अनुमानित बैंक मौज्दात ११ करोड ८९ लाख ३२ हजार ५ सय ८७ रुपैया गरि १ अर्ब १३ करोड ४१ लाख ४२ हजार हुने अनुमान गरेको उनले बताईन । यस्तै सिद्धार्थनगर नगर पालिकाको १३ औ अधिवेशनमा नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै टुक्रे एवम साना योजनाहरुलाइ निरुत्साहित गर्ने नीति अपनाइएको बताए ।

‘कृषि, पर्यटन, उद्योग, व्यापार र शिक्षास हराभरा बुद्धभूमि सिद्धार्थनगरको ईच्छा’ भन्ने नारासहित नगरपालिकाको दीर्घकालिन सोचलाई साकार पार्ने गरि पालिकाले नीति लिएको छ । नगरपालिकामा सुशासन कायम गर्दै सर्वाङ्गिण क्षेत्रको संस्थागत विकासमा जोड दिईने, कृषिको आधुनिकीकरण, सहकारी क्षेत्रको सुशासन, पर्यटन र उद्योग–व्यापार क्षेत्रको विस्तार र विविधीकरणमा जोड दिईने नीति तथा कार्यक्रममा उल्लेख छ । शिक्षा र स्वास्थ्यमा नागरिकको पहुँच र गुणस्तर अभिवृद्धि गर्दै समावेशी विकासमा जोड एवम दिगो विकास, वातावरण मैत्री कार्यक्रम तथा वातावरण संरक्षणमा जोड दिईने नगर प्रमुख खानले बताए ।

नगरका गौरवका योजनाहरु, बहुवर्षीय, क्रमागत योजनाहरु र अन्य आधारभूत पूर्वाधार निमार्ण मार्फत सन्तुलित र गुणस्तरीय विकासमा जोड दिईने उनको भनाइ छ । सार्वजनिक भएको १ सय ३३ बुंदे नीति तथा कार्यक्रममा नगरपालिका क्षेत्रभित्र पर्यटकलाई आकर्षित गर्न आधुनिक घण्टाघर निर्माण गरिने उल्लेख छ । नगरक्षेत्र भित्र सार्वजनिक सडकमा पार्किङ्गको ठेक्का नलगाउने पालिकाको नीति छ । निजी क्षेत्र समेतको सहभागीतामा पार्किङ्गको लागि नविनतम विकल्पहरुको खोजी गरिने तथा सेवाग्राहीको चाप बढि हुने संघ संस्थाले आफै पर्किङ्गको ब्यवस्था गर्नुपर्नेछ ।

नगरपालिकाले पर्यटक, पैदलयात्री तथा नगरवासीको सहजताको लागि नगरपालिकामा सार्वजनिक शौचालय एवम वाटर एटीएमको ब्यवस्था गर्ने योजना रहेको छ । नेपाल सरकार तथा एशियाली विकास बैंक अन्तर्गत शहरी जिविकोपार्जन विकास परियोजना कार्यक्रमबाट नगरपालिकामा सडक निर्माण, फुटपाथ निर्माण डण्डा कोरिडोर लगायतको कार्यक्रम आर्थिक बर्ष २०८०/०८१ बाट सुरु गरिने उल्लेख छ ।