भैरहवा । रुपन्देहीको ओम सतिया गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । ‘ओमसतियाको शानः शिक्षा स्वास्थ्य सुधार हाम्रो अभियान’–भन्ने नारासहित आउँदो आर्थिक वर्षमा पालिकाले सुन्दर, समुन्नत र समृद्ध गाउँपालिका निर्माण गर्ने संकल्प गरेको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव (सोनु) ले पालिकालाई उत्कृष्ट गन्तब्यको रुपमा स्थापित गर्ने, स्वच्छ सफा र सुन्दर गाउँपालिकाको पहिचान बनाउन योजनावद्ध शहरीकरण तथा बस्ती विकासलाई नीति तथा कार्यक्रमले प्राथमिकतामा राखेका छन् । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुले आर्जन गरेको सीप र दक्षतालाई उपयोग गरि ‘विदेश छोडौ, बिजनेश गरौ’– भन्ने नाराका साथ स्वरोजगार उन्मुख बनाई आय आर्जनको दायरा फराकिलो बनाउने पालिकाले नीति लिएको यादवले बताए । पालिकाले सामाजिक विकास अन्तरगत शिक्षा, युवा तथा खेलकुद, संस्कृति एवम लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई प्राथमिकतामा पारेको उनले बताए ।
‘हिंसा मुक्त गाउँपालिका हाम्रो पहिचान’ अन्तरगत लैङ्गिक परीक्षणको ब्यवस्था मिलाईने नीति तथा कार्यक्रममा उल्लेख छ । स्वास्थ्य तर्फ पालिका भित्रका सबै स्वास्थ्य संस्थालाई किशोरीमैत्री बनाईने नीति लिईएको यादवले बताए । आर्थिक बिकासका सम्भावनाहरुको पहिचान र व्यवसायिक परिचालनका लागि गाउँपालिकाले विशेष पहल गर्ने र यसको लागि स्थानीय तहमा ब्यवसायीक वातावरणको विकास गर्न गाउँपालिकाले निजी क्षेत्र, सार्वजनिक क्षेत्र र सहकारीको सहभागीता रहने गरि आर्थिक विकास सम्वाद मञ्च गठन गर्ने पालिकाको योजना रहेको छ । लगानीमैत्री नीति तथा औद्योगिक पूर्वाधार सुदृढीकरण गर्दै उद्योग तथा पर्यटन विकासको नीति लिईने उल्लेख छ ।
गाउँपालिकाले न्याय सम्पादनको कार्यलाई थप ब्यवस्थित बनाउन डिजिटल जस्टिस सफ्टवेयर तयार गरि लागू गर्ने योजना रहेको छ । पूर्वाधार निर्माणका आयोजनाहरु सञ्चालन गर्दा लागत–लाभ विश्लेषणको आधारमा उच्च नतिजा एवम प्रतिफल दिने आयोजनाहरु पहिचान गरि आयोजना बैंक तयार गरिने पालिका अध्यक्ष यादवले बताए ।
आईतबार भएको पालिकाको १३ औं गाउँसभाले ४७ करोड ६६ लाख ९६ हजार १ सय ७ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बजेट सार्वजनिक गर्दै गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले आर्थिक वर्ष २०८०/०८१ मा सो बराबरको अनुमानित आय ब्यय पेश गरेकी हुन् ।
चौधरीले पेश गरेको बजेटमा राजस्वबाट १४ करोड ८ लाख ७५ हजार १ सय ७ रुपैया, आन्तरिक श्रोतबाट ३ करोड ५० लाख, जि।स।स। बाट प्राप्त अनुदान १ करोड ४० लाख, राजस्व बाँडफाडबाट प्राप्त हुने रकम १० करोड ४४ लाख ७५ हजार १ सय ७ रुपैया, संघीय सरकारबाट अन्तर सरकारी बित्तिय हस्तान्तरण बापत २८ करोड ९० लाख, प्रदेश सरकार बाट अन्तर सरकारी बित्तिय हस्तान्तरण बापत २ करोड ६८ लाख २१ हजार तथा गत बर्षको नगद मौजदात २ करोड गरि ४७ करोड बढीको बजेट पेश गरिएको थियो ।
गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीको अध्यक्षतामा सम्पन्न १३ औ गाउँसभामा पालिकाका उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत समेत गरिएको थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विपिन क्षेत्री, वडा अध्यक्षहरु, पालिकाका कर्मचारी लगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया