ताजा अपडेट »

उखु किसानले अझै पाएनन् भुक्तानी

सोमबार, ०६ माघ २०७६

माघ ६,

काठमाडौं । सरकारले चिनी उद्योगलाई उखु किसानको भुक्तानी गर्न दिएको समयसीमा सकिनै लाग्दा अधिकांश किसानले भुक्तानी पाउन सकेका छैनन् । गत १८ पुसमा सरकारले ७ माघभित्र उखु बिक्रीबापतको बाँकी बक्यौता रकम चिनी उद्योगबाट उपलब्ध गराइदिने गरी उखु किसानसँग सहमति गरेको थियो । तर सो सहमतिको अक्षरशः कार्यान्वयन गराउने विषयमा भने सरकार सक्रिय भएर नलाग्दा कृषकले सो समयमा पुरै भुक्तानी नपाउने अवस्था आएको हो । भुक्तानीको माग गर्दै कृषक आन्दोलित भएका थिए तर सरकारले सहमति गरेपछि उनीहरूले आफ्नो आन्दोलन फिर्ता लिएका थिए । ७ माघभित्र उखु किसानको बाँकी बक्यौता रकम भुक्तानी गरिसक्ने भनेर सरकार र उखु किसानबीच पाँच बुँदे सहमति भएको थियो ।

सरकार र उखु किसानबीच भएको सहमति सकिन २ दिन बाँकी हुँदासम्म चिनी उद्योगले उखु किसानलाई ५९ करोड १६ लाख ५४ हजार ७५२ रुपैयाँ भुक्तानी दिनु पर्नेछ । चिनी उद्योगीहरूले उखु किसानको बाँकी बक्यौता रकम भुक्तानी गरिसक्ने व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने सम्झौता भएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग विभागलाई चिनी उद्योगले किसानको बाँकी बक्यौता रकम भुक्तानीको रिपोर्ट गर्न जिम्मा दिएको छ । आइतबारसम्ममा विभागले संकलन गरेको तथ्यांक अनुसार १४ वटा चिनी उद्योगमध्ये सातवटा उद्योगले मात्र उखु किसानको बाँकी बक्यौता रकम भुक्तानी गरेका छन् । बाँकी ७ वटा उद्योगले सरकार र किसानसँग भएको सहमतिपछि केही बक्यौता रकम भुक्तानी गरे पनि बाँकी बक्यौताको आधा चौथाइ भुक्तानी गरेका छैनन् ।

उद्योग विभागका प्रवक्ता विनोद खड्काका अनुसार नवलपरासीको लुम्बिनी सुगर मिलका सञ्चालक हालसम्म सम्पर्कविहीन छन् । उनले सो मिलले उखु किसानलाई भुक्तानी गर्नुपर्ने रकम कति रहेको भन्ने समेत जानकारी नगराएको बताए । लुम्बिनी सुगर मिलका सञ्चालकको २ वर्ष अघि नै मृत्यु भएको हुँदा उनका परिवारका कुनै सदस्यसमेत सम्पर्कमा नआएको उनले बताए । यसैगरी, श्रीराम सुगर मिल रौतहटले उखु किसानसँग जग्गा बिक्री गरेर केही समयपछि बाँकी बक्यौता रकमको भुक्तानी गर्ने सहमति गरेको प्रवक्ता खड्काले बताए । उनले भने, ‘चिनी उद्योगीको अवस्था हेर्दा उखु किसानको बाँकी बक्यौता रकमको भुक्तानी तोकिएको समयसीमाभित्र होला जस्तो लाग्दैन ।’

श्रीराम सुगर मिलले पैसा तिर्न नसक्ने भएपछि जग्गा बिक्री गर्न भनेर भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा चिठी पठाइएको छ । यस्तै, बाँकी बक्यौता भुक्तानी नगर्ने अन्य चिनी उद्योगको अवस्था पनि नाजुक छ । विभागको तथ्यांक अनुसार श्रीराम सुगर मिल रौतहटले उखु किसानको बाँकी बक्यौता रकम भुक्तानी गर्न २६ करोड ७७ लाख ७८ हजार ६२३ रुपैयाँ बाँकी छ । विभागको तथ्यांक आइतबारसम्म सर्लाहीको अन्नपूर्ण सुगर मिलले जम्मा ३ करोड ९० लाख मात्र बाँकी बक्यौता रकम भुक्तानी गरेको छ । सो मिलले उखु किसानसँग भएको पाँच बुँदे सहमतिपछि सो रकम बुझाएको हो । अन्नपूर्ण सुगर मिलले लामो समयदेखिको ४२ करोड बाँकी बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेकामा जम्मा ३ करोड ९० लाख मात्र भुक्तानी गरेको छ । यसैगरी, महालक्ष्मी सुगर मिलले जम्मा ११ करोड ५० लाख बाँकी बक्यौता किसानलाई बुझाएको छ । जब कि सो मिललाई २१ करोड ४० लाख ५८ हजार २२६ रुपैयाँ बाँकी बक्यौता भुक्तानी गर्नुपर्ने देखिएको छ । –राजधानी दैनिक