ताजा अपडेट »

रुपन्देहीको सियारीमा नयाँ नीति : योजना कार्यान्वयनमा विवाद आए बजेट स्थानान्तरण

शनिबार, ०९ असार २०८०

भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शनिबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले पालिकाको कुनै योजना कार्यान्वयनको क्रममा विवाद देखिए त्यसलाई स्थानान्तरण गर्ने बताए ।

“सडकको क्षेत्राधिकार (चौडाई) पु¥याउने दायित्व सडकको दाँया बाया घर जग्गा हुने नागरिकको हुने हुँदा नागरिकहरुमा सकारात्मक सोच, भावना र विचार सहित विकास निर्माणका पूर्वाधारमा सघाउ पुर्याउनु पर्छ ।"- उनले भने “यस क्रममा विवाद भई योजना कार्यान्वयन हुन नसक्ने वातावरण आए त्यस्ता योजनालाई विवादरहित क्षेत्रमा स्थानान्तरण गरि कार्यान्वयन गर्ने नीति लिईएको छ ।” १६४ बुंदे नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पालिकाले कृषि, स्वास्थ्य, शिक्षाको साथै मत्स्य पर्यटनलाई विशेष ध्यान दिने बताए । उत्पादनमा आधारित कृषि अनुदान कार्यक्रमलाई निरन्तरता दिई कृषि तथा पशुजन्य उत्पादन कार्यक्रमलाई विस्तार गरिने घिमिरेले बताए । माछाको लागि प्रख्यात रहेको सियारीको छपिया लगायतका स्थानलाई मत्स्य पर्यटन क्षेत्रको रुपमा बिकसित गर्दै लैजाने योजना रहेको उनले सुनाए ।

शिक्षा तर्फ बिद्यार्थी संख्याको आधारमा गाउँपालिकाको आन्तरिक तर्फको दरबन्दी विवरणलाई पुनरावलोकन गरि बिद्यार्थी अनुपात मिलान गरिने उनको भनाई छ । यस्तै स्थायी प्रधानाध्यापक नियुक्तिको प्रक्रियालाई अगाडी बढाईने र शैक्षिक उपलब्धिका तथा नतिजा सुधारका लागि बिद्यालय ब्यवस्थापन समिति र प्रधानाध्यापकहरुलाई जिम्मेवार बनाईने उनले बताए । “यसको लागि बिद्यालयका प्रधानाध्यापकहरुसंग कार्यसम्पादन कारार गरिनेछ ।” घिमिरेले भने आधारभूत तहमा “हाम्रो सियारी” नामको पाठ्यक्रम समावेश गरिने तथा छात्राहरुलाई निशुल्क सेनेटरी प्णड तथा बिद्यालयहरुम भेण्डिङ एवम डिस्पोजल मेशीन ब्यवस्थापन गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । बिद्यालयको दिवा खाजामा र बिद्यालय क्षेत्रमा जङक् फुडलाई निषेध गरिने निति गाउँपालिकाको छ । गाउँपालिकाले सिकलसेल एनिमिया, सुगर, ब्लड प्रेसरको औषधी निशुल्क रुपमा बितरण गर्ने गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले बताए ।

गाउँपालिकाले शनिबार निति तथा कार्यक्रम सार्वजनिक गरे पनि बजेट भने अहिले ल्याएको छैन । निति तथा कार्यक्रम सार्वजनिक कार्यक्रम गाउँपालिकाकी उपाध्यक्ष तारा थारुको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपाने, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, कर्मचारी लगायतको सहभागीता रहेको थियो ।