ताजा अपडेट »

बर्दियाकी चन्द्रा बनिन् तेस्रो लुम्बिनी एकल लोक गीत प्रतियोगिताको विजेता

शुक्रबार, ०८ असार २०८०
1 Shares

बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रष्ठान लुम्बिनी प्रदेशले आयोजना गरेको तेस्रो लुम्बिनी एकल लोक गायन प्रतियोगिताको उपाधी बर्दियाकी चन्द्रा पोख्रेलले चुमेकी छन् । विहिबार बुटवलमा सम्पन्न प्रतियोगितामा अन्य २२ जना फाइनलिष्ट प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधीसँगै ५१ हजार १ सय ११ रुपैयाँ नगद राशी समेत हात पारेकी छन् ।

यसैगरी बाँकेका चन्द्रबहादुर बिश्वकर्मा द्वितीय हुँदै ३१ हजार १११ रुपैयाँ नगद राशी हात पारेका छन् भने तृतीय हुन सफल रुपन्देहीका मधु परियारले २१ हजार १११ नगद राशी हात पारेका छन् । सात्त्वना स्थान हासिल गरेका रोल्पाका प्रगती विष्ट क्षेत्रीले ५ हजार १११ रुपैयाँ नगद राशी हात पारेकी छन् । उपाधी विजेता ४ जनाले चर्चीत संगतीकार खेम सेन्चुरीको एल्बममा गीन गाउन तथा अभिनयका लागि अवसर पाउने छन् ।

प्रतियोगिताका विजेताहरुलाई राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रिता थापा मगरले शुभकामना तथा बधाईसहित पुरस्कार वितरण गरिन् । लुकेका प्रतिभाको प्रतिभा प्रष्फुटनका लागि यस्तो प्रतियोगिता कोशेढुंगा सावित हुने अध्यक्ष थापाले बताइन । उनले गाउँगाउँबाट लुकेका प्रतिभाहरु कार्यक्रम मार्फत समाजमा आउने भन्दै अवसरको खोजीमा रहेको युवा प्रतिभाहरुलाई प्लटफर्मका रुपमा कार्यक्रम भएको बताईन । ‘लोक सस्कृति नेपालको धरोहर हो ।’— केन्द्रीय अध्यक्ष थापाले भनिन ।

प्रतियोगिताका संयोजक नारायण विपी परियारका अनुसार प्रतियोगितमा १२ जिल्लाबाट प्रारम्भिक छनौटमा १ हजार २३ जना बढी सहभागी भएका थिए । डिजिटल तथा लाइभ अडिसनबाट फाइनलिस्टहरु छनोट गरिएको थियो । लुम्बिनी प्रदेशको रुकुम पूर्वबाट एक जना तथा अन्य जिल्लाबाट २÷२ जना फाइनलिष्ट छनोट गरिएको थियो ।

प्रतियोगिताका विजेताहरुलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष दिपु मगर, राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अम्बर विरही गुरुङ्ग, पुर्व अध्यक्ष दुर्गा रायमाझी, चन्द्र शर्मा, केन्द्रीय उपाध्यक्ष सुवास विसी, सचिव दिपक गरौजा लगायतले शुभकामना व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सल्लाहकार खेम बहादुर हमाल, सल्लाहकार खेम सेन्चुरी, केन्द्रीय सहसचिव सीता राना, केन्द्रीय कार्यसमिति सदस्य डिल्लिनारायण पाण्डे, प्रदेश सल्लाहकार प्रचण्ड जिसी , केन्द्रस्य सदस्य प्रेम शर्मा, नेपाल पत्रकार महासंघ रुपन्देही उपाध्यक्ष विश्वास ढकाल लगायतले शुभकामना दिएका थिए ।

कलाकार हितकोष स्थापना

यसैगरी प्रतिष्ठानले विश्व संगीतको दिवसमा लुम्बिनीमा कलाकार हित कोष स्थापना गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले हितकोषको ब्यानर खोलेर उद्घाटन गरिन् । लुम्बिनी प्रदेश अन्तरगत रहेर कलाकारिताका क्षेत्रमा काम गर्नेहरुको सामाजिक सुरक्षा तथा उनीहरुको हितका लागि कोषको स्थापना गरिएको प्रतिष्ठान लुम्बिनी अध्यक्ष दिपु मगरले बताए ।

आफ्नो कार्यकालमा हितकोषलाई कम्तिमा १० लाख पुर्याउने लक्ष्य रहेको उनले बताए । यसैगरी प्रतिष्ठानको भवन निर्माणलाई समेत पूर्णता दिने उनले उल्लेख गरे । विभिन्न सामाजिक संघ–संस्था तथा लोक दोहोरी क्षेत्रमा लागेका व्यक्तिहरुबाट सहयोग संकलन गरी हित कोष स्थापना गरिएको उनले बताए ।