भैरहवा । नेपालतर्फ कानूनको पालन सिलसिलामा भारतीय ब्यपारीहरुले अनावश्यक चासो ब्यक्त गरेको नेपाली ब्यपारीहरुको आरोप छ । भैरहवा भन्सार कार्यालयले भारतबाट आयात गरिने १ सय रुपैयाँ भन्दा बढीको मालसमानमा भन्सार महशुल असुल गर्न थालेपछि नेपाली ब्यपारीहरुले राहत महशुस गरेका छन् । नेपालीहरु सीमावर्ती भारतीय बजार सुनौलीमा खरिदको लागि जाने गरेको कारण नेपालतर्फको ब्यपार प्रभावित बनेको भन्दै ब्यवसायीहरुले असन्तुष्टि जनाउँदै आएका थिए ।
ब्यवसायीहरुको पहलमा सिद्धार्थ उद्योग बाणिज्य संघले अवैध रुपमा आउने यस्ता सामग्रीमा कडाई गर्न रुपन्देहीका प्रशासन लगायत भैरहवा भन्सार कार्यालयलाई अनुरोध गरेको थियो । सोही अनुसार भैरहवा भन्सार कार्यालयले जेठ १२ गतेदेखि १ सय रुपैयाभन्दा बढीको सामानमा अनिवार्य भन्सार महशुल नियम कडाईका साथ कार्यान्वयन गरेको छ ।
नेपालले नियम लगाउँदा भारतीय बजारमा उपभोक्ताको चासो घटेको छ । नेपालीले खचाखच हुने सुनौली बजार अहिले सुनसान बनेको छ । ब्यपार कम हुँदै गएपछि भारतीय ब्यपारीहरु आरोप प्रत्यारोपमा उत्रिएका छन् । भारतीय ब्यपारीहरुले सुनौलीमा “महापञ्चायत” को आयोजना गरि भन्सारको नियमको कारण नेपाल र भारत बीच रोटीबेटी सम्बन्धलाई प्रभावित बनाउने काम भएको गुनासो गरेका थिए । उनीहरुले यस बिषयमा भारतीय दूतावासलाई समेत पत्र लेख्दै भन्सार नियम लागू नगर्न आग्रह गरेका छन् ।
भारतीयहरुको यस्तो चासोले नेपाली ब्यपारीमा चिन्ता थपेको छ । भन्सार नियमकै कारण नेपालमा ब्यपार बिस्तारै लयमा आउन थालेका उनीहरुको भनाई छ । सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले नेपालले कानून पालन गर्दा भारतीयहरुले अनावश्यक चासो ब्यक्त गरेको बताए । “हामी उनीहरुको देशमा जादा त्यहीँको नियम पालन गर्छौ, कुनै प्रकारको आपत्ति गर्दैर्नौ ।” श्रेष्ठले भने “नेपालले पनि आफ्नो देशको कानून लागू गर्दा उानीहरुको आपत्ति जायज छैन ।”
संघका अध्यक्ष श्रेष्ठले ब्यवसायीहरुको लामो समयदेखिको माग भन्सार कार्यालयले अहिले आएर सम्बोधन गरेको बताए । “भारतीय बजारमा ९५ प्रतिशत ग्राहक नेपालीहरु रहने गरेका छन, यसले नेपालतर्फका ब्यवसाय धराशायी बन्ने स्थिति बनेको थियो ।” श्रेष्ठले भने “भन्सार कार्यालयको यो नियमको कारण आन्तरिक बजार केही चलायमान भएको छ ।”
कुनै ब्यवसायीले परिस्थितिको दुरुपयोग गर्न खोजे त्यस्ताको उद्योग बाणिज्य संघले संरक्षण नगर्ने श्रेष्ठको भनाई छ । “भारतबाट अवैध रुपमा भित्रिएको सामान नेपाली ब्यपारीहरुले खरिद गर्ने गरेको आरोप लाग्दै आएको छ ।” श्रेष्ठले भने “यदि कसैले त्यस्तो काम गर्छ भने सुध्रिनुस, अब हामी तपाई बिरुद्ध नै लाग्ने छौं ।”
उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य राजेश कुमार अग्रवालले भारतबाट आउने यस्ता अवैध सामग्रीका कारण उद्योगहरु प्रत्यक्ष मारमा परेको बताए । उनले कोभिडको समयमा उकासिएको नेपाली उत्पादन कोभिडपछि फेरी पुरानै अवस्थामा पुगेको बताए । यसले पनि नेपाली बजारमा अवैध भारतीय सामग्रीले कत्तिको असर पुर्याउने स्पष्ट गरेको उनको भनाई थियो ।
सिद्धार्थ उद्योग बाणिज्यसंघले भैरहवामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि भारतीय ब्यपारीलाई नेपालको अभियानमा सहयोग गर्न अपिल गरेको छ । कार्यक्रममा पत्रकारहरुले भन्सार नियमको कारण भैरहवा तथा यस आसपास अवैध कारोबार हुन सक्ने र ब्यपारीहरुले नै बदमाशी गर्न सक्ने भएको कारण अनुगमनमा तिव्रता दिन सुझाव दिएका थिए ।
पत्रकार सम्मेलनमा उद्योग बाणिज्य महासंघ लु्म्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा, संघका निर्वतमान अध्यक्ष कुल प्रसाद न्यौपाने लगायतले बोल्दै ब्यवसायीहरुका तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाए ।
प्रतिक्रिया