बुटवल । अन्तराष्ट्रिय संगीत दिवसको अवसर पारेर बिहिबार बुटवलमा हुने लुम्बिनी प्रदेश स्तरीय एकल लोक गीत प्रतियोगिताको ग्राण्ड फिनाले हुने भएको छ । राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशले प्रदेशको १२ वटै जिल्लाबाट छनौट भएर आएका फानालिस्टहरु बीच विहिबार उपाधिका लागि प्रतिस्पर्धा हुने भएको हो ।
‘हाम्रो चाहना, लोकसंस्कृतिको जर्गेना’ नारासहित स्थापना भएको संस्थाले तेस्रो संस्कारणको प्रतियोगिताको फिनाले गर्न लागेको हो । यसको लागि चैतबाट विभिन्न चरणमा रहेर जिल्ला स्तरमा डिजिटल तथा लाइभ प्रतियोगिता गरी छनोट गरिएको थियो । प्रदेशका १२ वटा जिल्लाबाट कलाकार छनौट भएर फिनालेमा आईपुगेको राष्ट्रिय लोक तथा दोहोरी गती प्रतिष्ठान लुम्बिनी प्रदेशका द्वितीय उपाध्यक्ष तथा प्रतियोगिताका कार्यक्रम संयोजक नारायण विपी परियारले जानकारी दिए । उनका अनुसार १२ जिल्ला मध्ये रुकुम पुर्वबाट १ जना प्रतिस्पर्धी छनोट भएका छन् भने अन्य जिल्लाबाट २÷२ जना गरी २३ जनाले ग्राण्ड फिनालीमा प्रतिस्पर्धा गर्दै छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनीका अध्यक्ष दिपु मगरका अनुसार १२ जिल्लाका १ हजार बढी सहभागीबाट छनौट भएर फिनालेमा २३ जना कलाकार प्रतिस्पर्धा गर्ने छन । लुकेको प्रतिभा प्रस्फुटन गराउने लक्ष्यसहित कार्यक्रम गरिएको उनले दाबी गरे । उपाधि विजेताले नगद ५१ हजार १ सय ५१ रुपैयासहित, कप, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि उपविजेताले नगद ३१ हजार १ सय ५१ रुपैया, तृतियले नगद २१ हजार रुपैया तथा सान्त्वनालाई नगद ५ हजार १ सय रुपैयाबाट पुरस्कृत गरिने उनले बताए ।
विजेताहरुले नेपालका चर्चित संगितकार खेम सेन्चुरीको नयाँ गीतमा आवाज दिन अवसर प्रदान गरिने पनि उनले बताए । प्रतियोगिताको निर्णायकमा पूर्व अध्यक्ष अम्मर बिरही गुरुङ सहित पाँचजना रहेका छन् । प्रतिष्ठानले पहिलो र दोस्रो संस्करण कोराना महामारीका कारण अनलाइन माध्यमबाट सञ्चालन गरी सम्पन्न गरेको थियो ।
प्रतिष्ठानले विहिबार नै सँगीत दिवसको अवसरमा लुम्बिनीका कलाकारहरुको हितका लागि कोषको घोषणा गरिने जानकारी दिए । आफ्नो कार्यकालमा १० बढीको अक्ष कोष बनाउने लक्ष्य राखेका मगरले यो अभियानलाई सफल पार्न विभिन्न संघ संस्था तथा कालकारहरुले नै व्यक्तिगत रुपमा समेत सहयोगको प्रतिवद्धता गरेको उल्लेख गरे ।
प्रतिष्ठानले विहिबार प्रतियोगिताको फाइनल सहित संस्थागत प्रशिक्षण कार्यक्रमको तयारी पनि पूरा भएको जनाएको छ । प्रष्ठिानले विहिबार आयोजना गर्ने कार्यक्रमहरु बारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा बोल्दै
राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय सल्लाहकार खिम बहादुर हमालले मोफसलबाट निरन्तर लोकदोहरी हाम्रो संस्कार, संस्कृति जगेर्ना हुने गरि रचनात्मक कार्यक्रम हुँदै आएको बताए । प्रदेशका १२ जिल्लाबाट प्रतिनिधि ल्याएर संस्थागत विकासका कार्यक्रम गरिदा धेरै फाईदा मिल्ने उनको बताए ।
प्रतिष्ठानका केन्द्रिय सचिव दिपक गर्बुजा, केन्द्रिय सदस्य डिल्ली नारायण पाण्डे, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाललगायतले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए । प्रतियोगिता सम्पन्न भए लगत्तै ८ गते देखि प्रदेशका अगुवा कलाकारहरुका लागि आन्तरिक प्रशिक्षण हुने जनाइएको छ । जहाँ प्रदेशका १ सय भन्दा बढी कलाकार सहभागी हुनेछन् ।
प्रतिक्रिया