स्कुले जीवनमै म्याक्सिम गोर्कीको आमा पढियो । पुस्तक पसलमा ‘आमा’ शब्द देखेरै उक्त पुस्तक किनिएको थियो । पढदै जाँदा मलाइ पावेल मनपर्यो , अझ खास त मलाई पावेलकी आमा मन मनपर्यो जसले पावेललाई पावेल बनाइन । त्यसपछि मलाई मेरी आमा पावेल जस्तै भइदिए हुन्थ्यो भन्ने लाग्न थाल्यो । कहिलेकाही आफुलाई पावेल हुने रहरले च्याप्यो । यतिबेला सम्झिन्छु कि ६२/६३ तिर सडक आन्दोलनमा निस्किने हिम्मतका पछाडि पावेल र उसकी आमा थिए ।
यो मेरो जीवनमा मात्र लागू भएको छैन । किताबको प्रभावले जीवन बदलिएका केर्यौ कथाहरु छन् । २ गते पाठक मञ्च बुटवल र लैंगिक हिंसा विरुद्व साहित्यिक अभियानको संयुक्त आयोजनामा भएको एउटा कार्यक्रममा चार किशोरीहरुले आफ्नो पठन अनुभव र पठन यात्राको चर्चा गरे । कक्षा ९ पार गर्न हम्मे हम्मे परिरहेको लिटि कक्षा १२मा उत्कृष्ट चारमा पर्न सफल भइन । पढ्नका लागि पढ्ने कुरा उनको रुचिमा परेन, त्यसकारण पाठ्यपुस्तकमा ध्यान दिन असमर्थ भइन । तर जब उनले बुझ्नकालागि पढ्न शुरु गरिन, त्यसपछि पठन प्रिय लाग्न थाल्यो । किताब भित्रका प्रत्येक कुराहरूलाई एक आपसमा जोड्दै पढ्दा उनलाई आनन्द लाग्छ । यसरी नै विषयलाई पर्गेल्न सजिलो हुँदोरहेछ ।
नविनालाई छ कक्षामा पढेको ‘पागल बस्ती’का पात्रहरु अझै याद छ । पाठ्यपुस्तक भन्दा बाहिरको किताब बढी पढ्यो भनेर गाली खाएपछि लुकाउन बाध्य भएको ‘पागल बस्ती’को धमिराले खाएको प्रति उनीसँग अझै छ । अब त त्यो उनको पठन यात्राको चिनो बनिसकेको छ । पुस्तक अध्ययनले उनलाई बहुआयामिक बनाउँदै लगेको छ । उनले पहिला केही घटनाप्रतिको धारणा अरुले भनेको आधारमा बनाउँथिन् ।
तर,अहिले बहुआयामबाट केलाउने प्रयत्न गर्छिन् । उनी भन्दै थिइन— ‘म अब कुनै पनि कुरालाई एउटै दृष्टिकोणबाट हेर्न सक्दिन । म हर एक कोणबाट घटनाक्रमहरुलाई केलाउन रुचाउँछु ।’ नविनाले कक्षा १२ सम्म विज्ञान पढिन् । उनी राम्रै विद्यार्थी हुन् । उनलाई परिवारबाट कृषि विज्ञान पढ्नको लागि जोड गरियो । उनले त्यसै अनुसार कृषि विज्ञानको तयारी कक्षा पनि लिइन् । तर उनलाई सानैबाट कानुन पढ्ने मन थियो । उनलाई पटक–पटक आफुले नरुचाएको बाटोमा हिंडेको अनुभव भयो । आफ्नो मनको कुरा भन्न भने डर लागिरह्यो । तयारी कक्षा लिन थालेको चार महिनापछि भने उनले घरमा निर्धक्क कुरा राखिन् । अहिले उनले परिवारलाई आफ्नो रुचिको विषयबारे मनाइसकेकी छन् ।
आफ्नो कुरा निर्धक्क राख्ने हिम्मत किताबले नै दिएको उनको अनुभव थियो । रोशना भन्दै थिइन्— ‘राम्रो पुस्तकले मानिसको सोचाइमा स्वतन्त्रताको रङ्ग भरिदिछ । हरेक विषयलाई गहिराईमा पुगेर हेर्ने बानीको विकास गरिदिन्छ । र कहिलेकाहीँ हामी केही विषयवस्तुलाई लिएर पहिल्यै नकारात्मक धारणा बनाउछौ, जुन बिल्कुल गलत हो ।’ उनले नथिया पढेपछि विषयलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको बताइन् । किताबले समाजको बारेमा बुझ्न मद्दत गरेको बताइन् । प्रतिभाले आफुलाई अन्तर्मुखी बताउँदै थिइन् । कम बोल्ने भएकै कारण उनलाई धेरै साथीले घमण्डी भन्थे । पछि उनले किताब पढ्न थालिन् । किताब उनको दुःख, सुखको साथी भयो । उनका कैयौं व्यक्तिगत कठिनाईहरुमा आँट दिने साथी किताब नै भए । किताबले उनलाई जीवनका कष्टहरुसँग जुध्न सिकाएको छ । आफ्नो उमेरका साथीहरु क्लब, पबहरुमा रमाइरहँदा उनी भने किताब पढिरहेको अनुभव सुनाइन् ।
यी किशोरीहरुका पठन अनुभव सुनिरहदा आनन्द महसुस गर्दै थिएँ । यस्तो लाग्दै थियो कि अब किशोरीहरु आफै आफ्नो आवाज बन्ने हतारमा छन् । किशोरीहरु र किताबलाई जोडेर बनाइएका कुनै पनि बकम्फुसेकुराहरूलाई उनीहरु चुनौती दिदैछन । किताबले उनीहरुमा विद्रोही चेतनाको निर्माण गर्दैछ । युगौंदेखि हामी एउटा भ्रममा छौं— केटिहरु अरुका घर जाने जात हुन । अर्थात् केटी स्वयम् एउटा जात हो जसको आफ्नै पहिचान र परिचय छ— केटी हुनु । एउटा घोषित पराई जात । अर्काको लागि तयार गरिँदै गरिएको कुनै वस्तु । यी किशोरीहरुलाई सुन्दै गर्दा लाग्यो कि अब स्वाभिमान, चेतना र आत्मबलले निपूूर्ण मान्छेहरु तयार हुदैछन, जो केटी भएकै कारण आफ्ना इच्छाहरुको तिलाञ्जली दिने छैनन् ।
कार्यक्रमको अर्को एउटा महत्त्वपूर्ण पाटो थियो वक्ताहरुको थर उच्चारण नुहुनु । किशोरीहरु आफ्नो नाम गर्वका साथ लिदैथिए । कसैलाई आफ्नो थर सम्झिनु परेन । हो, समाजमा हामीलाई थरले बेरेर राखेको छ । जातप्रणालीले थरको आधारमा हामी सजिलै उँच–नीचमा कहलिनुपर्छ । कार्यक्रममा को किशोरी के थर भएकी भन्ने कुराको खसखस भएन । कार्यक्रमले किशोरीहरुको लागि मञ्चमात्र उपलब्ध गराएन उनीहरुको सशक्तिकरणको लागि पनि जोड दियो ।
प्रतिक्रिया