पूर्वीपाल्पा, जल्पाकी माया राना भनेपछि पश्चिम सत्यवती, जुठापौवा, बल्ढेङ्गगढी, दोभान, कचलका धेरै मानिसहरुले चिन्दछन् । देवीनगर, पाल्पाको समाज उत्थान सहयोग केन्द्रकी सामाजिक परिचालकका रुपमा २०६३ देखि २०६९ सम्म बाल एवम् महिला समूह गठन, सञ्चालन, व्यवस्थापन र परिचालन गर्थिन् । विद्यालयहरुमा शैक्षिक सहयोग कार्यक्रम लिएर पुग्थिन् । बालअधिकार र महिला अधिकारहरुका बारेमा सहजीकरण गर्थिन् । मगर लवजमा बोल्ने, गोरी, होचीहोची उनको हुलिया थियो ।
पश्चिम पाल्पामा मात्र होइन, उनको संस्थाले पूर्वी पाल्पाको जल्पा र देवीनगरमा समेत काम गर्थ्यो । समुदायमा गठित बाल तथा महिला समूहहरुलाई विविध विषयमा सहजीकरण गर्न हिउँद, बर्खा, घामपानी नभनेर गाउँगाउँ, टोलटोल पुग्थिन् । त्यतिबेला देशमा विद्रोही माओवादी र श्री ५ को सरकारका बीच चरम द्वन्द्व थियो । को, कतिबेला कसको मारमा पर्ने हो थाहै हुन्थेन । कहिलेकाँही द्वन्द्वकालीन माओवादीहरुसँग उनको वाकयुद्ध चल्थ्यो । उनीहरुले भन्थे रे–तिमीहरु डलर पचाउन आएका हौ । हाम्रो अनुमति बेगर यहाँ कुनैपनि काम गर्न पाउँदैनौं । एकपटक पाल्पा र अर्घाखाँची सीमानाको गाउँ तीनगिरेमा मायाहरुलाई पकाएको खाना उनै माओवादीहरुले खाइदिएपछि भनाभनको स्थिति आएको सुनाउँदै थिइन् ।
मायाले २०६१ सालमा नै सामुदायिक रेडियो मदनपोखराबाट १० दिने आधारभूत पत्रकारिता तालिम लिइसकेकी थिइन् । पत्रकारिताको भाषा जानेकी थिइन । गाउँघरका गतिविधिहरु आफ्नै मदनपोखरा रेडियोमा पढाउँथिन् । द्वन्द्वकालीन माओवादीहरुसँग उनलाई कुनै डर लाग्दैन थियो रे ! शान्ति सम्झौता भएपछि भने गाउँघरमा संस्थाको काम गर्न सजिलै भएको रहेछ । कैयौंपटक विद्रोही माओवादीहरुले शैक्षिक एवम् सामाजिक विकासका काम गर्दा उनीहरुसँग चन्दा मागेका रहेछन् । तर आफूहरुले दिन नसक्ने कुरा गर्दा झगडा हुने गरेको मायाले सुनाइन् ।
पश्चिम पाल्पाका विकट गाउँघरमा पुग्दा मायाले महिला र बालबालिकाहरुको दयनीय अवस्था बुझेकी छिन् । पढन्, लेख्न नपाएका बालबालिकाहरु भेटेकी थिइन् । उनीहरुका कमजोर स्वास्थ्य अवस्था नजिकबाट नियालेकी थिइन् । उनी आफै स्वास्थ्यकर्मी समेत हुन । २०५८/०५९ मा उनले पाल्पाबाट सिएमए उत्तीर्ण गरेकी थिइन् । लोकसेवा आयोग दिएर अहेवमा सेवा गर्ने अवसरका लागि प्रतिस्पर्धा समेत गरिन् । सम्भव भएन । अहिले जल्पाको ढोलीमारामा जेठाजुले सञ्चालन गर्दै आएको नीजि क्लिनिक आफैले सञ्चालन गर्दै आएकी छिन् ।
मायाले मायालु पारामा गाउँका दिदीबहिनीहरु र बालबालिकाहरुका शैक्षिक, स्वास्थ्य एवम् आर्थिक परिवेश बुझ्ने गर्थिन् । सामाजिक परिचालक बनिरहँदा उनले धेरै बालबालिकाहरुलाई स्कूलसम्म पुराएकी थिइन्, समाज उत्थान सहयोग केन्द्रको सहयोगमा । कापीकिताब नहुनेहरुलाई सहयोग गरेकी थिइन् । छात्रवृत्तिको बन्दोबस्त मिलाएकी थिइन् । दिदीबहिनीहरुलाई सन्तान स्कूल पठाउनुपर्छ भनेर सन्देश प्रवाह गरेकी थिइन् । उनीहरुका स्वास्थ्य समस्याहरुका बारेमा बुझेर सक्दो सहयोग गरेकी थिइन् । स्कूल छाडेकालाई पुनः स्कूल फर्काएकी थिइन् । बालविवाह न्यूनीकरणमा विशेष भूमिका निर्वाह गरेकी थिइन् । पढ्नुपर्छ, नपढी शैक्षिक एवम् सामाजिक विकास सम्भव हुन्न भन्ने सन्देश प्रवाह गरेकी थिइन्
माया आफू सानैदेखि थाइराइडबाट ग्रसित थिइन् । उनलाई आफ्नोभन्दा समुदायका दिदीबहिनीहरु र बालबालिकाहरुका बारेमा चिन्ता थियो । चिन्तालाई हटाउन, चिन्तन मनन गर्थिन् । मायाले महिनामा १५ दिन गाउँघरमै समय बिताउँथिन् । बाँकी १५ दिन कार्यालयमा हाजिर भएर प्रतिवेदन तयार गर्थिन् । गाउँघरमा देखापरेका समस्याहरुलाई समाधान गर्न आफ्नो संस्थाका जिम्मेवार ब्यक्तिहरुसँग छलफल,अन्तरक्रियात्मक गोष्ठी सञ्चालन गरेर निकासका बाटाहरु पहिल्याउँथिन् । निस्केका निचोडहरुलाई समाजमा प्रयोग गर्थिन् ।
गाउँमा उनीहरु पुग्दा धेरैले सम्मान गर्थे रे । कतिपयले दुःखको सहारा ठान्थे रे ! कोही, कसैले नराम्रो नजरले हेर्थे रे । प्रोजेक्टको पैसा पचाउन आएका हुन् । आफूहरुले धेरै खाएर गाउँलेहरुलाई थोरै बाँड्न आएका हुन् भनेर कुरा काट्थे रे ! यी कुरा सुनाइरहँदा मायाका आँखा रसाएका थिए । हाम्रो समाजमा केही गरौंभन्दा नराम्रा कुरा काट्नेहरु धेरै निस्किन्दा रहेछन् ।
मायाले विकट गाउँमा कहिले खाएर कहिले भोकै काम गरिन् । कहिले राम्र्रै ठाउँमा सुतिन् । कहिलेभने गुन्द्रीमै रात बिताइन् । मीठो–मसिनो त एकादेशको कथा थियो रे ! पेट भर्ने कुरा पाए भयो–मायाले भन्दैथिइन् । पूर्वीपाल्पाबाट पश्चिम पाल्पाका विकट बस्तीहरुमा पुगेर दुःखको भारी बोकेर फर्केकी थिइन् माया । तरपनि सात वर्षको दौरानमा आफ्नो संस्थाले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न पाएकोमा माया गौरव गर्छिन् ।
२०५६ सालमा जल्पाको शम्भु माविबाट दोस्रो श्रेणीमा प्रवेशिका परीक्षा उत्तीर्ण माया रानाले २०५७ सालमा आइए प्रथम वर्ष पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा पढ्दै गर्दा आइए दोस्रो वर्षमै पढ्दै गरेका ज्ञानबहादुर रानासँग प्रेम विवाह गरिन् । दुवैले सोही क्याम्पसबाट आइए पास गरे । ज्ञानबहादुरले विए गरे । मायाले विए तेस्रो वर्षसम्म पढिन् तर उत्तीर्ण गर्न भ्याइनन् ।
विहेपछि ज्ञानबहादुर विदेश गए । माया सामाजिक परिचालकका रुपमा गाउँगाउँ पुगिन् । दुनियाँलाई शिक्षित बनाउने अभियानमा लागिन् । बालअधिकार र महिला अधिकारका लागि कटिवद्ध भएर लागिन् । मायाको देन गाउँलेहरुका मनमा स्वर्णअक्षरले लेखिएका होलान् पक्कैपनि । मायाका श्रीमान् ब्रेन स्ट्रोकका कारण गाउँ फर्के । मायाको पनि प्रोजेक्ट सम्पन्न भयो । ज्ञानबहादुर यतिबेला गाउँकै शम्भु माविको अंग्रेजी माध्यममा शिक्षक छन् । माया भने औषधी बेचेर जीवन गुजारेकी छिन् ।
संस्थामा लागेर मायाले समाज चिनिन् । महिला र बालबालिकाका अवस्था विश्लेषण गर्न सक्ने भइन् । आफ्नो ब्यक्तित्व विकास भएको महसुस् गरिन् । समाजमा अहिले विविध विषयमा सहजीकरण गर्न सक्ने भएकी छिन् । सहकारीमार्फत समाजमा आर्थिक परिवर्तन सम्भव छ भनेर क्रियाशील भएकी छिन । सोही विषयमा पोखरा र काठमाडौंमा सिकेका विषयवस्तुहरुलाई गाउँघरमा पोखेकी छिन् ।
पर्यटनप्रति उनको रुची बढेको छ । जल्पाको चुलीडाँडालाई पर्यटन केन्द्र बनाउने अभियानमा जुटेकी छिन् । गाउँकै होमस्टे सञ्चालनमा सहयोग गरेकी छिन् । गाउँका ससाना गतिविधिहरुलाई समाचारमा उनेर सामुदायिक रेडियो मदनपोखरामा सम्प्रेषण गरेकी छिन् । सूचनाको सम्वाहक बनेकी छिन् । आठ हजार रुपैयाँबाट सुरु गरेको सामाजिक परिचालकको जागिर १४ हजार रुपैयाँ बुझेर छाडेकी थिइन् ।
मानिसहरु अभावलेभन्दा पनि स्वभावले गरिव हुँदा रहेछन् । दुःखी हुँदा रहेछन् । मनमा सकारात्मक चिन्तन र सहयोगी भावना राखेमा पक्कै पनि समाजमा आर्थिक क्रान्ति गरी सुखी जीवन बिताउन सकिने उनको तर्क छ । मायाले जीवनमा आफ्नो र श्रीमानका कारण धेरै दुःख झेलेकी छिन् । उनी भन्दैथिइन्–मलाई जति पीर त कसलाई प¥यो होला र ! कमजोर मान्छे भए डिप्रेसनको औषधी खान्थे हुँला तर मन बलियो बनाएर खुसीका साथ बाँचेकी छु । मुस्कुराएकी छु । हजार हण्डर र ठक्कर खाएपनि सुखी ठानेकी छु आफूलाई ।
प्रतिक्रिया