भैरहवा । रुपन्देही सदरमुकाम भैरहवा तथा यस आसपास अहिले उच्च तापमान रहेको छ । मौषम पूर्वानुमान महाशाखाको अनुसार शनिबार भैरहवाको अधिकतम तापमान ४३ दशमलव ७ डिग्री सेल्सियस रहेको थियो । न्यूनतम तापमान २९ दशमलव ४ डिग्री सेल्सियस रहेको भैरहवामा नेपालकै सबै भन्दा बढी गर्मी भएको ठाउ हो ।
गर्मीकै कारण जिल्लाका अधिकांश बिद्यालयहरुले बिदा थपेको थप्यै छन्, अहिले सम्म पानी परेको छैन । दिउसो उच्च तापमान पुगेको कारण बजार प्राय खाली छ, मानिसहरु घर बाहिर निस्किनै सकेका छैनन् । गर्मीले आकुल ब्याकुल बनेका भैरहवावासीको लागि अर्को अभिशाप बनेको छ यहाको पटक पटकको बिद्युतिय ट्रिपिङ । चर्को गर्मीमा बसेका यहाका नागरिकलाई बिद्युत कार्यालयले पनि त्यस्तै छलेको छ ।
कार्यालयले दिनमै ३० पटक सम्म बिद्युत काट्ने गरेको गरेको स्थानियहरुको गुनासो छ । दिउसो त जसो तसो गरि गर्मी छले पनि रातीमा काटिएको बिद्युतको कारण समस्या आउने गरेको छ । “पटक पटक लाईन जान्छ, हामी भर्खर निदाएका हुन्छौ, अर्ध निद्रामै घर बाहिर निस्किनु पर्छ ।” स्थानिय विजय गोविन्द श्रेष्ठले भने “अनियमित बिद्युत कटौतीले हैरान भई सकेका छौ, यो भन्दा राम्रो त तालिका नै निकालेर लोडसेडिङ्ग गरे राम्रो हुन्थ्यो ।”
अनियमित बिद्युत कटौतीबाट सबै भन्दा हैरानी बालबालिका, सुत्केरी एवम गर्भवती महिला, वृद्ध वृद्धा एवम अशक्तलाई हुने गरेको छ । लाईन गए पछि बालबालिकाहरु रुने, चिच्याउने गरेका छन् । पटक पटक लाईन काटिएर आजित भएका भैरहवावासी आईतबार नेपाल बिद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुखलाई भेटेर गुनासो गरेका छन् । स्थानिय महिलाहरुको अगुवाईमा स्वतःस्फूर्त रुपमा जम्मा भएका भिड र बितरण केन्द्र प्रमुख सञ्जय कुमार मिश्र बिच केही बेर चर्का चर्की समेत भएको थियो ।
बिद्युत कार्यालयको लापारवाहीको कारण चर्को गर्मीको सामना मात्र नभई महत्वपूर्ण बिद्युतीय सामाग्री पनि बिग्रिन थालेको नगरवासीको गुनासो छ । स्थानिय मीना श्रेष्ठले पटक पटकको ट्रिपिङ्गको कारण फ्रिज, बत्ती, पंखा लगायतका उपकरणहरु बिग्रिएको बताइन । “महङ्गाई यस्तो छ, समान बिग्रिन्छ कसरी पटक पटक मरम्मत गराउने रु” उनले भनिन “अन्य स्थानमा के छ थाहा भएन तर भैरहवा जस्तो चर्को गर्मी हुने ठाउको समस्या त बिद्युतले बुझिदिनु पर्छ ।”
नेपाल बिद्युत प्राधिकरण, भैरहवा बितरण केन्द्र नगरवासीको समस्या प्रति संवेदनशिल नभएको समेत स्थानियहरुको अक्रोश रहेको छ । कार्यालय प्रमुखको जवाफ समेत चित्त नबुझ्दो रहेको तथा उहा समस्या राख्दा झर्केर बोल्ने गरेको नगरवासीको आरोप छ । “कति सम्म भने बिद्युतले गुनासो सुन्नको लागि उपलब्ध गराएको टेलिफोनमा कहिल्यै फोन लाग्दैन ।” ब्यवसायी अरुण लामिछानेले भने “कर्मचारीले फोन सेटलाई ब्यस्त बनाउन रिसिभर उठाएर छेउमा राखेका हुन्छन् ।”
समस्या सुन्दै नेपाल बिद्युत प्राधिकरण, भैरहवा बितरण केन्द्र प्रमुख सञ्जय कुमार मिश्रले अबको दिनमा यस्तो समस्या नआउने बताए । “सिष्टममा आएको खराबीको कारण यस्तो समस्या आएको हो, हिजो शनिबार नै यसमा सुधार गरेका छौं अब लाईन जादैन ।” मिश्रले दावी गरे “यो देशब्यापी समस्या हो, अब पानी पर्ने समय भएको छ, स्वतः समाधान हुन्छ ।”
कार्यालय प्रमुख कुर्सीमा, उपभोक्ता भुईमै समस्या लिएर कार्यालय प्रमुखको कार्यकक्षमा पुगेका स्थानियहरु भुुईमै बस्नु परेको थियो । कार्यालय प्रमुख भने कुर्सीमै बसेर सेवाग्राहीका समस्या सुनेका थिए । यसले त्यहा केही असहज दृश्य देखिएको थियो । कार्यालयमा बैठक कक्ष रहे/नरहेको बारे कार्यालय प्रमुख संग जिज्ञासा राख्दा उनले आफ्नो कार्यकक्ष नै बैठककोठा रहेको र अलग कोठाको रुपमा नरहेको बताए ।
प्रतिक्रिया