बुटवल । सुत्केरीहरुलाई हौसला प्रदान गर्ने धेरै उपाय हुन सक्छन् । बुटवल उपमहानगरपालिकाले भने ‘सुत्केरीका लागि २०००’ कार्यक्रम सुरु गरेको छ । उपमहानगरले सुत्केरीहरुलाई हौसला प्रदान गर्न र उनीहरुको सम्मान गर्न भन्दै सुत्केरीका लागि २००० कार्यक्रम सुरु गरेको हो । बुटवल उपमहानगरपालिका भित्रका स्थायी वासिन्दा सुत्केरी महिलाहरुले नगद २ हजार पाउने छन् ।
सुत्केरीका लागि नगद प्रोत्साहन गतवर्षदेखि नै यो कार्यक्रम सुरु गर्ने तयारी गरेको थियो । विविध कारणले रोकिएको यो कार्यक्रम यस आर्थिक वर्षको जेठदेखि उपमहानगरले सुरु गरेको हो । सुत्केरीहरुको सम्मान र उनीहरुलाई हौसला प्रदान गर्नका लागि यो कार्यक्रम सुरु गरिएको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सवित्रादेवी अर्याल बताउँछिन् । ‘२ हजार रुपैयाँ त सामान्य नै हो । झट्ट हेर्दा २ हजार केही पनि होइन् । तर, सरकारले दिने २ हजार धेरै पनि हो ।’– उनले भनिन् ‘ यो त केबल सुत्केरीहरुको स्वास्थ्य अवस्था कस्तो छ । शिशुको अवस्था कस्तो छ जानकारी लिन र उनीहरुको आत्मबल बढाउन, हौसलाप्रदान गर्नका लागि कार्यक्रम सुरु गर्न लागिएको हो ।’
आफुले किन्दा आफ्नो आवश्यकता अनुसारको चिज किन्ने भएकाले सुत्केरीलाई भेट्न जाँदा नगद दिन लागिएको उनले बताइन् । ‘यो भन्दा अघि उपप्रमुख घरमै गएर घयु, मह र अण्डा दिनु भएको थियो ।त्यही बजेट बराबरको ।’– उनले भनिन् ‘ यो वर्षदेखि हामीहरुले दिएको चिज भन्दा आफुले किनेको चिज आवश्यकता अनुसार किन्नु हुन्छ भनेर हामीले नगद दिन लागेका हौँ ।’
गत आर्थिक वर्षदेखि यो कार्यक्रम नै सुरु गर्ने भनेर तयारी रहे पनि प्राविधिक कारणले रोकिएको र यस आर्थिक वर्षदेखि कार्यक्रम सुरु गर्ने भनेर निर्णय समेत भइसकेको उपप्रमुख अर्यालले बताइन् । ‘नगर भित्रका सुत्केरीहरुको आत्मबल बढाउनका लागिपनि यस्तो कार्यक्रम गर्नु पर्छ भनेर तयारी गतवर्ष नै भएको थियो । प्राविधिक कारणले गर्न सकिएन् ।’ उनले अघि भनिन् ‘यस वर्षदेखि गर्ने भनेर निर्णय पनि भइसकेको छ । आर्थिक वर्ष सुरु हुन साथ यो कार्यक्रम पनि सुरु हुन्छ ।’
उपप्रमुख अर्यालले सुत्केरीलाई दिन लागिएको यो रकम आफैँ नै सुत्केरीहरुको घरमा पुगेर दिने र यसरी घरमा जाँदा उनीहरुको पारिवारीक अवस्था पनि बुझन् सहज हुने बताइन् । ‘यो रकम सुत्केरीलाई घरमै गएर दिन्छौँ । सुत्केरीसँग भेटघाट पनि हुन्छ ।’– उनले भनिन् ‘सकेसम्म म आँफै नै सुत्केरीको घरमा जान्छु । कुनै कारण म जान नसके नगरपालिका कर्मचारी घरमै जानुहुन्छ । घरमै गए पछि घरको वास्तविकता पनि देखिन्छ । आवश्यक परेमा नगरपालिका अन्य सहयोग पनि गछौँ ।’– उनले भनिन् ।
३ वटा अस्पतालमा प्रस्तुती गराउनले मात्रै पाउने छन् नगद
बुटवल उपमहानगरपालिकाले सुरु गर्न लागेको सुत्केरीका लागि २००० कार्यक्रम ३ वटा अस्पतालमा प्रस्तुती गराएकाले मात्रै पाउने छन् । उपमहानगरकी जनस्वास्थ्य निरीक्षक कल्पना भुसालका अनुसार लुम्बिनी प्रादेशिक अस्पताल, आम्दा अस्पताल र सेमलार स्वास्थ्यचौकीमा प्रस्तुती गराउनले सुत्केरीले नगद पाउने बताइन् ।
‘उपमहानगरले सुरु गर्न लागेको यो कार्यक्रम बाफतको रकम बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, आम्दा अस्पताल र बुटवल उपमहानगरपालिकाको आफ्नै बर्थिङ्ग सेन्टर भएको बुटवल १४ स्थित सेमलार स्वास्थ्यचौकीमा प्रस्तुती गराउने बुटवल उपमहानगर भित्रका महिलाले सो सुविधापाउनु हुन्छ ।’–उनले भनिन् ।
यस्तै निःशुल्क गर्भवती जाँच अन्तरर्गत बुटवल उपमहानगरका ५ वटा स्वास्थ्य संस्थामा गर्भवतीहरुको निःशुल्क परीक्षण हुँदै आएको जनस्वास्थ्य इन्जार्ज भुसालले बताइन् । उनकाअनुसार बुटवल उपमहानगरको आफ्नै ल्याब भएका वडा नम्बर ७, ११, १२, १४ र १७ को स्वास्थ्यचौकीमा गर्भवपतीहरुको निःशुल्क जाँच हुने गरेको छ ।
‘बुटवल उपमहानगरको वडा नम्बर ७, ११, १२, १४ र १७को स्वास्थ्यचौकीमा ल्याब रहेको छ । यी स्वास्थ्यचौकीमा गर्भवतीहरुले ल्याब सम्बन्धी सबै निःशुल्क परीक्षण गराउन सक्नु हुन्छ ।’– उनले भनिन् ‘यो भनेको गर्भवती भए नभएको जाँच नभई गर्भवती भए पछि गर्नु पर्ने परीक्षणमा शुल्क गरिएको हो ।’
कति हुन्छन् बुटवलमा वार्षिक सुत्केरी
बुटवल उपमहानगरपालिका भित्र मात्रै वार्षिक ३ हजार भन्दा धेरै महिलाहरु सुत्केरी हुने गरेका छन् ।बुटवल उपमहानगरपालिका भित्र वार्षिक रुपमा करिब करिब ३ हजार जना महिला सुत्केरी हुने गरेको जनस्वास्थ्य निरीक्षक कल्पना भुसाल बताउँछिन् ।
आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्ममा बुटवल नगरभित्र ३ हजार १५० जना जति महिला सुत्केरी भएको जनस्वास्थ्यनिरीक्षक भुसालले बताइन् । ‘बुटवलमा यति नै महिलावार्षिक रुपमा सुत्केरी हुनु हुन्छ भन्ने एकिन तथ्याङक नभए पनि वार्षिक ३ हजार सुत्केरी हुनु हुन्छ ।’– उनले भनिन् ‘यो आर्थिक वर्ष सकिदासम्म यहाँ ३ हजार ३१२ जति महिला सुत्केरी हुने हाम्रो अनुमान छ ।’लुम्बिनी प्रादेशिक अस्पताल र आम्दामा धेरै सुत्केरी हुने भएकाले यी अस्पतालहरुले बुटवल भित्रको मात्रै एकीन तथ्याङ्क दिन नसकेकाले आफुहरुलाई एकीन तथ्याङ्क निकाल्न कठिन भएको उनले बताइन् ।
साथै उपमहानगर भित्र मातृशिशु मृत्यु र शिशु मृत्यु शुन्य नै रहेको बताइन् । ‘यो आर्थिक वर्षको जेठ मसान्तसम्म मातृशिशु मृत्यु र शिशु मृत्यु शुन्य छ ।यद्यपी बुटवल नगर भित्रमा अघिल्लो आर्थिक वर्षमा एक सुत्केरी आमाको निधन भएको थियो ।’ विपन्न वर्गका धेरै सुत्केरी महिला कुपोषित भएका बेला नगद प्रोत्साहनले सुत्केरी महिलाको पोषण र स्वास्थ्यमा सहयोग गर्ने स्वास्थ्यर्मीहरु बताउछन् ।
प्रतिक्रिया