बुटवल । पाल्पाको तिनाउमा असार लागे पनि नदीजन्य पदार्थ उत्खनन् रोकिएको छैन । स्थानीय पालिकाले जेष्ठ मसान्तसम्म उत्खनन्का लागि खोला खुला गरेको भएपनि असार लाग्दा समेत उत्खनन् नरोकिएको प्रहरीले जनाएको छ । अवैध उत्खनन् नरोकिएपछि सक्रियता बढाएको प्रहरीले असार १ र २ गते लगातार जसेबीसहित टिपर तथा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । यसै बीच शनिबार अवैधरुपमा उत्खनन् गरी बुटवलतर्फ ल्याउँदै गरेको ढुङ्गासहित ३ वटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाका अनुसार तिनाउ गाउँपालिका–५ चरचरे स्थित भित्रि सडक चिउरेबाट ढुङ्गा बोकी आउँदै गरेको टिपरलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले प्रदेश २–०३–००१ ख ३२२९, प्रदेश २–०३–००१ ख २९९२ र प्रदेश २–०३–००१ ख ३२९४ नम्बरको हाइवा टिपरलाई नियन्त्रणमा लिइएको हो । आवश्यक कारबाहीका लागि तिनाउ गाउँपालिकालाई जिम्मा लगाइएको प्रवक्ता थापाले जानकारी दिए ।
प्रहरीले यसअघि तिनाउबाट नै अवैध उत्खनन्मा प्रयोग गरिएको २ वटा जेसिबी र २ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको थियो । स्थानीय पालिकाहरुले नै नदीजन्य पदार्थ उत्खनन्का लागि जेष्ठ मसान्तसम्म अनुमति दिएकोका थिए । असार लागेपछि उत्खनन् गर्न नपाइने भएपनि अवैध रुपमा काम चोरी निकासी हुने भएकाले प्रहरीले नियन्त्रणमा सक्रिएता बताएको हो ।
प्रतिक्रिया