ताजा अपडेट »

बुटवलमा निर्माणाधिन सडक अलपत्र पारेर बजेट कटौती गरेपछि स्थानीय आन्दोलित

आइतबार, ०३ असार २०८०

बुटवल । बुटवलको धागो कारखाना–योगीकुटी हुँदै मगरघाट–तामनगर निस्कने वाइपास सडक अलपत्र हुनेगरी बजेट कटौती गरेको भन्दै स्थानीयले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । बुटवलको योगीकुटी पूर्व र पश्चिमको सडक बनाउँदा बनाउँदै बजेट कटौती गरिएको भन्दै आइतबार पत्रकार सम्मेलन गरी चरणवद्ध आन्दोलनको घोषणा गरिएको हो । संघीय सरकारबाट बजेट बिनियोजन भई ठेक्का लागेर केही काम अगाडि बढी सकेपछि एकाएक संघीय सरकारबाट योजना प्रदेशमा पठाएसँगै बन्दाबन्दैको सडक अलपत्र परेको हो ।

संघर्ष समिति नै गठन गरेर आन्दोलित भएका स्थानीयले आइतबार धुलाम्मे सडक किनारमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै संघर्ष समितिका योगी कुटी पूर्वका संयोजक डिल्लीराज अर्यालले संघले प्रदेशलाई हस्तान्तरण गरेको योजनाको फायल सडक विभागको पूर्वाधार कार्यालयले बेपत्ता बनाएको आरोप लगाए । योजना प्रदेशमा सरेपनि विभागले फायल प्रदेशमा नपठाउँदा सडक निर्माण बिचमै अलपत्र परेको उनले बताए ।

सडकको काम अगाडि बढेसंगै ठेकेदार कम्पनीको कामलाई तिब्रता दिन संघबाट रकम नआउँदा सम्मका लागि भन्दै १५ लाख बढी स्थानीयले नगदै उठाएर काम गराएको र लाखौ रुपैयाँ बराबर जमानत बसेर कच्चा पदार्थ उपलब्ध गराएको अर्यालले बताए । एकाएक बजेट रोक्का भएपछि बाटो पनि नबन्ने र आफूहरुको रकम पनि डुब्ने खतरा देखिएको उनले बताए ।

बुटवल धागो कारखानाबाट योगीकुटी, मगराघाट हुँदै तामनगर निस्कने बाइपास रोड बन्ने आश्वासन पाएसँगै स्थानीयले बिना मुआब्जा करोडौंको सम्पत्ति सडकको नाममा गरिदिएका थिए । ‘बाईपास रोड भनिएको सडकलाई अहिले लिंक रोड भनिएको छ,’ उनले भने, ‘सरकारले स्थानीयसँग झुठा कुरा गरेर सम्पक्ति हडप्ने काम गर्यो ।’

बाईपास रोड भनिएकै कारण २८ वटा पक्की घर स्थानीयले आफैले फोडेका थिए भने १२८ घरधुरीले आफ्नो नाममा श्रेष्ता रहेको जग्गा सडकका नाममा गरिदिएका थिए । सो सडक निर्माणका क्रममा बाटो ध्वस्त बनाएपछि सडक दुर्घटनामा एकजनाको ज्यान गएको छ भने हरेक दिन बाटोबाट उछिट्टीएको ढुंगा लागेर घाइते हुने गरेका छन् ।

सडकको संरचनामा हाल अलपत्र पारिएको सडक भन्दा नाला अग्लो रहेकाले पानी परेकै दिनबाट सडकमा पानी जम्ने जोखिम रहेको स्थानीय डिल्लीनारायण पाण्डेले बताए । ‘अहिले धुलोका कारण बाटो वारिपारीका घर देखिँदैनन्,’ उनले भने, ‘पानी परेपछि ताल जमेर वारिपारी गर्न नसकिने निश्चित छ ।’

सडक अलपत्र छाडिएको भन्दै शुक्रबार स्थानीयबासी सडक डिभिजन कार्यालय घेराउ गर्न पुगेका थिए । पूर्णानन्द गिरीको अध्यक्षतामा बनेको संघर्ष समितिले भोलिबाट सडक डिभिजन कार्यालयमा काम काज गर्न नदिने गरि शान्तिपूर्ण धर्ना बस्ने कार्यक्रम सार्वजनिक गरेको छ । सडकमा चक्का जाम गरेर नागरिकलाई दुःख दिनु भन्दा सरोकारवाला निकाय सडकको कामकाजमा अवरोधको बाटो अपनाइएको संघर्ष समितिका अध्यक्ष गिरीले बताए ।

ठेक्का सम्झौता गरिसकेपछि पनि अर्थमन्त्रालयले सो सडकको बाँकी बजेट रोक्का गरिदिएसँगै ठेकेदार कम्पनीले काम रोकेको सडक डिभिजन बुटवलले जनाएको छ ।

यसअघि २७ फिट रहेको यो सडक ५० फिट कायम गर्ने गरी बिस्तार थालिएको थियो । डिभिजन सडक कार्यालय बुटवलले सडक बिस्तारको अध्ययन गरेर कम क्षति हुन ५० फिट कायम गर्नुपर्ने सुझाव दिएको थियो । सोही सुझावका आधारमा उपभोक्ताहरूले ५० फिट कायम गर्ने गरी निर्माण गर्न भन्दै सरकारसँग बजेट माग गरेपछि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले सो सडकको शीर्षकमा बजेट बिनियोजन गरेका थिए ।

सरकार परिवर्तनसँगै उक्त सडक अन्तर्गतको बजेट शीर्षक नै परिवर्तन गर्नाले समस्या देखिएको सडक कार्यालयका अधिकारीहरूको भनाइ छ । सवारीसाधनको अत्यधिक चाप हुने यो सडक दिनभरजसो व्यस्त हुने गर्छ । व्यस्त सडक धुलाम्मे हुँदा स्थानीय बासिन्दाको मात्र नभएर ओहोरदोहोर गर्ने यात्रीहरूको स्वास्थ्य बिग्रिदै गएको स्थानीय अगुवा पाण्डेले बताए ।

संघीय सरकार अन्तर्गतको सो सडकमा योगीकुटी पूर्वमा एसियाटेक कन्ट्रक्सनले ३ करोड ३७ लाख ७० हजारमा ठेक्का लिएको थियो भने पश्चिम खण्डको सिद्धार्थ दर्शन बीकोन जेभीले ६ करोड ५२ लाख ७४ हजारमा ठेक्का पाएको थियो । हाल सम्म ठेकेदार कम्पनीहरुले सडक पूर्वमा १ करोड १२ लाख बराबरको काम गरेर भुक्तानी लिएको छ भने सडक पश्चिमको ठेकेदारले १ करोड ४३ लाख भुक्तानी लगेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको सिमाना जोड्ने यो सडकले योगीकुटीदेखि मगरघाट पुल हुँदै तिनाउ पारि जोड्ने छ । दुई नगरको सीमा भएर बन्ने सडकमा दुबै नगरका जनप्रतिनिधिले उदासिनता देखाएकाले समस्या आएको स्थानीयको गुनासो छ ।