गुल्मी, ठूलो ल्हुम्पेक जाँदा लोकबहादुर राना सरकहाँ मुकाम बनाएर बसेका थियौं । खाना निर्मला आमैले बनाउँदै खुवाउँदै थिइन् । उनी लोकबहादुर सरकी भाउजु हैचिन् । निर्मलाकी श्रीमान् गोपीराम राना,ठूलो ल्हुम्पेक गाविसमा दुईपटक गाविस अध्यक्ष भइसकेका रहेछन् । यतिबेला उनी यस संसारमा छैनन् तर उनका यश गाउँमा बाँकी रहेछन् ।
हामी गएको दोस्रो दिन अर्थात् जेठ २८ गते आइतवार,विहान बुढीसत्यवतीबाट तल ओरालो झरेपछि माईली सत्यवती नजिकै कवि खोमा तरामु लगायतका युवाहरुले सत्यवती गाउँपालिका वडा नं.३ को संयोजनमा लगाइएको चिखाखेती परीक्षण कार्यक्रम हेरेका थियौं । दुई हजार मीटर उचाइँमा चियाखेती परीक्षण कार्यक्रममा तीन हजार चियाको बेर्ना लगाइएका रहेछन् । तारबार गरिएको अनि पानीको व्यवस्था समेत हुँदैरहेछ । सबै कुरा कवि खोमाले सुनाइरहँदा चिया बगान हेर्न अब केही वर्षपछि अन्यत्र जानु नपर्ने मेरो मनले ठम्यायो । उनीहरुले गाउँमै कफी खेती गरेको सुनाएका थिए । तर, समयाभावका कारण हेर्न सकिएन । गाउँमा युवाहरु अडाउन सकिने कार्यक्रम हुन सकेमा गाउँले युवाहरु गाउँमै रहन्थे । गाउँको विकास सम्भव हुने थियो ।
चिया लगाएको डाँडोमूनि सम्मो परेको फराकिलो चउरमा उनीहरुले नयाँ वर्षको अवसरमा सेल्फी सेन्टर बनाएका रहेछन् स्थानीय नियालो बाँसलाई प्रयोग गरेर । अत्यन्तै सुन्दर रहेछ । हामीले त्यहाँ फोटो खिच्यौं । मैले पनि हाम्रो तिनाउका नुवाकोट,जन्तीलुङ्ग,पाटन,सुकेताल लगायतका स्थानहरुमा यस्तै सेल्फी सेन्टर बनाउन सकिएमा पर्यटकहरुलाई आकर्षित गर्न सकिने कुरामा एकमन गराएँ । हेर्दा सामान्य तर बलियो अनि आकर्षक त्यो सेल्फी सेन्टर पर्यटक भुलाउने बाटो हुन सक्छ । त्यही सम्मो परेको भागको बीचबाट लुम्बिनी प्रदेशकै अग्लो, थाप्लेको डाँडोसम्म पुराउने गरी ट्रेकिङ्ग ट्रेलको सुरु गरिएको रहेछ । ठूलो ल्हुम्पेक, रहुँता (बैलुम), तम्पके, ल्हुम्पेक, सत्यवती, गुराँसेडाँडा, राम्चे, मसिनाको लेक, तपस्वी ओढार, बुढीसत्यवती हुँदै थाप्लेको डाँडामा पुराउने लक्ष्य अझै बाँकी छ ।
लोक सरकहाँ विहानको खानापछि एक किमिसको फल चाख्यौं । काँचो गोलभेडाजस्तै देखिने, अमिलो–अमिलो स्वादमा पाइने उक्त फलको नाम पेपिनोमेलन भएको निलीमाले बताइन् । सो फल गाउँमा परदेशीले ल्याएका रहेछन् । फल त चाखियो तर बोट हेर्ने हुटहुटीले सतायो । यो फल सदावहार फल रहेछ । गोलभेडाको जत्रै झ्याँग हुँदोरहेछ । हामीले बोटलाई ओल्ट्याङ्गपल्ट्याङ्ग पारेर हे¥यौं ।
हामीलाई धर्मपुर माविका विद्यालयमा दिउँसो तीन वजे पुग्नु थियो । हतारमा थियौं हामी । उनीहरुलाई हाम्रो विद्यालय कसरी राम्रो विद्यालय बनाउन सकिन्छ भनेर सहजीकरण गर्नु थियो मैले । साथमा सुमित्रा र बेनु थिए । कक्षा टन्न भरि थियो । सय बढी विद्यार्थी थिए । गुणदेव सिंजाली, जुक्तबहादुर थापा, कृष्ण राना सरहरुले संयोजन र व्यवस्थापनमा ध्यान दिइरहेका थिए । एक घण्टा सहजीकरण गर्ने भनेको विजुली आउने र जाने गरेकाले ढाइघण्टा भुलियो । पानी प¥यो त्यहीबेला । शित्तल भयो । विद्यार्थीले अति नै धीरता कायम गरे । अनुशासित र लगनशील विद्यार्थी पाएँ ।
२०१७ सालमा स्थापना भएको उक्त विद्यालयमा भौतिक निर्माण हुँदै रहेछन् । यतिबेला पुननपुग पाँचसय विद्यार्थी भएको सहायक प्रअ जुक्तबहादु थापाले जानकारी दिए । कम्प्यूटर ल्याव,विज्ञान प्रयोगशाला,आधुनिक शौचालय र पुस्तकालय रहेछन् । यही विद्यालयमा पढेर,पढाएर माथिल्लो स्थानमा पुग्नेहरु पनि थुप्रै रहेछन् । यही विद्यालयका विद्यार्थी भुवन थापा यतिबेला ललितकलाका होनाहार ब्यक्तित्व छन् । देशले चिनेका मूर्तिकार छन् । काठमाडौं विश्वविद्यालयमा ललितकला सम्बन्धी विषयमा प्राध्यापन गर्दैछन् । यही विद्यालयमा पढाएका तत्कालीन शिक्षक फटिकबहादुर थापा २०५६ सालमा सोही क्षेत्रबाट माननीय बनिसकेका रहेछन् । यतिबेला खोज,अध्ययन र अनुसन्धानका क्षेत्रमा उनको नाम अग्रहणी रुपमा पढ्न पाइन्छ ।
गाउँलेहरु साक्षर छन् । कृषिमा आफूलाई धेरैले ढालेका छन् । तेस्रो मुलुक जानेहरुको संख्या उल्लेख्य पाएँ । गाउँमा गरिखानेहरुलाई रोजगारको बाटो फराकिलो बनाउनु पर्ने देखें । गाउँमै होमस्टे खुलेको थाहा पाएँ । होमस्टेले स्थानीय परिकारलाई प्रोत्साहन दिन सक्छ । स्थानीय उत्पादनमा टेवा पुराउँछ । गाउँमा रहेका रैथाने संस्कृति र कलाको संरक्षणमा योगदान दिन सक्छ । आन्तरिक एवम् बाह्य पर्यटकलाई सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेर मनग्यै आर्थिक लाभ लिन सकिन्छ ।
गाउँलाई चिनाउन र बताउनका निम्ति टूर गाइडहरु बनाउनु पर्छ । उनीहरुले ठूलो ल्हुम्पेक र छिमेकी गाउँका इतिहास,वर्तमान अवस्था र भविष्यका सपनाहरु बताउन सक्ने छन् । गाउँको उत्पादन,विक्रीवितरण,आम्दानीका स्रोत,गाउँलेहरुका दिनचर्या बारेमा बताउन सकिएमा पक्कै पनि गाउँको बारेमा व्यापक प्रचार हुन सक्नेछ । गाउँमा रहेका मगर र दलित जातिका आआफ्नै सांस्कृति,परम्परागत चालचलनका बारेमा पर्यटकहरुलाई सुनाउन पाएमा सुगन्ध थपिनेछ ।
गाउँकै नजिक साङ्डी रहेछ । साङ भनेको जुका अनि डी भनेको पानी रहेछ । यो मगर भाषामा पो भनिएको रहेछ । चिसोपानी पानी र सफा पानी पाइने रहेछ । गाउँलेहरुले घरघरमा धारा नहुँदा यहींबाट पानी बोक्दा रहेछन् । फ्रिजमा जस्तै चिसो पानी पाइने भएकाले आजकल पनि चिसोपानी र मन बहलाउन साङडी जाने चलन रहेछ ।
हामीले लोक सरकहाँ बस्दा कोदोको ढिंडोसँग बाँको( पिंडालुकोजस्तै पात,सुकाएर बनाइने एक किसिमको सिन्की,गुन्द्रुक , जो बुढीसत्यवतीको जंगलतिर पाइँदोरहेछ । ) खुप खाइयो । मेरो लागि यो नौलो अनुभव रह्यो । जीवनमा नयाँ खाने कुराले नयाँ स्वाद दिदोरहेछ । चिसोपानीमा बाँकोको झोलको के बयान गरुँ र ? गाउँमा टिम्बूर अति नै फल्दो रहेछ । ओखर फल्न सक्ने पहाडहरु देखें तर ओखरका बोटहरु देख्न भ्याइनँ ।
वसन्त ऋतुमा डाँडैभरि गुराँसले ढकमक्कै,सुन्दर र मनोरम देखिने ठूलो ल्हुम्पेक,गर्मी याममा समेत शीतलता दिने छहारी बनेको छ । यो गाउँले,नयाँ आगन्तुकलाई मोहनी लगाउँदो रहेछ । ठूलो ल्हुम्पेकीहरुको एकता,लगानशीलता,अग्रगामी सोच र सामुहिक भावनाले नै यस क्षेत्रलाई देश,विदेशसम्म चिनाउन सकिन्छ । गरे, हुने त हो । हिंडे त हो सगरमाथा पुग्ने, नहिंडे त आफ्नै आँगन दूर लाग्छ । मोहनी लगाउने ल्हुम्पेक पुगेर सबै कुरा देख्न सकिएन अनि लेखेरपनि सबै कुरा लेख्न सकिएन ।
प्रतिक्रिया