बुटवल । जयन टेक्निकल कलेज अफ टेक्नोलोजी प्रा.लि. बुटवलमा सञ्चालित २ महिने ( ३९० घण्टा) टायल मार्वल लगाउने तालीमको बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले अनुगमन गरेकी छन् ।
बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित तालीममा २० जना युवाहरुको सहभागिता रहेको छ । खासगरी विपन्न परिवारका युवाहरुलाई व्यवसायिक सीपमुलक तालीम प्रदान गरी स्वरोजगार बनाउने उद्देश्यका साथ बुटवल उपमहानगरपालिकाको मेयर युवा इलम कार्यक्रम अन्तर्गत टायल मार्वल लगाउने तालीम सञ्चालन गरिएको हो । गत बैशाख २० गते उपप्रमुख अर्यालद्वारा औपचारिक रुपमा समुद्घाटन गरिएको तालीमको सञ्चालन भएको ४० औं दिनमा मंगलबार अर्यालले अनुगमन गरेकी छन् ।
उनले तालीममा युवाहरुले टायल मार्वल लगाउने कार्य अत्यन्तै राम्रो बनाएको भन्दै अनुगमनपश्चात खुसी व्यक्त गर्दै उत्पादन भएका दक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट जोगाउँदै स्वदेशमै रोजगारी दिलाई आत्मनिर्भर बनाउने बताईन् । यस अघि बुटवल उपमहानगरपालिकाका रोजगार संयोजक अर्विन पाण्डे र अनुगमन शाखा प्रमुख ठगीश्वर पोख्रेलले टायल मार्वल लगाउने तालीमको अनुगमन गरिसकेका छन् ।
जयन टेक्निकल कलेज अफ टेक्नोलोजी प्रा.लि. की प्रबन्ध निर्देशक नम्रता थापा श्रेष्ठले तालीमपछि दक्ष युवा शक्तिलाई टायल मार्वल एशोसियसन संघ रुपन्देही र विभिन्न संघसंस्थासंग समन्वय गरी उनीहरुलाई रोजगारीको व्यवस्था गर्ने बताईन् । उनले आफ्नो संस्थाले लुम्बिनी प्रदेशका कपिलवस्तु, नवलपरासी, बर्दिया, कोहलपुर र नेपालगञ्जलगायत पूर्वका विभिन्न जिल्लाहरुमा समेत तालीमहरु सञ्चालन गरेको बताईन् ।
वेरोजगार युवायुवतीलाई लक्षित गर्दै बुटवलमा १५ वर्षदेखि प्राविधिक विषयमा लामो तथा छोटो अवधिका तालीमहरु सञ्चालन गरिएको कलेजका निर्देशक ज्वाला श्रेष्ठले बताए । उनले जयन टेक्निकल कलेजमा इलेक्ट्रिकल, मेकानिकल र कन्ट्रक्सन सेक्टरका तालीम दिनुका साथै बजारसंग माग भएका ३५/३६ वटा विषयमा तालीमहरु सञ्चालन गरिरहेको बताए ।
त्यस्तैगरी संस्थाले रुपन्देहीको तिलोत्तमामा तिलोत्तमा नगरपालिकाको समन्वय र इन्स्योर हेल्भेटासको आर्थिक सहयोगमा १० महिने कुक लेभल टु र पलम्बिङ लेबल टु तालीम पनि सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया