भैरहवा । भारत गोरखपुरकी सुफिया आफ्ना १२ बर्षिय छोरा र ८ वर्षिय छोरीसहित भैरहवामा रहेको “लुम्बिनी एम्युजमेन्ट पार्क” मा रमाई रहेकी थिइन् । जेठ अन्तिमसम्म पनि पानी पर्न नसके पछि उनी परिवारसहित रमाउन नेपाल आएकी हुन । सीमा नजिकै रहेको पार्कबारे थाहा पाए पछि उनी गर्मी छल्न करिब १ सय किलोमिटरको दुरी पार गर्दै नेपाल आएकी हुन् ।
गोरखपुरको सुफिया मात्र हैन भारत कुशीनगर जिल्लाका पडरौना निवासी श्रवण कुमार यादव पनि परिवार सहित सोही वाटरपार्कमा सेल्फी लिन ब्यस्त देखिए । पार्कमा रहेका बिभिन्न सेल्फी प्वाईन्टमा फोटो खिच्न ब्यस्त यादवले भारतमा “गर्मीसे बेहाल, चलो नेपाल” भन्ने नारा बढ्दै गएको बताए । भारत भन्दा तुलनात्मक रुपमा कम तापमान रहेको र रमाउन सक्ने स्थानहरु पनि थुप्रै रहेको कारण अहिले भारतीयहरु नेपाल तर्फ आकर्षित भएको हुन सक्ने उनको भनाई थियो । तर अहिले आफु वाटरपार्कमा पौडी खेल्नलाई मात्र आएको यादवले बताए ।
भारतका सुफिया र श्रवण कुमार मात्र हैन नेपाल तर्फ रहेको यस्तो वाटरपार्कमा अहिले भारतीय पर्यटकहरुको घुईचो नै लाग्ने गरेको छ । कति सम्म भने शनिबार र आईतबार पार्कका ब्यवस्थापन टिमलाई भिड ब्यवस्थापन गर्न नै हम्मे हम्मे पर्ने गरेको छ।
रुपन्देहीमा लुम्बिनी एम्युजमेन्ट पार्क, रेडसन वाटर पार्क लगायत ६ वटा वाटर पार्क रहेका छन् । सीमाबाट नजिक रहेको कारण लुम्बिनी एम्युजमेन्ट पार्क, रेडसन वाटर पार्कमा भारतीयहरुको घुईचो लाग्ने गरेको छ ।
एकै दिन एउटै पार्कमा २ हजार ५ सय भन्दा बढी भारतीय आएको रेकर्ड छ । लुम्बिनी एम्युजमेन्ट पार्कका सञ्चालक निरज बरालका अनुसार दैनिक औषतमा ७ सय देखि ८ सय सम्म पाहुनाहरु आउने गरेका छन् । तर शनिबार र आईतबार यो संख्या ह्वात्तै बढ्ने गरेको छ । आईतबार मात्रै २ हजारको हाराहारीमा पाहुनाहरु आएको उनको भनाई छ । “यसमा पनि ९५ प्रतिशत भन्दा बढी भारतीय नै हुनुहुन्छ ।” गत बर्ष ९६ हजार पाहुना आफ्नो वाटरपार्कमा आएको बरालले बताए ।
वाटरपार्कहरु भारतमा रहे पनि नेपालको वाटरपार्कमा भारतीयहरुको चासो रहने गरेको छ । गोरखपुरकी सुफियाले गोरखपुरमै पार्क रहे पनि नेपालमा रमाईलो र सुरक्षित महशुश हुने गरेको कारण आफु नेपाल रोजेको बताउछिन । “यस संगै नेपाल आउदा लुम्बिनी, पाल्पा लगायतका क्षेत्रमा पनि घुम्न सहज हुन्छ ।” सुफियाले भनिन् । नेपालका वाटरपार्कहरु सुरक्षित संगै, सफा एवम शितल हुने गरेको यहा आउने पर्यटकहरुको भनाई छ । साथै यहा खेल्नको लागि विविधतायुक्त खेलहरु रहेका छन ।
लुम्बिनी एम्युजमेन्ट पार्कमा मात्रै ९ वटा स्लाईड रहेका छन् भने यस क्षेत्रमै ठूलो ४० फिटको अग्लो टावरबाट स्लाईड एवम अवलोकन गर्न पाईने ब्यवस्था मिलाईएको बरालले बताउछन् । यस्तै प्राकृतिक समुद्रि छालकै जस्तै अनुभव लिने गरि वेभ पुल, रेन डान्स, क्रेजी रिभर लगायतको सुविधा रहेको छ । यहा वयस्क र बालबालिकाको लागी अलग अलग स्लाईडको ब्यवस्था गरिएको बरालले बताए ।
४५ करोड बढी लागतमा तैयार भएको लुम्बिनी अम्युजमेन्ट पार्क एण्ड रिसोर्ट सेन्टरमा साढे ६ बिघा क्षेत्रफलमा वाटरपार्क, बैंकेट हल, रेष्टुरेण्ट, कन्फ्रेन्स हल, तथा रिसोर्ट लगायत अन्य मनोरञ्जनात्मक ब्यवस्था रहेको छ ।
प्रतिक्रिया