ताजा अपडेट »

बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसको प्रमुखमा पुनः डा. उपाध्याय नियुक्त

सोमबार, २९ जेठ २०८०

बुटवल । बुटवल देवीनगर स्थित लुम्बिनी वाणिज्य क्याम्पसको क्याम्पस प्रमुखमा पुनः प्रा. डा. ताराप्रसाद उपाध्याय नियुक्त भएका छन् । आइतवार बसेको क्याम्पस सञ्चालक समितीको बैठकले क्याम्पस प्रमुखमा पुनः उपाध्यायलाई नियुक्त गरेको हो । उपाध्याय पहिलो ५ वर्षको कार्यकाल सक्याएर दोस्रो कार्यकालको लागि नियुक्त भएका हुन् ।

सोही क्याम्पसमा २०५४ सालदेखि अध्यापन गराउदै आएका क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. उपाध्यायलाई २०७५ साल असार १ गतेदेखि लागु हुने गरी क्याम्पस सञ्चालक समितिको बैठकले पहिलोपटक क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको थियो । उनको अधिकांश कार्यकाल कोरोना कहरका बीच बितेतापनि उक्त समयमा क्याम्पसलाई मानित विश्वविद्यालयमा रुपान्तरण गर्ने क्याम्पसको दीर्घकालिन सोचले थप गति पाएको थियो भने त्रि.वि.को प्राज्ञिक स्वायत्तता अन्तर्गत ४ वटा स्वायत्त कार्यक्रमहरु थप भई सञ्चालनमा समेत आएका थिए । दोस्रो कार्यकालको लागि क्याम्पस प्रमुखमा नियुक्त भएसंगै डा. उपाध्यायले क्याम्पस सञ्चालक समितिप्रति आभार व्यक्त गर्दै क्याम्पसका प्राध्यापक, कर्मचारी र विद्यार्थी सबैको सहयोगमा क्याम्पसले देखेको सपना पूरा गर्न निस्वार्थ रुपले निरन्तर लागि रहने प्रतिवद्धता व्यक्त गरे ।

कपिलवस्तुको बाणगंगा नगरपालिका गजेडामा जन्मिएर भारतमा अध्ययन गरेका क्याम्पस प्रमुख डा. उपाध्यायले भारतकै नर्थइष्ट हिल युनिर्भसिटीमा प्रारम्भमा ३ वर्ष अध्यापन गरेका थिए पनि भने उनले गुहाटी विश्वविद्यालको स्नातकोत्तर तहमा गोल्ड मेडलिस्ट समेत भएका थिए । डा. उपाध्यायले लुम्बिनी वाणिज्य क्याम्पसमा अध्यापन गराउँदै गर्दा भारतको बनारस विश्वविद्यालयबाट नेपालमा वाणिज्य बंैकहरुमा सुशासनको अभ्यास विषयमा विद्यावारिधि र त्रिभुवन विश्वविद्यालयबाट एलएलबी समेत गरेका छन् ।

लेखनमा समेत रुचि राख्ने उनका लेखा तथा लेखापरीक्षण सम्बन्धी १७ वटा पुस्तक प्रकाशित भएका छन् भने २६ बढी अनुसन्धानमुलक लेखहरु नेपाल र विभिन्न देशहरुबाट प्रकाशन हुने जर्नलहरुमा समेत प्रकाशित भएका छन । हाल बुटवल उपमहानगरपालिका वडा नम्बर ९ मा श्रीमति रजनी शर्मा, छोरी आत्मिका ज्ञवाली, छोरा अनुरन्जन ज्ञवाली सहित बसोवास गर्दै आभएका छन् । रोटरी क्लब अफ बुटवलका पुर्व अध्यक्ष समेत हुन् । ५४ बर्षिय डा. उपाध्याय विभिन्न व्यवसायीक तथा सामाजिक संस्थाको सल्लाहकार समेत हुन् भने शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको संचालक हुन् ।