माघ ४,
ग्लोबल आवाज
बुटवल । बुटवल उपमहानगरपालिका–१२ तामनगर स्थित रम्भादेवी कलेज अफ मेडिकल साइन्सले निःशुुल्क वृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरमा फिजिशियन विशेषज्ञ सेवा, स्त्री रोग विशेषज्ञ सेवा, बालरोग विशेषज्ञ सेवा, नेत्र रोग विशेषज्ञ सेवा, रक्तपरीक्षण सेवा सहित निःशुल्क औषधी प्रदान गरिएको कलेजले बताएको छ । २०७६को शैक्षिक सत्रदेखि सो स्थानमा आफ्नो शैक्षिक सेवा सुभारम्भ गरेको कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको रम्भादेवी ग्रुप अफ अर्गनाइजेशनका अध्यक्ष सूर्य बहादुर भट्टराइले बताए ।
उनले भने हामीले यस क्षेत्रबाट शैक्षिकसँगै स्थानीय समुदायका लागि केही सेवा गर्ने दायित्व अन्तर्गत यो कार्यक्रम आयोजना गरेका हौं । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं, साथै कलेजमा निरन्तर स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था गर्नेछौं । जसबाट यहाँ विद्यालय स्तरदेखि कलेज स्तरसम्म अध्ययन गर्ने सबै विद्यार्थी लगाएत उनीहरुका अभिभावकलाई पनि टेवा मिल्नेछ ।’
शनिबार बिहानदेखि गु्रप अन्तर्गत रहेको रम्भादेवी मेडिकल साइन्स र न्यू भिजन उच्च माविको प्राङ्गणमा आयोजित निःशुल्क वृहत स्वास्थ्य शिविरमा करिब ५ सय जनाले सेवा लिएको ग्रुपका प्रबन्ध निर्देशक मनोज बस्नेतले बताए । करिब ९ सय विद्यार्थी रहेको संस्थाले आफ्ना अभिभावक लगाएत स्थानीय सबैलाई स्वास्थ्य सेवा उपलब्ध गराउने संस्थाको उद्देश्य अनुसार शिविर आयोजना गरिएको कलेजका प्रिन्सिपल मनोज काफ्लेले बताए ।

संस्थाले आयोजना गरेको शिविरमा स्थानीयको उत्साहजनक सहभागिता रहेको न्यू भिजन उच्च माविका प्राचार्य केशव श्रीषले बताए । संस्थाले यस अघिपनि विभिन्न सामाजिक सेवा तथा उत्तरदायित्व अन्तर्गतका कार्यक्रम गरेको र त्यसले विद्यार्थीहरुमा पनि सामाजिक जिम्मेवारीको महसुस भएको न्यूू भिजन उच्च माविका सह–प्राचार्य कमल खनालले बताए । सम्पन्न विशेषज्ञ र औषधी सहितको निःशुल्क शिविर सञ्चालनका लागि पूर्ण खर्च तथा जिम्मेवारी ग्रुपकै रहेको अध्यक्ष भट्टराइले जनाएका छन् । रम्भादेवी ग्रुुप अन्तर्गत रम्भादेवी कलेज अफ मेडिकल साइन्स, न्यू भिजन उच्च मावि र रम्भादेवी टेक्निकल कलेज गरी तीन शैक्षिक विभाग सञ्चालित रहेको प्रबन्ध निर्देशक बस्नेतले बताए ।
प्रतिक्रिया