ताजा अपडेट »

गुल्मी अस्पतालमा कमिशनको खेल : विभिन्न शिर्षकमा भत्तैभत्ताको ‘सत्ता’ (फलोअप)

शनिबार, २७ जेठ २०८०

गुल्मी । गुल्मी अस्पताललाई यस अघिका मेसु डाक्टर उत्तम पाच्याले कमिशन र भत्तैभत्ताको ‘सत्ता’ बनाएरको रहस्य बाहिर आएको छ । अस्पताल विकास समितिको बैठक पुस्तिकाको निर्णयहरुबाट उक्त कुरा खुलेको हो । उनले सेवाग्राहीबाट विभिन्न शुल्क लुट्दै र आफूहरुले भत्ता बुझ्दै आएको तथ्य बैठकका निर्णयहरुमा भेटिएका छन् ।

२०७७ साल फागुन १० गतेका दिन तत्कालिन रेसुङ्गा नगरपालिकाका मेयर तथा अस्पताल बिकास समितिका जेष्ठ सदस्य डिल्लीराज भुसालको अध्यक्षमा बसेको बैठकबाट अस्पतालका तत्कालिनन मेसु उत्तम पाच्याले भत्तामाथि भत्ता खाने निर्णय गराएको भेटिएको छ । जसको मारमा अहिले पनि सेवाग्राही परेका छन् । डाक्टर लगायततका सीमित स्वास्थ्यकर्मीहरु विभिन्न शिर्षकका भत्ता खाँदै आई रहेका छन् ।

अहिलेका मेसु डाक्टर राजेन्द्रबहादुर क्षेत्री र अन्य डाक्टरहरुले समेत हालसम्म सोही अनुसार सेवा सुविधा प्राप्त गरेका छन् । यद्यपी उनीहरुले यसरी सेवा सुविधा लिनुमा उनीहरुको व्यक्तिगत नियत वा गल्ती भने देखिँदैन । अस्पताल बिकास समितिले गरेको निर्णय अनुसार नै उनीहरुले सेवा सुविधा लिएको देखिन्छ । यस अघि हामीले नेपाल सरकारको छात्रवृत्तिबाट चिकित्सकको हकमा सरकारसंग गरिएका कवुलियतनामको नीतिगत विषयलाई उठाएर समाचार प्रकाशन गरेका थियौं ।

सेवाग्राहीबाट विभिन्न शिर्षकमा शुल्क अशुलेर ढाड सेक्ने र डाक्टरहरुले अनेकन भत्ता खाने प्रवृत्ति विरुद्ध आवाज उठ्न थालेको छ । अस्पतालका मेसु र समीतिका ब्यक्तिहरुले गरेका निर्णयले अहिले मात्रै होइन भविष्यसम्म सेवाग्राही अस्पतालबाट सुविधा कम शुल्क बढी तिर्नु पर्ने बाध्यता सिर्जना भएको भन्दै आलोचना हुने गरेको छ ।

तत्कालिन मेयर भुसाल, जिल्ला प्रशासनका प्रशासकीय अधिकृत उद्धव पन्थी र डाक्टर पाच्य सहित ३ जना मिलेर सेवाग्राहीलाई विभिन्न शिर्षकमा शुल्क उठाउने र सोही रकमबाट डाक्टरहरुले अनेकन शिर्षकमा भत्ता खाने व्यवस्था गरिएको भन्दै बिरोध भएको छ । उक्त बैठकमा चिकित्सकहरुले चौबिस घण्टा अनकल अर्थात स्टाण्डबाई डिउँटी दिए बापत तलव स्केल एक दिन बराबरको भत्ता उपलब्ध गराउने निर्णय गरिएको थियो ।

अनकल अर्थात रातभर पनि स्टाण्डबाई रहनु पर्ने डाक्टरलाई त्यहाँ पुग्ने सेवाग्राहीले भेट्न भने मुस्किल पर्ने गरेको सेवाग्राहीले गुनासो गरेका छन् । जेठ ४ गते मालिका गाउँपालिका–४ का वडाध्यक्ष नारायण अर्यालय नाक र मुखबाट रगत बगेपछि एम्वुलेन्सलाई ५ हजार भाडा तिरेर रातारात अस्पताल आएका थिए । रातको ठिक २ बजे गुल्मी अस्पतालको ईर्मेजेन्सी वार्डमा भर्ना गरिएका उनलाई हेर्न अनकलमा रहेका कोही पनि डाक्टर नआएको उनका परिवारले गुनासो गरे ।

अस्पतालमा रहेका अन्य स्वास्थ्यकर्मीहरुले उपचार गर्दै नाकमुखबाट बगेको रगत बग्नबाट रोके । तर रगत र दिशापिसाबको रिर्पोटका लागि अनकलमा रहेका डाक्टरलाई नै कुर्नुपर्ने भयो । रातभर पनि हेर्नेगरी दोहोरो सुविधान लिएर अनकलमा बसेका डाक्टर तब आए बिरामी अस्पतालमा आएको ७ घण्टापछि अर्थात विहान ९ बजे । ‘डाक्टर कुर्न मलाई बिहान नौ बजेसम्म लाग्यो ।’–आफ्नो उपचार अनुभव बताउँदै वडा अध्यक्ष अर्यालले भने, ‘दिन होस वा रात चौबिस घन्टे डिउँटीमा रहेको डाक्टर इमर्जेन्सीको सम्पर्कमा भईरहनु पर्छ, मलाई जस्तो अरुलाई नगरियोस ।’ ‘वडाध्यक्ष जस्तो ब्यक्ति आउँदा त त्यस्तो छ भने अन्य सर्वसाधरण आउँदा हालत के होला ?’–अस्पतालमा उपस्थित अन्य सेवाग्राहीको प्रश्न थियो ।

तत्कालिन मेसु उत्तम पाच्याले अन्य कुरमा पनि अस्पताललाई भत्तैभत्ताको सत्ता बनाएर गएको तथ्य हामीलाई प्राप्त भएको छ । एक्सेर सेवाका लागि अनकल डिउँडीमा रहने रेडियोग्राफीलाई ७५० कमिशन दिने निर्णय पनि सोही दिनको बैठकमा गराइएको प्रमाण भेटिएको छ । त्यस्तै भिडियो एक्सरे गर्न आउने सेवाग्राहीबाट जनही ५ सयका दरले शुल्क लिने र त्यसको ५० प्रतिशत कमिशन सम्वन्धित डाक्टरलाई उपलब्ध गराउने निर्णय भएको छ ।

अतिरिक्त समयमा काम गर्नु भन्दै सोही बैठकबाट मासिक १५ हजार अतिरिक्त पारिश्रमिक रकम स्वयम् मेसुले लिन पाउने गरी सोही बैठकमा निर्णय गराइएको थियो । यसैगरी तत्कालिन लेखापाल भिमलाल खनाललाई अतिरिक्त समयमा काम गर्नुृ पर्ने भएको भन्दै ७५०० बाट बृद्धि गरि मासिक १० हजार उपलब्ध गराउने निर्णय गरिएको थियो ।

अस्पतालमा २०७७ फागनु १ गतेदेखि लागु सो नियम हालसम्म कायम रहेको छ । पाच्यापछि गोपालप्रसाद खनाल अस्पताल विकास समितिको अध्यक्ष भए । उनी आएपनि आफु सहितका स्नाकोत्तर चिकित्सकहरुलाई सरकारी तलव स्केल जति छ सोही अनुसार नै प्रोत्सहान भत्ता उपलब्ध गराउने निर्णय गराए । २०७८ पुस २४ गतेको बैठकमा उक्त निर्णय गराई सोही वर्षको माघ १ गतेदेखि सशप्रतिशत भत्ता खाने खुवाउने कार्य सुरु भएको थियो । अध्यक्ष, मेसु र लेखापालमा एउटै बैचारिक मिलाप भएकोले पनि त्यहाँ एकलौटीपन चलेको आरोप छ ।

त्यस्तै ईमजेन्सी वार्डमा नाईट डिउँडी गर्ने स्वास्थ्यकर्मी र कार्यालय सहयोगीलाई क्रमशः दैनिक ६० र ४० रुपैयाँका दरले भत्ता दिने निर्णय गराई लागु गरिदै आएको छ । फेरी इमर्जेन्सीमा काम गर्ने का.स. र स्वास्थ्यकर्मीहरुलाई दैनिक ८० रुपैयाँ, र १०० रुपैयाँका दरले खाजा खर्च र माथी उल्लेखित भत्ताले पनि नपुगेर अनकल डिउटीमा रहने डाक्टरहरुलाई दैनिक २५० रुपैयाँ खाजा खर्च उपलब्ध गराउने निर्णय मेसु खनालको पालामा गराइएको छ । यसैगरी अस्पतालको डिउटीमा बस्ने प्रहरीलाई पनि दैनिक २० का दरले खाजा खर्च ।

यसरी भत्ता खाने श्रोत जुटाउन सेवा लिन आउने गर्भवती महिलाको भिडियो एक्सरे गराउँदा हरेक पटक २०० का दरले शुल्क लिने निर्णय गराइएको थियो । ५ रुपैयाँ रहेको ओपेडीको टिकट शुल्क बढाएर २० रुपैयाँ पुर्याइएको थियो भने ईमर्जेन्सीमा १०० रुपैयाँ टिकट शुल्क बनाईयो ।

मओवादी केन्द्रका ईन्चार्ज बिरबहादुर कार्की अध्यक्ष भएको बेला डाक्टरहरुलाई अन्य भत्ता नहुँदा अस्पतालमा सुत्केरी हुन आउने महिलालाई जटिल प्रकृतिको प्रशुति गराए बापत सरकारबाट आउने अनुदानको ५० प्रतिशत डाक्टर सहितका स्वास्थ्यकर्मीहरुलाई भत्ता दिलाईएको रहेछ । तर पछि डाक्टरले पाउने तलबको शतप्रतिशत प्रोत्सान भत्ता पाईसकेपछि पनि उक्त अनुदान रकमको ५० प्रतिशत रकम बाँडेर खाईदै आएको छ । जुन यस्तो छ –डाक्टरलाई ५५ प्रतिशत , नर्सलाई ३५ प्रतिशत र कार्यालय सहयोगीलाई १० प्रतिशतको दरले बाँडेर खाईदै आईएको छ । यो लुट मात्रै होईन, ब्रम्हालुट नै हो भन्छन सर्वसाधरण सेवाग्राहीहरु । अस्पतााल विकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेले त्यसरी भत्ता नदिए डाक्टर नै बस्न नमान्ने बताउँदै आएका छन ।

उनले भनेका छन–‘म अध्यक्ष हुँदा डाक्टरको निकै अभाव थियो । त्यस कारण त्यति बेलाका सिडियोसहित बसेर बिशेषज्ञ डाक्टरहरुलाई आकर्षित गर्न हामीले शतप्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेका हौं, त्यो मेरो एक्लो निर्णय होईन ।’ उनले थपेका छन– ‘यदि त्यस्तो भत्ता नदिई बिशेषज्ञ डाक्डर ल्याउन कसैले सक्छ भने ल्याउन त ।’ पाण्डे अघि माओवादी केन्द्रबाट अध्यक्ष थिए भरत पाण्डे । उनले त्यहाँ भित्रका विकृति थिए भने किन उठाउन सकेनन त ? भनेर प्रति प्रश्न गर्नेहरु पनि छन । तर पाण्डे भन्छन –‘ मैले केहि बिषय उठाउन खोजे पछि मलाई एक्लाउने र आन्दोलन गर्ने, भाँड्ने सम्मको खेल हुँदै थियो र पनि केहि गर्छु भन्दै थिएँ तर मेरो नियुक्ति खारेज भयो ।’

दलका नेताहरु यसो भन्छन

नेपाली कांग्रेसका पार्टी सहसचिव धर्म पाण्डे भन्छन–‘अस्पताल विकास कोष भनेको सेवाग्राहीलाई कसरी उपचार सेवा सर्वसुलभ बनाउन सकिन्छ भन्ने कुरामा समिति चिन्तित हुनु पर्ने हो तर विकास समितिले डाक्टर र स्वास्थ्यकर्मीकै सेवा सुविधामा मात्रै ध्यान दिएको जुन कुरा तपाईले उठाउनु भएको छ यो ठिक हो ।’

त्यस्तै नेकपा एमालेका उपाध्यक्ष कृष्ण सुनार आफ्नो पार्टीले स्वास्थ्यकर्मीको सेवा सुविधा र जनताको पनि सर्वशुलभ उपचारका लागि कुरा उठाउदै आएको बताए । डाक्टरहरुको प्रोत्साहन भत्ता अलि कम बनाउने बिषयमा अन्य दल र सरोकारवालासंग छलफल गर्न जति बेला पनि तयार भएको बताए ।

नेकपा माओवादी केन्द्रका ईन्चार्ज विरबहादुर कार्की त्यस अस्पताल विकास समितिको अध्यक्ष दुई कार्याकालसम्म रहेका थिए । उनले भने–‘भने डाक्टरहरुलाई मेरो पालामा अन्य प्रोत्साहन दिने कुरा नभएपछि मैले गर्भवती महिलालाई सुत्केरी गराए वापत आउने ३ सय रुपैयाँबाट ५० प्रतिशत डाक्टर सहितका स्वास्थ्यकर्मीलाई उपलब्ध गराउने निर्णय गरेको थिएँ । तर पछि केहि डाक्टरहरुलाई सतप्रतिशत भत्ता दिने निर्णय गरेछन, जुन कुरा म र मेरो पार्टीले ठिक मानेको छैन ।’

यी हुन जनसवाल

तलव बराबरको प्रोत्साहन भत्ता दिइएको छँदै छ । अनि किन अनेकन भत्ता दिनका लागि सेवाग्राही लुटने त ? अस्पताल विकास कोष स्वास्थ्यकर्मीक लागि मात्रै हो कि सेवाग्राहीलाई सहुलियत दिनका लागि पनि हो ? यो सवाल सर्वत्र उठेको छ । कतिपय विरामीहरु त्यहाँबाट पाल्पा बुटवलतिर रिर्फर गर्दा त्यहाँ सम्म पुग्ने बाटो खर्च नभएर चन्दा उठाउनु परेका उदाहरणहरु थुप्रै छन । त्यस्ता आर्थिक रु स्वास्थ्यरुपले असहाय विपन्न नागरिकलाई खै सुविधा ?

समाजको अगुवा वर्गलाई भने परिक्षणदेखि औषधीसम्म निशुल्क दिईन्छ र मुख बन्द गराईन्छ । तर बोल्न नसक्ने नागरिकले सहज उपचार पाउन सकेका छैनन । यस प्रति अस्पताल विकास समिति मात्र होईन सरोकारवाला सबैले चासो दिन जरुरी छ ।

https://www.globalaawaj.com/archives/242654