ताजा अपडेट »

आज विश्व वातावरण दिवस

सोमबार, २२ जेठ २०८०

आज विश्व वातावरण दिवस । आजको दिन वातावरण विशेष दिन । वातावरणको चिन्ताले घच्चराइरहन्छ हरपल हरक्षण । बाटोमा हिड्दा सबैको आफ्नो-आफ्नो ध्यान हुन्छ । मेरो ध्यान भने यत्रतत्र छरिएका कहिले नसढ्ने प्लास्टिकको फोहोरले तानीरहेको हुन्छ । फोहोर उठाउने गाडी पनि आएकै छ फोहोर पनि उठाएकै छ । तर पनि बाटोका किनारमा प्रसस्तै प्लास्टिकजन्य फोहोरहरू देखिन्छ्न् । यो यत्रतत्र छरिएका प्लास्टिक हावाहुरी पानीले बगाएर लैजाने ठाउँ भनेको त नदि, खोला, मुहान, कुलो, कुलेसो, खोल्सा, खेतबारी मा त हो, मन झन नराम्रो हुन्छ ।

किन यति विधि लापरबाही हुँदैछ मान्छे भोलिको लागि केही नसोच्ने ? यस्तै यस्तै दिनहुँ पिरोल्ने चिन्ता । यसै बीचमा मलाई आजको दिनमा एउटा नयाँ ठाँउको पर्यावरणीय चिन्ताले सतायो । यो भन्दा अघि मैले नुवाकोट डाँडाको फोहोर बारेको 'बुटवलका मेयरका लागि दोस्रो खुलापत्र' भनेरकुरा उठाएकी थिए । आज फेरि अर्को सुन्दर डाँडा वसन्तपुरको बारेमा केही नभनी रहन सकिन । विकासले फड्को मार्यो । ठूलो लगानीमा एउटा पर्यटकीय स्थलको निर्माण सम्पन्न भयो । बुटवलदेखि बसन्तपुरसम्मको केबुलकार यात्रा । कस्तो होला भन्ने उत्सुकताले डोर्‍यायो सुरू भएको पहिलो दिनमा नै सपारिवार घुम्न जाने अवसर मिल्यो । धेरै राम्रो लाग्यो सरर केबुलकारमा बसन्तपुर उक्लिदा ।

जङ्गलको माथिबाट नियाल्दा भर्खरै डढेलोको चपेटाबाट राहत पाएर उम्रीदै गरेका घाँस । आधा शरीर जलेर पनि टाउकोमा हरियो ताज जोगाउन सफल रूखहरू, आधा जलेका केराका बोटहरू, फाट्टफुट्ट बाख्रा चरिरहेका दृश्यहरू नियाल्दै लगभग १५ मिनेटको दुरीमा बसन्तपुर डाँडामा पुगियो । बुटवलको गर्मीबाट उक्लेका हामीलाई चिसो पहाडी हावा साँच्चिकै मीठो लाग्यो । केटाकेटी रमाए । शितल चौतारी मन्दिरमा बजिरहेको भजन र प्रवचनले वातावरण मनमोहक बनाएको थियो । त्यति माथि पुगेर पनि हामी आधा घन्टा हिंडेर अझै माथिसम्म पुग्यौ । सुन्दर बुटवल नगरी नियाल्दाको मजा वर्णन गरि साध्य छैन । चिसो हावाले गर्मीको महसुस हुन दिएन । साँच्चिकै मन रमायो ।

वसन्तपुरको डाँडामा उक्लिरहदा झलक्क सम्झिए नुवाकोट डाँडा । के फरक छ र नुवाकोट र वसन्तपुरमा केबुलकार मात्रै त हो नभएको । झल्झली नुवाकोट डाँडाकाे फोहोर सम्झिए । (यसको बारेमा अघिल्लो पटक लेखिएको छ हेर्नसक्नु हुन्छ) । फाट्टफुट्ट फोहोर हुने क्रम त वसन्तपुर डाँडामा पनि देखिन लागिसकेको रहेछ । ओहो ! कतै यता पनि त्यस्तै हुने त होइन भन्ने भो । बिकाससँगै प्रकृतिको विनास त हुने होइन ? मनमा उठेका यस्तै धेरै कुराले हुन्डरी मच्चायो ।

-पानी पिउनको लागि प्रयोग भएका प्लास्टिकका गिलास कहाँ फ्याकिन्छ होला ?
-त्यहाँका होटलमा प्रयोगमा ल्याइएका प्लास्टिकजन्य फोहोर कहाँ फ्याकिन्छ होला ?
-मानिसहरूले प्लास्टिकका झोलाभरी खानेकुरा लिएर निस्केका देखिन्थे । तिनीहरूले यो फोहोर जहाँ बसेर खायो त्यहीँ फ्याक्नेछ्न् । किनकी कुनै पनि नियम बनेको छैन पर्यावरणलाई जोगाउने गरि ।
-अरबौको लगानी देखियो तर पर्यावरणलाई जोगाउने बारे केही नियम मात्रै पनि देखिएन ।
-भोलिका दिनमा नुवाकोटको जस्तो अवस्था वसन्तपुरमा नआउला भन्न सकिएन ।
-नजिकिदै गरेको वर्षायामले फोहोर प्लास्टिक बगाउदा त्यहाँ रहेका पानीका मुहान नै दुषित हुने प्रवल सम्भावना देखिन्छ । यहीँ रफ्तारमा बसन्तपुर डाँडामा भैरहेको प्लास्टिकजन्य वस्तु जथाभावी फ्याक्ने कार्य भइ नै रह्यो भने जङ्गलको अस्तित्व नै खतरामा पर्ने देखिन्छ । बेलैमा सचेत हुन जरुरी छ । आज विश्व वातावरण दिवसको दिन वसन्तपुर डाँडाको पर्यावरणीय संरक्षणमा सम्बन्धित निकायको ध्यान जाओस् ।