बुटवल । नेपालको राजदरबार हत्याकाण्ड भएको आज २२ वर्ष पूरा भएको छ । स्व. राजा विरेन्द्र शाहाको २२ वर्षअघि आजकै दिन वंश नास भएको थियो । २०५८ जेठ १९ गते राति तत्कालीन नारायणहिटी राजदरबारमा भएको पारिवारिक भोजका क्रममा गोली चल्दा राजा वीरेन्द्रसहित उनको १० जनाको परिवारको हत्या भएको थियो ।
तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरु श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको एकै प्रकरणमा हत्या गरिएको थियो । घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए । तत्कालीन जनप्रिय राजा वीरेन्द्रको निधन भएपछि अस्पतालमा अचेतावस्थामै रहेका युवराज दीपेन्द्रलाई राजा घोषणा गरिएको थियो ।
जेठ २२ मा उनको पनि मृत्यु भएको घोषणा गरिएसँगै वीरेन्द्रका माइला भाइ ज्ञानेन्द्र राजा बनेका थिए । तत्कालीन सभामुख तारानाथ रानाभाट तथा प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय सम्मिलित उच्चस्तरीय छानबिन समितिले युवराज दीपेन्द्रले नै गोली चलाएको बताए पनि यथार्थ र सर्वसाधारणले चित्त बुझाउने खालको छानविन अझै भएको छैन ।
हत्याकाण्डका विषयमा तात्कालीन प्रधानन्यायाधीश, संसदका सभामुखको नेतृत्वका छानविन गरे पनि त्यसले तथ्य बाहिर ल्याउन नसकेको भन्दै आम असन्तुष्टि अझै उत्तिकै छ । दरबार हत्याकाण्डलाई जोडेर विभिन्न पुस्तक सार्वजनिक भएपनि अहिलेसम्म हत्या कसले र किन गरेको भन्ने विवरण सार्वजनिक हुन सकेको छैन । घटना अझै रहस्यमय नै छ ।
हत्याकाण्डलगत्तै तत्कालीन राजा ज्ञानेन्द्रको निर्देशनमा घटना भएको त्रिभुवन सदनलाई भत्काउन लगाइएको थियो । हत्याकाण्डको खास रहस्य पत्ता लगाउन नसकिए पनि नारायणहिटी संग्रहालयले दरबार त्रिभुवन सदनको पुनर्निर्माण गरेको छ । दरबार हत्याकाण्ड भएको स्थानको स्मरण गराउन त्रिभुवन सदन निर्माण गरी संग्रहालयका रुपमा संरक्षण गरिएको हो । अहिले नारायणहिटी दरबारलाई संग्राहलय बनाइएको छ । केही वर्षदेखि राजाले लगाउने गरेको श्रीपेचका साथै सुनको राजदण्ड समेत सर्वसाधारणका लागि प्रदर्शनीमा राखिएको छ ।
हत्याकाण्डको सात वर्षपछि २०६५ जेठ १५ गते राजतन्त्रको समाप्ति भई गणतन्त्रको उदय भयो । उच्च सैन्य घेराभित्र रहेको नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डको रहस्य अहिलेसम्म खुल्न सकेको छैन । अहिलेका प्रधानमन्त्री प्रचण्डले एक सार्वजनिक कार्यक्रममा राजदरबार हत्याकाण्डको छानवीन गर्ने बताएपनि आम नागरिक विश्वस्त हुन सकेका छैनन् ।
प्रतिक्रिया