ताजा अपडेट »

लुम्बिनी प्रदेशको समृद्धिका लागि बुटवलले नेतृत्व गर्नुपर्छ : व्यवसायी

सोमबार, १५ जेठ २०८०

बुटवल । काठमाडौं तथा बुटवलबाट प्रकाशन/प्रशारण हुँदै आएको संज्ञान मिडिया प्रा.लिद्वारा संचालित खबरकुरा डटकमले तेस्रो वर्ष पूरा गरेर चौथो वर्ष प्रवेशको अवसरमा सोमबार अन्तरक्रिया कार्यक्रम गरेको छ । वार्षिकोत्सवको अवसरमा सोमबार आयोजितक ‘समृद्ध लुम्बिनी प्रदेश : बुटवल र मिडिया’ विषयक अन्तरक्रियामा बोल्ने वक्ताहरुले लुम्बिनीको विकासमा राजनीतिक सोचभन्दा माथि उठ्नुपर्ने बताए । उनीहरुले राजनीतिक सोँच भन्दा माथि उठेर प्रदेशको समृद्धिका लागि बुटवलले नेतृत्व गर्नु पर्ने बताए ।

बुटवल अहिलेपनि सम्भावना नै सम्भावना भएको शहर भएको चर्चा गर्दै सहभागीहरुले यसलाई गुल्जार बनाउ एकमना योजना आवश्यक रहेको चर्चा गरे । कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा उद्योगी नवराज श्रेष्ठले विकासको कामलाई संस्थागत र निरन्तरता जरुरी रहेको बताए । पूर्वाधार विकास भएपनि यहाँ उद्योग र ब्यापारको पक्षमा बलियो नीति नबन्दा फस्टाउन नसकेको भन्दै यसमा सरकारको ध्यानाकर्षण गराउने गरि अगुवाहरु लाग्नुपर्ने सुझाव दिए । उनले फुर्सदमा रहेका व्यवसायीक संस्थाका पूर्व अध्यक्षहरुले एउटा सर्वमान्य विचार प्रवाह गर्न सक्नुपर्ने बताउँदै बुटवलको समग्र विकासका लागि एउटा बौद्धिक फोरमको आवश्यकतामा जोड दिए ।

पर्यटन ब्यवसायी तथा होटल एसोशिएसन (हान) का केन्द्रीय सदस्य गोपाल रानाले विश्व शान्तिका दुत सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनी, रामापिथेकसको अवशेष भेटिएको स्थलसहित धेरै धार्मिक, सामरिक, पर्यटकीय स्थललाई भजाएर पर्यटनबाट फाईदा लिन नसकिएको बताए । सरकारले कृषि, खेलकुद र पर्यटनसंगै जोड्ने गरी एकीकृत विकासको नीति बनाउन नसकेको उनले दुःखेसो गरे । एउटा भारतीयले २५ हजार रुपैया भन्दा बढि वा विदेशीेले ३ सय डलरभन्दा बढी ल्याउन नपाउने जस्ता नीति पर्यटन विकासको बाधक भएको उनले बताए । कृषि, पर्यटन र हाईड्रो नेपालको समृद्धिको आधार भएपनि यसलाई जोडेर नितिगत कानुन नबनाउदा सफल हुन नसकेको उनले दुखेसो गरे ।

नेपाल पत्रकार महासंघ, लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले मिडियाको सकारात्मक आलोचना जरुरी रहेको बताए । हरेक क्षेत्र आफ्नो बारेमा सकारात्मक सोच राख्ने गरेको भन्दै बाहिरी पक्षबाट आउने रचनात्मक आलोचना सुधारमा सहयोग सिद्ध हुने बताए । नेपाल पत्रकार महासंघलाई पत्रकारिता गर्ने पत्रकारहरुको साझा संस्था बनाउन चाहेको उनले बताए । बुटवलको आर्थिक विकास गर्न योजनावद्घ लाग्नुपर्ने उनले सुझाव दिए । बुटवलको विकास गर्न योजनावद्घ तरिकाले प्लेटफर्म दिनुपर्ने बताए । ब्यक्तिगत लाभ हानीमा बुटवलबासी हाबी हुँदा अहिलेको अवस्था सृजना भएको दुखेसो गर्दै यसलाई सच्चाउदै अघि बढ्नुपर्ने बताए । संचारगृह चलाउन विज्ञापन महत्वपुर्ण पाटो भएको उनले बताए ।

ब्यवसायी पदम श्रेष्ठले राजनीति मुल नीति भएको भन्दै राजनितिबाट समस्याको समाधान निस्कने बताए । विकासका मुद्दामा साझा एजेन्डा बनाएर अघि बढ्न सक्नुपर्ने उनले सुझाव दिए । कार्यक्रममा पर्यटन ब्यवसायी रचना पन्तले दुई वटा केबलकारसंगै अब बुटवल चलायमान हुने अवसरका रुपमा देखिएको भन्दै पर्यटन विकासबाट आर्थिक लाभ लिने गरी अघि बढ्नुपर्ने बताए । हामीसंग भएको जितगढी, रामापिथेकस जस्ता ऐतिहासिक स्थलहरुको प्रचार जरुरी रहेको बताए ।

नेपाल चेम्बर अफ कमर्श, लुम्बिनी प्रदेशका टंक पोखरेलले रुपन्देही मोफसलको राजधानी भनिएअनुसार निर्मम समीक्षा जरुरी रहेको बताए । बुटवलको विकासलाई बुदागत प्राथमिकता गरेर सबै पार्टीहरुबाट लबिङ जरुरी रहेको उनले बताए । अन्तरक्रियामा नेवाःपुच नेवा समितिका काजिमान श्रेष्ठ, महिला उद्यमी ज्ञानु केसी, रुपन्देही उद्योग संघका निवर्तमान अध्यक्ष बाबुराम बोहरा, उपाध्यक्ष कृष्ण पराजुली, राष्ट्रिय उद्योग ब्यापार संगठनका पदम जीसी, नेपाल राष्ट्रिय उद्यान संघका अध्यक्ष खेम लुईटेल, उपभोक्ता हित संरक्षण मंच बुटवल उपमहानगरपालिकाका अध्यक्ष समुन्द्र जिसि, ब्यवसायी हरि अर्याल लगायतले विकासका लागि राजनीतिभन्दा माथि उठेर एकजुट भएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा स्वागत गर्दै खबरकुरा अनलाईनका प्रबन्ध सम्पादक शरण कर्माचार्यले कोभिड संक्रमणको कठिन समयमा स्थापना भएर छोटो समयमा अनलाईन संचारमा फड्कोमार्न सफल भएको भन्दै निरन्तर पाठकको साथ र सहयोग जरुरी रहेको बताए । उनले मिडिया हाउस बचेमात्र पत्रकारिता बच्ने बताउँदै उद्योगी व्यवसायीलाई विज्ञापनलाई पनि लगानीको एउटा पाटो मानेर लगानी गर्न आग्रह गरे । पत्रकारलाई आफू अनुकुल बनाउने उद्देश्यले मात्र विज्ञापन नदिन आग्रह गर्दै विज्ञापनलाई ब्यवसायको साझेदारका रुपमा बुझ्न उनले व्यवसायीहरुलाई आग्रह गरे ।