नाम्चे (सोलुखुम्बु) । विश्वकै अग्लो स्थानमा हुने तेन्जिङ-हिलारी एभरेस्ट म्याराथनमा नेपाली धावकहरुले बाजी मारेका छन । सगरमाथा आधार शिविरबाट सोलुखुम्बुको नाम्चे सम्म (४२ किलोमीटर) हुने खुल्ला फुल म्याराथन ३ घण्टा ४८ मिनेट ५४ सेकेन्डमा पार गर्दै नेपालका सुमन कुलुङ्ग प्रथम भए ।
यो सहित उनी यो प्रतियोगितामा तीन पटक विजेता भएका छन । सोही दुरि ३ घण्टा ५७ मिनेट ५३ सेकेन्डमा पार गर्दै नेपालका दल बहादुर कुवर दोश्रो एवम ४ घण्टा २ मिनेट ३ सेकेन्ड लगाउदै नेपालकै उमेश राई तृतिय भए । ७० किलोमिटरको एक्सट्रीम अल्ट्रा बिधामा ८ घण्टा ३८ मिनेट ९ सेकेन्ड लगाउदै नेपालका तिर्थ बहादुर तमाङ्ग पहिलो, नेपालकै तिलक बहादुर सुनुवार ९ घण्टा २ मिनेट ३१ सेकेन्ड लिदै दोश्रो एवम नेपालकै किरन कुलुङ्ग ९ घण्टा २६ मिनेट ३८ सेकेन्ड लिदै तेस्रो भए ।
२१ किलोमिटरको हुने हाफ म्याराथनमा भारतकी सम्झना राइ प्रथम भएकि छिन । उनले ३ घण्टा १९ मिनेट ४८ सेकेन्डमा उक्त दुरि पार गरिन । अष्ट्रेलियाका एम्मा विलियम्स ३ घण्टा २१ मिनेट ४१ सेकेन्ड लगाउदै दोश्रो तथा रुसका अलेक्जेण्डर ब्रुट्सेव ३ घण्टा २३ मिनेट ५४ सेकेन्ड लिदै तेस्रो भए । ४२ किलोमिटरको बिदेशी बिधा तर्फ ४ घण्टा ४७ मिनेट १० सेकेन्ड लिदै अमेरिकाका टेट पोल्म्यान पहिलो, ६ घण्टा ६ मिनेट ५१ सेकेन्ड लिदै अष्ट्रेलियाका कियरा बेस्म्यानो दोश्रो तथा ६ घन्टा ३० मिनेट ४३ सेकेन्ड लिदै चीनका म्यथ्यु विलियम तेस्रो भए ।
४२ किलोमिटरकै महिला बिधामा नेपालको मन्जु रावतले ५ घण्टा २८ मिनेटमा पार गर्दै पहिलो, नेपालकै लाक्पा मिङ्ग्मा शेर्पा ५ घण्टा २८ मिनेट ३६ सेकेन्ड लिदै दोस्रो एवम दिलकला कुलुङ ५ घण्टा ३१ मिनेट ५४ सेकेन्ड लिदै तेस्रो भएको कार्यक्रम संयोजक शिशिर पाँडेले बताए ।
यसपल्ट ६९ नेपालीसहित २८ देशबाट २ सय ४ जनाले भाग लिएको आयोजक हिमालय एक्स्पिडिसनका संस्थापक बिक्रम पाँडे काजीले जानकारी दिए । म्याराथनमा अमेरिका, क्यानाडा, बेल्जियम, अस्ट्रेलिया, जर्मनी, भारत लगायतका देशबाट धावकले भाग लिएको उनले बताए । प्रतियोगितामा ७२ बर्ष देखि १७ बर्ष उमेरकाले पनि भाग लिएको उनले जानकारी दिए ।
सगरमाथामा पहिलोपल्ट मे २९ तारिखका दिन तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पाइला टेकेको अवसर पार्दै १९ वर्षदेखि एभरेस्ट म्याराथन हुँदै आएको छ। तेन्जिङ र हिलारीले सन् १९५३ मे २९ पहिलोपल्ट सगरमाथामा पाइला टेकेका थिए। हिमालय आरोहणको ७० औ बर्षको विशेष अवसर पारेर यो पटक म्याराथन बाहेक अन्य कार्यक्रम पनि गरिएको उनको भनाइ छ ।
एभरेस्ट म्याराथन कर्पोरेट म्याराथनका रूपमात्र नभएर पर्यटन प्रवर्द्धनमा गरिँदै आएको अध्यक्ष पाँणेले बताए । " एभरेस्ट म्याराथनले नेपाललाई विश्वमै चिनाउन सहयोग गर्दै आएको छ। नेपालमा पर्यटक भित्र्याउन म्याराथन सहयोगी भएको छ।" उनले भने "प्राकृतिक सुन्दरता, मनोरम दृश्य र जोखिमपूर्ण भएकाले पनि एभरेस्ट म्याराथनले छुट्टै परिचय स्थापित गरेको छ ।"
सगरमाथा आरोहणको ७० बर्षको बिशेष अवसरमा नेपालका लागि बेलायती राजदूत निकोला पोलिट, न्युजिल्यान्डका महाबाणिज्य दूत लिजा छोय्ग्याल, अमेरिकी दूतावासका ज्यसोन मिक्सले सगरमाथा राष्ट्रिय निकुञ्ज भित्र लाली गुराँस रोपेका थिए । म्याराथनको लागि बुद्ध जन्मस्थल लुम्बिनीबाट लुम्बिनी टर्चमा बुद्ध ज्योति बाली सगरमाथा आधारशिविर पुर्याइएको थियो ।
प्रतिक्रिया