ताजा अपडेट »

जे देखियो, त्यही लेखियो !

मंगलबार, ०९ जेठ २०८०

तिनाउ गाउँपालिकाभित्र एउटा संस्थागत र ३९ (नौवटा मावि र ३० आधारभूत विद्यालय) वटा सामुदायिक विद्यालय रहेका छन् । ग्रामीण बस्तीहरुमा रहेका विद्यालयहरुले ग्रामीण नागरिकहरुको शिक्षामा टेवा पुराउँदै आएको पाइन्छ । साविकका दोभान, मस्याम, कचल र कोल्डाँडा गाविसहरु मिलेर बनेको तिनाउ गाउँपालिकाको साक्षरता दर ८२.८५ प्रतिशत् छ । तिनाउ सरकारले आगमी दुई वर्षभित्रमा सबै नागरिकहरुलाई साक्षर बनाउने नीति लिएको छ । त्यसका लागि वडा कार्यालयको संयोजन र सामुदायिक सिकाइ केन्द्रहरुलाई गतिशील बनाइने छ ।

यहाँ रहेका ४० वटा विद्यालयहरुमध्ये ५ जना महिला प्रधानाध्यापक छन् । एकजना दलित, दुई जना मधेसी समुदायका, १९ जना जनजाति र १८ जना ब्राह्मण, क्षेत्री समुदायका प्रधानाध्यापक छन् । यस गाउँपालिकामा ७५.७५ प्रतिशत् जानजातिको बसोबास रहेको छ । तिनाउ गाउँपालिकाभित्र एउटा सामुदायिकस्तरबाट सञ्चालित मस्याम एकीकृत क्याम्पस रहेको छ ।

तिनाउ गाउँपालिकाको कक्षा ५ र ८ को नतीजा शैक्षिक सत्र २०७९ मा अत्यन्तै न्यून आइसकेपछि गाउँपालिकालाई टाउको दुखाइको विषय बन्यो । शिक्षा समितिले त्यसो हुनुको कारण खोज्ने र योजनावद्ध रुपमा तिनाउको शैक्षिक अवस्था सुधारगर्दै गुणस्तरीय शिक्षामा जोड दिने निर्णय गर्न पुग्यो । त्यसै बमोजिम तिनाउको शैक्षिक सुधारका लागि दुई दिवसीय शैक्षिक विमर्श कार्यक्रम जेठको २ र ३ गते दोभानमा सम्पन्न भएको छ ।

जेठ दुई गतेका दिन तिनाउ गाउँ कार्यपालिका सदस्यहरु, स्थानीय राजनीतिक पार्टीका नेताहरु, बुद्धिजीवीहरु, गाउँपालिकाका पूर्वअध्यक्ष अनि उपाध्यक्ष र शिक्षा समितिका सदस्यहरुका बीच तिनाउको शिक्षा नीति, शिक्षा ऐन, गाउँ शिक्षा योजना, शिक्षा योजना कार्यान्वयन कार्यनीतिका विषयमा शिक्षा समितिका सदस्यहरु दलबहादुर गुरुङ, राजेश श्रेष्ठ र कर्मचारी शंकर पुरीले प्रस्तुतीकरण गरेका थिए भने शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले आवश्यक पृष्ठपोषण प्रदान गरेका थिए ।

दोस्रो दिन अभिभावक शिक्षा र शैक्षिक नेतृत्वका विषयमा शिक्षाका जानकार उत्तरकुमार पराजुली र घनश्याम पाठकले तिनाउमा रहेका सबै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष र प्रधानाध्यापकहरुलाई सहजीकरण गरेका थिए । दुई दिनको कार्यक्रमले तिनाउको शैक्षिक अवस्थालाई माथि उकास्न र शैक्षिक उन्नयनका निम्ति अत्यन्तै प्रेरणा मिलेको ग्रामीण भेगमा रहेका विद्यालयमा पुग्दा सजिलै थाहा पाउन सकियो ।

सोमवार हामीहरु (गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापा, शिक्षा समितिका राजेश श्रेष्ठ, दलबहादुर गुरुङ र कृष्णप्रसाद ज्ञवाली) तिनाउको सबैभन्दा पुरानो मरेकमा रहेको सरस्वती प्राथमिक विद्यालय पुग्दा मध्यान्हको १२ बज्दैथियो । विद्यालयका प्रअ काम विशेषले विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई जानकारी गराएर जिल्ला सदरमुकाम पुगेका रहेछन् । बाँकी सबै शिक्षकहरु कक्षाकोठामा विद्यार्थीलाई पढाइरहेका थिए । कक्षा ४ र ५ कक्षाकोठाको अभावमा एकैठाममा पढाई हुँदोरहेछ । कक्षा १ देखि ५ सम्म २२ जना विद्यार्थी रहेछन् । गतवर्ष २९ जना विद्यार्थी रहेकोमा यसवर्ष कम भएको थाहा लाग्यो ।

खाजाका लागि टिफीन बक्स प्लाष्टिकको रहेछ । बरु यसलाई स्टीलको प्रयोग गर्न सके राम्रो हुने थियो । बालविकास केन्द्र रहेनछ । हामी पुग्दा एकजनामात्र विद्यार्थी अनुपस्थित भएको थाहा पाइयो । वार्षिक शैक्षणिक योजना, वार्षिक कार्ययोजना, दैनिक पाठयोजना बनेको देख्दा जेठ ३ गते घनश्याम पाठक सरले भनेको कुरा लागू भएको अनुभूति भयो ।

अर्खलेको श्री आधारभूत विद्यालयमा विद्यार्थी पनि उस्तै कमी रहेछन् । कक्षा ८ सम्म चलेको विद्यालयमा जम्मा ४० जना पाउँदा हामीलाई न्यास्रो लाग्यो । सरकारको आर्थिक साधन, स्रोत, मानवीय क्षमताको अत्यधिक प्रयोग भएपनि विद्यार्थी संख्या र गतवर्षको नतीजाले हामीलाई नरमाइलो र निरस तुल्यायो । विद्यालयका प्रअ विद्यालयकै काम लिएर तानसेन पुगेका रहेछन् । ससाना कोठाहरु, एउटा कोठामा पढाएको कुरा अर्को कक्षामा सुनिने रहेछ ।

पाटनको पाटन आधारभूत विद्यालय पुग्दा विद्यालयमा मध्यान्तरको समय परेछ । विद्यार्थी र शिक्षकहरु बीच भलिबल खेल चलिरहेको थियो । कृष्ण नेपाली र कृष्ण अर्घाली सरले विद्यार्थीलाई भलिबल खेलका नियमहरु समेत सिकाउँदै थिए । पाटन प्राविका प्रअ मीनबहादुर लम्तरी मगरले नेट चलाइरहेका थिए । उनको विद्यालयले वार्षिक शैक्षणिक योजना र वार्षिक कार्ययोजना हालसम्म नबनाएको कारणमा तिनाउ गाउँपालिका शिक्षा शाखाले क्यालेण्डर ढिलो प्रकाशन गर्नुलाई मानेका थिए । दैनिक पाठयोजना नभएको हाँस्दै बताए । विद्यालयमा रहेका शिक्षकहरुले यसरी नै आफ्ना कमजोर गतिविधिहरु प्रदर्शन गर्दै जाने हो भने तिनाउको शैक्षिक अवस्था कहाँ पुग्ला सबैले अनुमान गर्न सकिन्छ ।

३ बजेर २० मिनेटमा हामी देवी प्राविमा पुगेका थियौं । शिक्षकहरुले पढाउँदै थिए । बालशिक्षाको लागि छुट्टीको घण्टी बजिसकेको थियो । सबै विद्यार्थी जोड्दा ५३ जना रहेछन् । ग्रामीण भेगमा रहेको प्राविमा यति विद्यार्थी हुनु खासै कमी मानिदैन । भवनको अभाव देखियो । दैनिक पाठयोजना बनाइएको रहेनछ । वार्षिक शैक्षणिक योजना तयार हुँदै रहेछ ।

चार बज्न एक मिनेट हुँदा हामी मस्याम माविको गेटमा छिरेका थियौं । तर विद्यार्थी हस्याङ्गफस्याङ्ग गर्दै बाहिर निस्किदै थिए । राजेश सरले घण्टी नलागी किन भागेको भनेर भगुवा विद्यार्थीलाई सोधे । घण्टी लाग्यो । सबै विद्यार्थी दौडादौड गरे । सविता मल्ल मेडमको कक्षा कोठामा पस्यौं । उनले कक्षा आठका विद्यार्थीका जन्मदिन कुन महिनाको कति गते पर्ने रहेछ भनेर आकर्षक कागजमा लेखेर टाँसेकी थिइन् ।

लालबहादुर थापा दाइ भने बुटवलतिर हुँइकिए । वडा नं.६ का वडाध्यक्ष टोमबहादुर पुनसँगै हामी शिक्षक स्टाफ कक्षामा प्रवेश गरेका थियौं । परिचय भयो । चियापानी भयो । अध्यापनका समयमा कक्षाकोठामा देखापरेका शैक्षिक समस्याका बारेमा आआफ्ना समस्याहरु बताउन भनेको थिएँ तर शिक्षक साथीहरु बतास्सिए । दोष अभिभावकमाथि राखेर पानीमाथिको ओभानो बनेको देख्दा उदास लाग्यो । बरु शिक्षकले विद्यार्थीमा पढाइप्रतिको भोग जगाउन सकिएन कि ? उनीहरुको रुचीलाई सम्बोधन गर्न सकिएन कि ? हामीले पढाउने शैलीमा कुनै समस्या आयो कि ? प्रविधिमैत्री बन्न सकिएन कि ? उनीहरुको मनोविज्ञान बुझ्न सकिएन कि ?

कक्षाकोठाको शैक्षिक गतिविधिका बारेमा शिक्षक साथीहरु केन्द्रीत नै हुन सकेनन् । उनीहरुका कुरा गाउँपालिकाले यसो गरेन, उसो गरेन, किन यस्तो भयो र उस्तो भयो भन्नेमा नै रह्यो । करिव दुई घण्टाका समयमा हामीले शैक्षिक अन्तरक्रिया त गर्यौ तर उपलब्धिको पर्खाइमा छौं ।

प्रयोगात्मक कक्षाका लागि कम्प्यूटरको अभाव, शिक्षकलाई ल्यापटप दिनुपर्नेमा कुरा उठान, अनाथ, असाहय विद्यार्थीको अवस्था, छात्रवासको प्रवन्धका बारेमा समेत कुरा उठान भए । वडाध्यक्ष टोमबहादुर पुन, राजेश श्रेष्ठ र कृष्ण ज्ञवालीले आआफ्ना विचारहरु राखे । विद्यालयको अनुगमन पुुस्तिकामा जे देखियो सोही लेखियो ।

शैक्षिक सुधार गर्ने नै हो भने शिक्षकले नै गर्न सक्छन् । अरु त सहयोगी नै हुन् । शिक्षक भनेको तावा हो । तावा तातेर नै बींड तात्ने हो । शिक्षकले आफूलाई बींड मान्न थालेमा कमजोरी हुनेछ । वार्षिक शैक्षणिक योजना, वार्षिक कार्ययोजना, दैनिक पाठयोजना शिक्षक आफैले बनाउने हो । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ वा अभिभावकले बनाउने कुरै होइन । काम पनि होइन ।

शिक्षकलाई सहजीकरण गर्न तिनाउ गाउँपालिका, शिक्षा समिति तयार छ । सक्दो वजेट विनियोजन गर्न समेत तयार रहेको गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले शैक्षिक विमर्श कार्यक्रममा जोडदार बोलेका छन् । आगे भरोसा शिक्षकमा नै छ । गरे शिक्षकले नै गर्नेछन् शैक्षिक सुधार । अरु त तपसीलका कुरा हुन् ।