तिनाउ । सामुदायिक वन समन्वय समिति,तिनाउ,पाल्पाले रुपन्देहीको मर्चवारक्षेत्रमा पर्ने सम्मरीमाई गाउँपालिकाको जनप्रतिनिधिसँग तिनाउ–दानव नदीलाई लिएर वातावरणीय सेवा भुक्तानीका विषयमा छलफल कार्यक्रम सम्पन्न गरेको छ । वातावरणीय सेवा भुक्तानी भन्नाले तल्लो तटीय क्षेत्रका बासिन्दाहरुले वातावरणीय सेवा लिएवापत माथिल्लो तटीय क्षेत्रलाई दिने भौतिक, नैतिक एवम् आर्थिक सहयोग र पुरस्कार स्वरुप दिने नगद तथा जिन्सी बुझिन्छ । तिनाउ–दानव नदीबाट सिंचाई र यसले पारेको क्षतिका बारेमा बुझ्न र बुझाउनका निम्ति समन्वय समितिको टोली सम्मरीमाई पुगेको हो ।
सम्मरीमाई गाउँपालिकाको वडा नम्बर ३/५ र ७ भएर तिनाउ–दानव नदीका रुपमा बग्ने अवलोकनपछि थाहा भएको समितिका अध्यक्ष पदमलाल शाक्यले बताए । उक्त छलफल कार्यक्रममा समितिका वरिष्ठ उपाध्यक्ष दलबहादुर गुरुङले सामुदायिक वन समन्वय समितिको स्थापना,यसका गतिविधि,वातावरणीय सेवा भुक्तानीका विषय र समितिले सो विषयमा चालेका कदमका बारेमा सहजीकरण गरेका थिए । कार्यक्रममा सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोदकुमार श्रीवास्तव,उपाध्यक्ष कुमारी प्रियंकासिहले आफूहरुले तिनाउ( दानव नदीको प्रयोग र विशेषताका बारेमा थाहा पाउन सकेको र वातावरणीय भुक्तानी विषयमा जान्न पाएको बताउँदै आफ्नो पालिकाले माथिल्लो तटीय क्षेत्रमा वातावरण संरक्षणका लागि सक्दो सहयोग गर्न वजेट विनियोजन गरिने बताए ।
उक्त छलफल कार्यक्रममा लुम्बिनी प्रदेशका वन निर्देशक दधिलाल कँडेल,तिनाउ गाउँपालिकाका प्रवक्ता यादवप्रसाद अर्याल,समितिका पूर्वअध्यक्ष राजेश श्रेष्ठ,नीजि वन महासंघ,रुपन्देहीका अध्यक्ष जगन्नाथ कुर्मी लगायतले वातावरणीय सेवा भुक्तानीलाई सबैले बुझ्न र बुझाउनु पर्नेमा जोड दिए ।
प्रतिक्रिया