बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीकी बरिष्ठ उपाध्यक्ष कमला थापाले नक्कली शरणार्थी मात्रै नभएर अब सबैखाले भ्रष्टाचार काण्डका फाइल खोल्नुपर्ने बताएकी छन् ।
राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देही क्षेत्र नं २ द्धारा शुक्रबार बुटवलमा आयोजित १९ औं क्षेत्रिय भेलाको उद्घाटन गर्दै उनले नक्कली शरणार्थी मात्रै नभएर अब सबैखाले भ्रष्टाचार काण्डका फाइल खोल्नुपर्ने बताएकी हुन् ।
भ्रटाचार बिरुद्ध जनमुक्ति पार्टीले स्थापनाकालदेखिनै आवाज उठाउदै आए पनि साना दलले उठाएको एजेण्डा भनेर राज्यले बेवास्ता गर्दा आज नेपालको अन्तराष्ट्रिय स्तरमै बदनाम हुनुपरेको भन्दै उनले भ्रटाचार बिरुद्धको आन्दोलनलाई पार्टी थप शशक्त रुपमा उठाउने चेतावनी दिइन् । ठुला दलहरु भ्रष्टाचारमा लिप्त भएको र नयाँ दलका कुनै एजेण्डानै नभएको बताउदै थापाले नयाँ दलहरु ठुला दलहरुको अकर्मण्यताको उपज भएको टिप्पणी गरिन् ।मुलुक अहिले जनमुक्ति पार्टीको एजेण्डाबाट चलेको भन्दै उनले मुलुकमा संघीयताको वकालत गर्ने पार्टीनै जनमुक्ति भएको दाबी गरिन् ।
राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देही क्षेत्र नं २ का अध्यक्ष दुद्ध बहादुर गुरुङको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा पार्टीका संघीय परिषद सदस्य प्रेम गलामी,पार्टीका केन्द्रीय सदस्य तथा नेपाल मगर महासंघका अध्यक्ष छत्र बहादुर दर्लामी,जनमुक्ति युवा महासंघका केन्द्रीय अध्यक्ष शंकर गाहा, क्षेत्रीय समितिका बरिष्ठ उपाध्यक्ष धन बहादुर छन्तेल,क्षेत्रिय सचिब लिल प्रसाद राना,पार्टीका बुटवल नगर अध्यक्ष भेकबहादुर सारु,पार्टीका तिलोत्तमा नगरपालिका वडा नं ३ का अध्यक्ष अमर गलामी लगायतले नक्कली शरणार्थी प्रकरणको स्वतन्त्र निस्पक्ष छानबिन गरी दोषिलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिए ।
नक्कली शरणार्थी प्रकरणलाई भ्रष्टाचारजण्य घटनाको रुपमा मात्रै चित्रित गरिएको भन्दै उनिहरुले उक्त घटना भ्रष्टाचार मात्रै नभएर राज्य द्रोहको अपराधसमेत भएकोले सोही अनुसार कारबाही गर्नुपर्ने माग गरे ।
कार्यक्रममा जनमुक्ति पार्टीमा प्रवेश गरेका बुटवल उपमहानगरपालिका वडा नं ३ का बेल प्रसाद गुरुङलाई पार्टीका बरिष्ठ उपाध्यक्ष थापा, उपाध्यक्ष होमाया गुरुङ,महासचिब टोप अस्लामी,सचिब गीता सारुलगायतले टिका लगाएर स्वागत गरेका थिए ।
प्रतिक्रिया