बुटवल । बुटवलका ट्यांकर ब्यवसायी चोपनारायण श्रेष्ठ फेरी पेट्रोलियम पदार्थको तस्करीमा संलग्न भएको भेटिएपछि कार्वाहीमा परेका छन्।पटक पटक जरिवाना र कारवाही भोग्दै आएका श्रेष्ठले यसपटक २९ लाख भन्दा बढी रकम धरौटी राखेर उम्केका छन् भने उनका चालक अजय केसी भने धरौटी राख्न नसकेर प्रहरी हिरासतमा थुनिएका छन्।
श्रेष्ठको स्वामित्वमा रहेको एक्सप्रेस परिवहन सेवा प्रालिको ट्यांकरबाट पेट्रोल तस्करी गरेको पाईएपछि उनले भैरहवा भन्सार कार्यालयलाई २९ लाख बढि रकम धरौटी बुझाएका छन्। भने उनको नाममा रहेको ट्यांकर भन्सार कार्यालयमै थन्किएको छ। एक्सप्रेस परिवहन सेवा प्रालीको लु २ ख ४८३९ नम्बरको ट्यांकरले गत बैशाख ८ गते भारतीय आयल कर्पोरेसन आईओसीको बेतालपुरस्थित डिपोबाट स्वीकृत पीडिओ २० किलोलिटर भन्दा ३ हजार ३ सय ८३ लिटर बढी पेट्रोल भेटिएको थियो।
भैरहवा नाकाबाट भन्सार पास गराउने क्रममा शंका लागेपछि नियन्त्रणमा लिएर जाँच गर्दा ३ हजार ३ सय ८३ लिटर बढी पेट्रोल भेटिएपछि प्रहरी मार्फत भन्सार कार्यालय र नेपाल आयल निगमले ट्यांकर र चालक अजय केसीलाई नियन्त्रणमा लिएको थियो।
चोरी तस्करी गरि स्वीकृत परिमाणभन्दा बढि पेट्रोल ल्याएको पाईएपछि बेलहिया भन्सार कार्यालयले २९ लाख ६ हजार ८० रुपैयाँ धरौटी लिएर ट्यांकर संचालक श्रेष्ठलाई छोडिदिएको हो। भन्सार कार्यालय बेलहियाका प्रमुख मनिराम पौडेलका अनुसार श्रेष्ठले २३ हजार ३८३ लिटर पेट्रोलको २८ लाख ६ हजार ८० र आफ्नो १ लाख गरि कुल २९ लाख ६ हजार ८० रुपैयाँ धरौटी बुझाएका छन्। ट्यांकरका चालकले भने धरौटी बुझाउन नसकी प्रहरी हिरासतमा रहेका छन्। भन्सार कार्यालयले चालकको ५० हजार र पेट्रोलको २८ लाख ६ हजार ८० गरि कुल २८ लाख ५६ हजार ८० रुपैयाँ धरौटी माग गरेको थियो।
नेपाल आयल निगमले चालकलाई सधैका लागि नेपाल आयल निगम संग सम्वन्धित ट्यांकर चलाउन बन्देज लगाएको छ भने सम्बन्धित ट्यांकरलाई तिनमहिना सम्म तेल ढुवानी गर्न बन्देज लगाएको छ। नेपाल आयल निगम भलवारी डिपोका प्रमुख जगदिशचन्द्र यादव २० किलोलिटर पेट्रोलियम पदार्थ ढुवानी गर्ने क्षमता रहेको ट्यांकरमा झण्डै चारसय लिटर बढि पेट्रोल ढुवानी गर्नु सुरक्षाको हिसाबले समेत जोखिम हुने बताउँछन्।
प्रतिक्रिया