भुटानी शरणार्थीलाई स्वदेश फिर्ता गर्नुपर्ने पक्षमा उभिएका नेता टेकनाथ रिजाल नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेपछि त्यसले तीन दशकभन्दा पुरानो उक्त समस्यामा नयाँ प्रश्न उत्पन्न भएको भन्दै केही विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।
नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै उच्चपदस्थ राजनीतिक र प्रशासनमा रहेका व्यक्तिहरूको आडमा सङ्गठित गिरोहले चलाएको भनिएको अभियानको अनुसन्धानको सिलसिलामा रिजाल बिहीवार पक्राउ परेका हुन्। रिजाललाई हिरासतमा लिन दुई दिनका लागि म्याद थप गरिएको काठमाण्डू प्रहरी परिसरका प्रमुख दानबहादुर कार्कीले बताए।
सन् १९८० को दशकमा भुटानी राजाको सल्लाहकार परिषद्का सदस्य रहेका उनी भुटानले 'एक देश एक भाषा'को नीति अँगालेपछि झन्डै एक लाख नेपालीभाषी भुटानीसँगै भारतको बाटो भएर नेपाल निर्वासनमा आएका थिए। सन् १९९३ देखि करिब एक दशक भुटानको जेलमा थुनिएका राजबन्दी रिजाललाई नेपालमा ठूलो हलचल मच्चाइरहेको शरणार्थी प्रकरणसँग जोडेर गिरफ्तारी गरिएपछि कैयौँ शरणार्थीका अगुवा तथा अधिकारकर्मीहरूले आश्चर्य प्रकट गरिरहेका छन्।
अहिलेसम्म प्रहरीले रिजाल यो प्रकरणमा कसरी जोडिए भन्नेबारे औपचारिक रूपमा केही पनि बताएको छैन। तर सञ्चारमाध्यमहरूमा आएका विवरणमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गर्न प्रत्यक्ष रूपमा संलग्न रहेको भनिएका व्यक्तिको बयान र लेनदेनका टिपोटका आधारमा "अनुसन्धानका लागि पक्राउ" गरिएको बताइएको छ।
अहिले पूर्वी नेपालका दुईवटा शरणार्थी शिविरमा झन्डै ६,५०० भुटानी शरणार्थी छन्। द नेदरल्यान्ड्सको हेगमा बसेर शरणार्थी अधिकारको पक्षमा पैरवी गर्दै आएका अधिकारवादी राम कार्कीले रिजालको गिरफ्तारीले दुःख लागेको बताए। उनले भने, “उहाँ एक जना सर्वमान्य, संसार चिनेको नेता हुनुहुन्छ। यत्रो काण्डमा मुछिएको आशङ्कासहित पक्राउ पर्नु दुर्भाग्य हो।” नेपाल सरकारले दोषीलाई "खुट्टा नकमाई कारबाही गर्नुपर्ने" भन्दै उनले "कुनै पनि निहुँमा निर्दोषलाई कारबाही गर्न नमिल्ने" बताए।
एक भुटानी नेताले सम्पूर्ण प्रकरणको सत्यतथ्य बाहिर ल्याइनुपर्ने भन्दै निष्पक्ष अनुसन्धानमा जोड दिएका छन्। भुटान पीपल्स पार्टीका अध्यक्ष बलराम पौडेल भन्छन्, “उहाँको नाम मुछिनु बडा दुःखद हो। दोषै मात्र लगाएको हो भने निष्पक्ष छानबिन हुनुपर्छ। साँच्चिकै दोषी देखिएको अवस्था हो भने कानुनअनुसार सजाय भोग्नुपर्छ।”
टेकनाथ रिजाल कुनै बेला भुटानको न्याश्नल एसेम्बलीका सदस्य थिए। शरणार्थीका रूपमा आइसकेपछि नेपालबाट गिरफ्तार गरेर उनलाई भुटान पुर्याइएको थियो। त्यहाँ आफूले झन्डै एक दशक कठोर यातनासहित जेल जीवन बिताएको आफ्नो पुस्तकमा स्मरण गरेका छन्।
रिहा भएर फेरि नेपाल आएपछि उनलाई जीवन निर्वाहका नेपाल सरकारले मासिक सुविधा उपलब्ध गराउँदै आएको छ। रिजालसहित कैयौँ भुटानी शरणार्थी नेताहरूले स्वदेश फिर्तीको लागि अभियान चलाएका थिए।
तर नेपाल र भुटानबीच १५ चरणसम्म भएका वार्ताले कुनै परिणाम नदिएपछि सन् २००७ मा अन्तर्राष्ट्रिय समुदायको साथ लिएर नेपालले अघि बढाएको तेस्रो देश पुनर्वास कार्यक्रम अन्तर्गत १,१३,००० भुटानी शरणार्थी अमेरिकासहित आठवटा देशमा गएका छन्।
भुटान पीपल्स पार्टीका अध्यक्ष बलराम पौडेल नक्कली शरणार्थी प्रकरणमा शरणार्थी नेता पक्राउ पर्दा आफूहरूले उठाएको मुद्दालाई कमजोर हुन्छ कि भन्ने चिन्तामा छन्। "भुटानले 'नेपालका गरिब अनि भारतबाट धपाइएका वा अलपत्र भएर गएका मानिसहरू शिविरमा बसेका हुन्' भन्दै आएको थियो। हाम्रा मान्छे होइनन् भन्ने जुन आरोप लगाएको थियो अहिलेको परिस्थितिले भुटानलाई झन् सजिलो भयो।”
भुटानी शरणार्थी मामिलामा विद्यावारिधि गरेका सेन्टर फर साउथ एशिअन स्टडीजका निर्देशक निश्चलनाथ पाण्डे यो प्रकरणले भुटानी शरणार्थी प्रकरणबारे थिम्पूले राख्दै आएको धारणालाई बल पुर्याएको भन्दै सरकार सचेत हुनुपर्ने बताए। “पछिल्ला गिरफ्तारीले अन्तर्राष्ट्रिय क्षेत्रमा भुटानले भन्दै आएको कुरालाई प्रमाणित गर्छ। भुटानले सधैँ केही शरणार्थी अपराधी छन् भन्ने गरेकोमा नेपालले कडा प्रतिवाद गर्ने गरेको थियो," उनले भने। "अब यो प्रकरणलाई देशभित्र र विदेशमा पत्यारिलो हुनेगरी सम्बोधन गर्नुपर्छ।"
पुनर्वास कार्यक्रमअघि झापा र मोरङका सातवटा शिविरमा भुटानी शरणार्थीहरू बस्ने गरेका थिए र उनीहरूलाई दातृनिकायहरूले शिक्षा, खाद्यान्न लगायतका क्षेत्रमा सहयोग उपलब्ध गराएका थिए। तर दशौँ हजारले पुनर्वासको विकल्प रोजेपछि बाँकी भएका शरणार्थीहरू अहिले बेलडाँगी र शनिश्चरेमा बस्दै आएका छन्।
बेलडाँगी शिविरका सचिव टेकबहादुर राईले बीबीसीसँग टेलिफोनमा भने, “हाम्रो नाम नै जोडिएर यो प्रकरण आउँदा हामीलाई दुःख र पीडा दुवै भएको छ। तर दुई नम्बरीलाई जति जलप लगाए पनि त्यो एक नम्बरी हुँदैन। हामीसँग सबै दस्तावेज र प्रमाण छ, त्यही भएर हामी एकदमै धेरै चिन्तित छैनौँ।”
आफू सात महिनाको हुँदा भुटानबाट नेपाल आएको स्मरण गर्दै उनले शरणार्थीका नेताहरूसँग "सम्पर्क र चिनजान खासै नभएको" बताए। “अहिले पुनर्वास हुन पाए हुन्थ्यो, भुटान जान पाए हुन्थ्यो र नेपालमै बस्न पाए हुन्थ्यो भन्ने तीनै खालका सोच राख्ने मानिसहरू शिविरमा छन्।" पहिला शिविरहरूमा खाद्यान्न लगायत सम्पूर्ण सहयोग आउँथ्यो तर अहिले केही नहुँदा मानिसहरू बरु त्यतै भए पनि जानुपर्ने रहेछ भन्ने कुरा गर्छन्,” उनले भने।
विगतमा कतिपय दातृनिकायले पुनर्वासपछि बाँकी रहेका भुटानी शरणार्थीहरूलाई नेपालमा नै स्थायी बसोबासको व्यवस्था मिलाउन सुझावहरू दिएका विवरण आउने गरेका भए पनि त्यसबारे सरकारले कुनै औपचारिक निर्णय लिइसकेको छैन।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने विषय चर्चामा आएपछि संयुक्त राष्ट्रसङ्घले त्यसबारे गहिरो चासो व्यक्त गरेको थियो। उक्त प्रकरणमा अहिलेसम्म संयुक्त राज्य अमेरिकाले केही प्रतिक्रिया दिएको छैन। तर अमेरिकामा पुनर्वास गरिएका भुटानी शरणार्थीहरूले यो विषयलाई आफूले नजिकबाट नियालिरहेको जनाएका छन्। पुनर्वास कार्यक्रमअन्तर्गत नेपालबाट अमेरिकाको ओहायो पुगेका भुटानी हरि सुवेदी नेपाल सरकारले निष्पक्ष ढङ्गले अनुसन्धान गर्ला भन्ने कुरामा विश्वस्त हुन सकेका छैनन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा अमेरिकी सरकारले पनि छानबिन अघि बढाउनुपर्ने भन्दै आफूहरूले त्यसबारे लिखित रूपमा नै अमेरिकी सरकारलाई ध्यानाकर्षण गराउनेबारे सोचिरहेको उनले बताए। अमेरिकामा पुनर्वास गरिएका झन्डै एक लाख भुटानी शरणार्थीमध्ये करिब ३०,००० जना ग्रेटर कोलम्बस क्षेत्रमा बसोबास गर्दै आएका छन्। रिजाललाई प्रहरीले नियन्त्रणमा लिनु केही घण्टाअघि प्रधानमन्त्री प्रचण्डले नेपालको संसद्मा उक्त गम्भीर अपराधका दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए।
उक्त प्रकरणको अनुसन्धान गरिरहेका काठमाण्डू प्रहरी परिसरका प्रमुख दानबहादुर कार्कीले सरकारी वकिललाई प्रतिवेदन बुझाउने अन्तिम तयारी गरिरहेको बीबीसीलाई बताएका छन्। उक्त प्रकरणअन्तर्गत अहिलेसम्म भूतपूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित उच्चपदस्थ अधिकारीहरू प्रहरी नियन्त्रणमा छन्।
(बीबीसी नेपाली सेवाका लागि फणिन्द्र दाहालले तयार पारेको सामग्री साभार)
प्रतिक्रिया