ताजा अपडेट »

नक्कली भुटानी शरणार्थीलाई कारबाहीको माग गर्दै नेकपा एसले रुपन्देहीमा गर्यो विरोध प्रदर्शन

विहीबार, ०४ जेठ २०८०

रुपन्देही । नक्कली भुटानी शरणार्थी प्रकरण मानव तस्कर भएको भन्दै नेकपा एकिकृत समाजवादी रुपन्देहीले कारवाहीको माग गर्दै प्रदर्शन तथा कोणसभा गरेको छ । नेकपा (एकीकृत समाजवादी), रूपन्देहीको मोर्चा संगठनले संयुक्त रुपमा विहिबार भैरहवामा विरोध तथा कोण सभा गरेको हो ।

शरणार्थी प्रकरणमा जोडिएका सबैलाई कडाभन्दा कडा कारबाही गर्न र दोषीलाई उन्मुक्ती नदिनसमेत सरकारसँग माग गरेको छ । विरोध प्रदर्शन तथा कोणसभामा पार्टीका केन्द्रीय अनुशासन आयोगका सदस्य एंव संविधानसभा सदस्य आदित्यनारायण कसौधन, पार्टी केन्द्रिय कमिटी सदस्य तथा अखिल नेपाल महिला संघ लुम्बिनी प्रदेश संयोजक उमा काफ्ले, केन्द्रीय सदस्य एंव लुम्बिनी प्रदेशसभा सदस्य भगवती घिमिरे, अर्का केन्द्रीय सदस्य कल्पना माण्डव्य, केन्द्रीय सदस्य बाबुलाल यादवले यो काण्डले सिङ्गो देशलाई विश्वसामु शिर झुकाउनुपर्ने बनाएको बताएका थिए ।

कोण सभामा समाजवादीका जिल्ला कमिटी अध्यक्ष अविराम विश्वकर्माले मुलुककै लज्जा हुने गरी माथिल्लो तहका नेता र कर्मचारीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने काम गरेको बताए । उनले मुलुकमा भएका सबै किसिमका भ्रष्टाचारका काण्डहरुको सरकारले अनुसन्धान गरी संलग्नलाई कारबाही गर्नुपर्ने माग गरे । विरोध सभालाई समर्थन गर्दै वरिष्ठ साहित्यकार बुँद रानाले संगठनलाई नभएर संगठनले उठाएको मुद्दालाई समर्थन गरको बताए । गृह मन्त्रालय जस्तो महत्वपूर्ण निकाय मानव तस्कर जस्तो जघन्य अपराधमा मुछिनु निन्दनीय भएको उनले बताए । उनले राष्ट्रियताका सवालमा देशका आम जनमानसलाई सडकमा उत्रिन आह्वान गरे ।

लोकतान्त्रिक मधेसी संगठन लुम्बिनी प्रदेश अध्यक्ष श्रीराम यादवले नेपाली नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने जस्तो जघन्य अपराध गरेका अपराधि फुत्कन सक्ने डर भएको बताउँदै सरकारलाई नडगमगाई कारवाहीमा उत्रिन आग्रह गरे । युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष कृष्ण थापाले भुटानी शरणार्थी काण्डमा संलग्न भएका व्यक्तिहरुको सम्पत्ति छानविन गरी राष्ट्रियकरणगर्नु पर्ने माग गरे ।

विरोध प्रदर्शन तथा कोणसभामा नेपाल दलित मुक्ति संगठनका केन्द्रीय सदस्य डोलेन्द्र गहतराज, पार्टीका प्रदेश सदस्य हिराध्वज शाह, कमल भण्डारी, थानेश्वर भट्टराई, गणेश कंडेल, अनेरास्ववियूका केन्द्रीय सचिव शंकर घर्ती, रुपन्देही अध्यक्ष छवि भट्टराई लगायतको उपस्थिती रहेको थियो ।कार्यक्रममा सहभागी समाजवादीका नेताकार्यकर्ताले देश र जनताका अहितमा भएका सबै किसिमका गतिविधिविरुद्ध संगठनले आवाज उठाउने र कारबाहीको दायरामा ल्याउन पहल गर्ने बताएका थिए ।