ताजा अपडेट »

जन्म दिनको अवसरमा पत्रकार घिमिरेद्वारा अक्षयकोष स्थापना

विहीबार, ०४ जेठ २०८०


सैनामैना । नेपाल पत्रकार महासंघ रूपन्देहिका कार्यसमिति सदस्य तथा साझा टेलिभिजन एच डिका स्टेसन म्यानेजर नवीन घिमिरेले जन्मदिनको अवसरमा पशुपति मावि सालझण्डी रुपन्देहीमा अक्षयकोष स्थापना गरेका छन् । ४१ औं वसन्त प्रवेश गरेको अवसरमा पत्रकार घिमिरेले स्वर्गीय वुवा कान्तुराम घिमिरेको सम्झना र आमा टोपकला घिमिरेको सम्मानमा ५० हजार राशीको कान्तुराम टोपकला अक्षयकोष स्थापना गरेका हुन।

अक्षयकोषको ब्याजबाट आउने रकमले विभिन्न कालखण्डमा अभिभावक गुमाएका बालबालिकाहरूलाई छात्रबृत्ति प्रदान गरिने भएको हो । घिमिरेले प्रत्येक वर्ष बुवाको पुण्यतिथि र आफ्नो जन्मदिनमा अक्षयकोषमा रकम थप गर्दै जाने प्रतिवद्धता समेत जनाए । कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरेले पत्रकार घिमिरे र उनको परिवारको सकृयतामा स्थापना गरिएको अक्षयकोषले अभिभावक नभएकै कारण पढाइको अवसरबाट बञ्चित भैरहेका बालबालिकालाई शिक्षामा जोड्न महत्वपूर्ण सहयोग पुग्ने बताए । उनले अक्षयकोष स्थापनाले समाजमा राम्रो काम गर्न चाहनेहरुलाई पनि प्रेरणा प्राप्त हुने विश्वास ब्यक्त गरे ।

त्यसैगरी पशुपति माविका प्रधानाध्यापक हरि थापाले पत्रकार घिमिरे परिवारले स्थापना गरेको अक्षयकोषबाट विद्यालयमा अध्ययन गर्दै गरेका धेरै विद्यार्थीलाई सहयोग पुग्ने विश्वास ब्यक्त गरे । उनले यो अक्षयकोष अभिभावक गुमाएका बालबालिकालाई ध्यानमा राखेर उनीहरुको शिक्षामा सहयोग पुगोस भन्ने उद्देश्यले स्थापना गरिएकोले अरु अक्षयकोष भन्दा पृथक हुने विश्वास ब्यक्त गरे । अक्षयकोष घोषणा कार्यक्रम पशुपति माध्यमिक विद्यालयका अध्यक्ष भागिरथी घिमिरेको अध्यक्षतामा भएको थियो ।