सिरहा । सिरहाको मिर्चैया नगरपालिकास्थित विशेष नापी कार्यालय कार्यालय सहयोगीको भरमा चलिरहेको छ । कार्यालय प्रमुखसहित प्रशासनिक काम गर्ने कर्मचारी नहुँदा कार्यालय सहयोगीको भरमा सञ्चालन भएको पाइएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण किता नापी महाशाखा विशेष नापी कार्यालय मिर्चैयामा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन् । यस कार्यालय मातहतमा करिब तीन दर्जन प्राविधिक कर्मचारीहरु कार्यरत रहे पनि कार्यालय भने सहयोगीको भरमा चलेको छ । जनगुनासोपश्चात संचारकर्मीहरु कार्यालयमा पुग्दा दुईजना कार्यालय सहयोगी र एकजना सवारी चालक मात्र भेटिए । त्यहाँ भेटिएका कार्यालय सहयहोगीहरुलाई कार्यालय प्रमुख कहाँ हुनुहुन्छ? भनी सोध्दा उनीहरुले फिल्डमा गएको जवाफ दिए ।
सञ्चारकर्मी पुग्दा कार्यालय सञ्चालन गर्न भाडामा लिएका जम्मा ११ वटा कोठामध्ये दर्ता चलानी गर्ने कोठा मात्र खुला थियो । कार्यालय प्रमुख बस्ने कोठा, प्रशासन, भण्डारण कक्ष, नापी अधिकृत लगायतका कोठाहरु महिनौँदेखि ताला लगाएर राखेको देखियो। कार्यालय प्रमुखको कक्षको ढोकामा कयौं दिनदेखि नखुलेको जस्तो र पानीको जार राखिएको अवस्थामा भेटिए ।
यसबारे बुझ्न कार्यालय प्रमुख दिलीप कुमार सिंहलाई फोन गरी कार्यालयमा आएको छु, भेटौं न भन्दा उनले ‘म अहिले अन्य कामले बाहिर आएको छु तत्काल भेट्न सकिन्न पछि भेटौला’ भन्ने जवाफ दिए । साथै उनले थप भने, ‘म अहिले अन्य कामको टेन्सनमा छु, दुई हप्ता अझै तपाइँहरुसँग भेट्न सकिन्न, कार्यालय पनि आउँदिनँ ।’
यस कार्यालय मातहतमा रहेर नरहा गाउँपालिका , मिर्चैया, कर्जन्हा, कल्याणपुर, सिरहा नगरपालिकाहरुमा नापजाँचको काम चलिरहेको छ । नाप जाँजको क्रममा कार्यालयमा सेवाग्राहीहरु भेट्न आउँदा कहिल्यै कर्मचारी फेला पर्दैनन्।
आइतबारका दिन मध्यान्न तराईको तातो घाममा नरहा गाउँपालिका ४ का ६१ वर्षिय वैजनाथ यादव विशेष नापीले आफ्नो नम्बरी जमिन नापेको विषयमा बुझ्न गएका थिए । तर, उनी कर्मचारी नभएका कारण आफ्नो समस्या सुनाउन नपाई फर्किए । उनी यसअघि नापी कार्यालय सिरहा गएका थिए । सिरहामा विशेष नापीले नापेको हो, मिर्चैया जानुस् भनेर पठाएपछि मिर्चैया विशेष नापीमा त आए तर, उनी कर्मचारी नभेटेरै फर्किनु पर्यो ।
यादव मात्र हैन यहाँ आउने हरेक सेवाग्राही सम्बन्धित् कर्मचारी नभएकै कारण निराश भएर फर्किनुपर्ने बाध्यता छ । कार्यालयमा कर्मचारी नभेट्दा उनीहरु कहिले सिरहा त कहिले यसै कार्यालयको मातहतमा रहेको विभिन्न टोलीमा भौतारिने गरेको सुनाउँछन् ।
प्रतिक्रिया