ताजा अपडेट »

भैरहवामा काेशेलीले ल्याएकाे परिवर्तन

विहीबार, ०४ जेठ २०८०

बुटवल । सिद्धार्थनगर नगरपालिका वाड नम्बर ३ कि ३९ वर्षिय अनिता सारूलाई केही समय अगाडि आफूले बनाएको अचार कहाँ बेच्ने भन्ने चिन्ताले पिरोल्थ्यो । गत वर्षको जेष्ठ महिनामा सिद्धार्थनगर नगरपालिकाबाट अचार बनाउने तालिम लिएकी उनले तालिमलाई व्यहारमा उतार्न चाहान्थिन् । अनिता आफूले उत्पादन गरेका सामग्री बजारमा बेच्न चाहान्थिन् ।

‘तालिम सकेर करिब डेढ महिनासम्म खाली बस्यौँ । त्यसपछि बनाएका सामान घर वरपर अलिअलि बेच्यौँ । अहिले त व्यवस्थितरूपमा बेच्न पाएका छौँ । ’अनिता बताउँछिन् । जबदेखि कोशेली घर सञ्चालनमा आयो, तबदेखि अनिताको चिन्ता हरायो । अहिले सिद्धार्थनगर नगरपालिका (५ मा रहेको कोशेली घरबाट अनिताले उत्पादन गरेका सामग्री बिक्रीवितरण भैरहेको छ ।अनितासँगै सोहि ठाउँ बसोबास गर्ने ३० वर्षिय धनु रानाले पनि सोहि कोशेली घरबाट आफूले उत्पादन गरेका सामग्री बिक्रीवितरण गरिरहेकी छन् । उनी भन्छिन् ‘पहिले उत्पादन गरेका सामग्री बेच्न गाह्रो थियो । आफ्नै घरबाट अलिअलि बेच्थ्यौँ । तर अहिले त धेरै नै सहज भएको छ ।’

अनिता र धनु मात्रै होइन ४२ वर्षिय कमला दलामी पनि सोहि कोशेली घरमा रमाएकी छन् । आफूले नै बनाएको अचारसँगै जुत्ता चप्पलहरू उनले सोही कोशेली घरबाटै बिक्रीवितरण गरिरहेकी छन् । bकमला , अनिता र धनुजस्तै १४ जना महिला दिदीबहिनी मिलेर कोशेली घरबाट सामुहिकरूपमा व्यवसाय सञ्चालन गरिरहेका छन् । सृजनशील महिला लघु उद्यमी समूह नामको सामुहिक व्यवसाय उनीहरूले गरेका हुन् । हाल सो समूहबाट जुत्ता चप्पल र अचार बिक्रीवितरण भैरहेको कमलाले बताइन् । आफैले बनाएका विभिन्न प्रकारका अचार , मखमल र ढाकाका ककसुज , स्याण्डलहरू उनीहरूले काशेली घरबाट बेच्ने गरेका छन् । सोही कोशेली घरबाट आस्था महिला समूहले पनि सामूहिकरूपमा व्यवसाय सञ्चालन गरेका छन् ।

तर पछिल्लो समय आस्था समूहले केही महिना अघिबाट व्यवसाय बन्द गरेको छ । यस कोशेली घरमा राखिएका साम्रगीहरु हामी आफै उत्पादन गरेका हौँ र अन्य स्थानभन्दा सस्तो र गुणस्तरीय पनि रहेका छन् ‘ हाम्रो कोशेली घरमा भैरहवा आसपासका ग्राहकहरू धेरै आउनुहुन्छ ।’ कमलाले भनिन् । स्थानीय उत्पादनहरुको बजारीकरणको सहजताका लागि नगरपालिकाले महिला समूहहरुलाई दुई वटा कोठा उपलब्ध गराएको छ । आगामी दिनमा उद्यमी महिलाको अवस्था हेरी सटरको संख्यामा वृद्धि गर्ने नगरले जनाएको छ ।

सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उद्यमशिलता विकास कार्यक्रम अन्तर्गत सो कोशेली घर सञ्चालनमा आएको उपप्रमुख उमा अधिकारीले बताइन् । नगरपालिकाको वडा नम्बर ५ कार्यालयको भवनमा सञ्चालित सो कोशेली घरको उपप्रमुख उमा अधिकारीद्वारा गत आश्विन १४ गते उद्घाटन गरेर शुभारम्भ गरिएको हो । नगरमा रहेका विभिन्न महिलाहरूले संयुक्त रुपमा उक्त कोशेली घर सञ्चालन गरेका छन् । कोशेली घरमा स्थानीय उत्पादनहरु आचार, चप्पल, स्याण्डल, पोते, माला, कपडा लगायतका साम्रगीहरु राखिएको छ ।

अधिकारीले आफू जनप्रतिनिधि नहुँदा नै हस्तकला उत्पादनपछि बिक्रीवितरणमा हुने गरेको समस्याबारे जानकार रहेकाले यस किसिमको समस्या पहिचान गरेको र हाल जनप्रतिनिधि भएपश्चात समस्याको समाधानतर्फ लागिरहेको बताइन् । ूसो कोशेली घरमा रहेर आफ्ना उत्पादन बिक्रीवितरण गरिरहेका दिदीबहिनीले सटर भाडा , बिजुलीको रकम तिर्नु पर्दैन । यसको नगरपालिकाले नै व्यवस्थापन गरेको छ । यदि अन्य दिदी बहिनीहरूले कहाँ बिक्रीवितरण गरूँ भन्ने चिन्तामा हुनुहुन्छ भने उहाँहरूको लागि नगर सधै सहयोग गर्न तत्पर छ । उपप्रमुख अधिकारीले भनिन् ।

आफूले उत्पादन गरेका सामग्रीको बिक्रीवितरण गर्न चाहेमा सो कोशेली घर उद्यमी महिलाका लागि सधै तयार रहेको उपप्रमुख अधिकारीको भनाइ छ । साथै आगामी दिनमा यसको क्षेत्र अझ बिस्तार गरिने र अझै धेरै महिला दिदीबहिनीलाई यसमा जोड्ने लक्ष्य रहेको अधिकारीले बताइन् । कोशेली घरले स्थानीय उत्पादनहरुको बजारीकरण, आर्थिक चलायमान , महिलाहरुमा उद्यमशिलताको विकास , नगरको पहिचान लगायतमा टेवा पुग्ने नगरपालिकाको विश्वास छ ।