ताजा अपडेट »

अनुत्तरित प्रश्न !

बुधबार, ०३ जेठ २०८०

उमेरले मभन्दा धेरै कान्छा छन् सागर न्यौपाने । पढाईले चिकित्सा विज्ञान । वर्तमानमा डाक्टरी पेसा गर्दै आएका छन् । उनको र मेरो चिनजान भएको पनि चार वर्षजति भयो तर घनिष्टतालाई हेर्दा वर्षौजस्तै लाग्छ । डा.सागरका बाबा हुन् जीवराज आश्रित । उनी राजनीतिज्ञ थिए । उनको दासढुंगामा मदन भण्डारीसँग रहस्यमयी तरिकाले मृत्यु भएको थियो । त्यतिबेला सागर सानै थिए । सागरसँगको सामीप्यताले जीवराज आश्रितलाई नजिकबाट बुझ्ने अवसर प्राप्त हुँदैछ । जेठ ३ गते उनको भौतिक शरीर अन्त्य भएको ३० वर्ष पुग्दैछ । उनीसँग सम्वद्ध पार्टी र संघसंस्थाहरुले ३०औं स्मृति दिवस मनाउँदैछन् । बरु सो दिवसमा उनका गतिला कामका चर्चा गरी आमशोषित पीडितहरुका जीवनमा उनको जीवनदर्शन कसरी लागू गर्न सकिन्छ भनेर घोत्लिनु पहिलो कर्तव्य हुन सक्छ ।

डा.सागरले आफ्ना बाबालाई धेरै नजिकबाट सानैमा बुझ्ने कम अवसर प्राप्त गरे होलान् भन्ने कुरा अनुमान गर्ने कुरै होइन । पछिल्लो समय सागरले आफ्ना बाबाका इतिहास,राजनीतिक जीवन,जीवन पद्धति र उनका समकक्षीहरुसँग आफ्ना बाबालाई खोेजिरहेका छन् । त्यतिमात्र होइन आफ्ना बाबालाई नेपालको राजनीतिक माटोमा सुँघिरहेका छन् । चाइनामा चिकित्सा विज्ञान पढेका उनले चाइनाको राजनीति,अर्थ–व्यवस्था र सामाजिक एवम् सांस्कृतिक जीवन विज्ञान समेत पढेका रहेछन् भन्ने कुरा उनका तर्कशैली,छलफलमा सहभागिता र दिने निचोडले बुझ्न सहज हुने गरेको छ । सागरसँगको सहकार्य मेरोे प्रलेस,नेपाल रुपन्देहीकै कारणले भएको भन्दापनि हुन्छ ।

सागरसँग हिड्दा,डुल्दा र गफिदा जीवराज आश्रितलाई नजिकबाट बुझ्ने अवसर मिलेको छ । प्रलेस,नेपाल,रुपन्देहीका पूर्वअध्यक्ष देवेन्द्र घिमिरे दाइसँगको साहित्यिक यात्रामा रहँदा जीवराजलाई बुझ्ने जान्ने अवसर प्राप्त नभएको भने होइन । ३० औं स्मृति दिवसमा आश्रितको चिठी: देवेन्द्र घिमिरेलाई पत्रसाहित्य प्रकाशन हुँदैछ । देवेन्द्र घिमिरेले संकलन गरेका पञ्चायतकालीन पत्रहरु पक्कै पनि मूल्यवान छन् भन्ने हामीले अनुमान लगाउन सकिन्छ ।

गुल्मीको चन्द्रकोट हरेवा रिठाकारुखमा जन्मिएका जीवराजलाई राजनीतिक रुपमा दार्शनिकभन्दा पनि संगठकका रुपमा बुझ्ने गरेको पाइन्छ । जीवनमा राजनीतिक यात्रा त्योे पनि कठोर यात्रा गरेका जीवनराजको जीवन हत्केलामा थियो । हत्केलाको जस्केलाबाट चिप्लिएर गयो । उनको मृत्यु सामान्य रहेन । लाखौंका संख्याले आर्यघाटमा अन्तिम बिदाई गर्दाको क्षण समर्थनका लागि काफी हुन्छ होला उनको मृत्युका निम्ति ।
उनी सम्बद्ध पार्टी र तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको सरकारले मदन भण्डारी र जीवराजको भिसेरा चेक गर्न पठाएको समाचार पढिएकै हो । उनीहरुको मृत्युको रहस्य आजसम्म पनि किन खुल्न सकेको छैन ? किन प्रश्न प्रश्नमै सीमित छ ? कोही किन बोल्दैनन् ? स्मृति दिवसमा भजन गाइन्छमात्र । किन उत्तरको खोजी हुँदैन ? रहस्यको पर्दा खोल्न किन दबाब दिइदैन ?

जीवराजलाई चिन्न सजिलो छ,उनका बारेमा तयार पारिएको स्मृति ग्रन्थ पढे भइ हाल्छ भन्नेहरुको कमी छैन । उनको जीवनको भोगाई,जीवन दर्शन र त्यसको सामाजिक आर्थिक एवम् सांस्कृतिक प्रभावका बारेमा बुझ्नु त्यति सहज भने छैन भन्छन्-नेकपा एमालेका लुम्बिनी प्र्रदेशका अध्यक्ष राधाकृष्ण कँडेल ।

उनका बारेमा स्मारिकाहरु प्रकाशन भइरहेका छन् । नियमित बैठक,भेला,गोष्ठी र जीवराजका सन्दर्भमा विचार विमर्शलाई अघि सारिएको अवस्था छ । उनका नाममा विभिन्न प्रतिष्ठान,फाउण्डेसन बनाइएका छन् । तर तिनीहरु कति प्रभावकारी वा कर्मकाण्डी छन् भन्ने कुराको लेखाजोखा यस्तै स्मृति दिवसमा घनिभूतरुपले विश्लेषण गर्नु जरुरी देखिन्छ । डा.सागरका बाबामात्र होइनन् जीवराज आश्रित । उनी शोषित पीडित र निमुखाका पिता हुन् भनेर सझिरहने छु मैले ।