रमाएर पढ्नु अनि पढेर रमाउनु । पढेलेखेका कुरा बुझ्नु, बुझाउनु र व्यवहारमा उतार्नु । शिक्षाको स्वरुप, प्रारुप र सार्थक उपलब्धिलाई जीवनोपयोगी ठान्नु । मुलतः शिक्षा आर्जनको उपादेयता यही हो र हुनुपर्छ। शिक्षा आर्जन बोझिलो, झन्जटिलो र भद्दा हुनु हुँदैन । आधुनिक शिक्षाको होडबाजी चलिरहेको शैक्षिक जगत् यतिबेला सुर न तालको बेढङ्गी प्रतीत हुन्छ ।
आजकल विद्यार्थीहरू खाजा, पानी र कापी किताबले भरिएको ठूलो, गह्रौँ झोलाको भारी बोकेर विद्यालय जान विवश छन् । उमेर, अवस्था र शारीरिक अपरिपक्कताको हिसाबले एक प्रकारको मार खेपिरहेका, भार सहिरहेका विद्यार्थीहरू हेर्दा लाग्छ उनीहरू विद्यालय पढ्न होइन यातना भोग्न गइरहेका छन् । खुशीले पढ्न होइन बाध्यताले कुनै युद्ध भिड्न निस्केको योद्धाजस्तै अटस मटस र कुप्री पर्दै त्यसमाथि पनि दगुर्ने प्रयास गर्दै विद्यालयको गेटभित्र छिर्नु उनीहरुको दैनिकी बन्दो छ।
घरबाट निस्कने बेलामा बाबु–नानी, राम्रोसँग पढ्नु है ! भन्ने अभिभावकको आदेशात्मक अर्तिको पालना गरेर टाउको हल्लाउँदै विद्यालय जानु पनि बालबबालिकाको दैनिकी बनेको छ। एउटै कक्षाकोठामा फरक-फरक सिकाई क्षमता, विविध चारित्रिक विशेषता र भिन्न स्वभाव भएका विद्यार्थीहरू समायोजित भएर पढ्नुपर्ने हुन्छ । कोही पढाएको झ्याप्पै बुझ्छन्, कोही दोहोर्याएपछि बुझ्छन् भने कसैलाई पढ्न मन लाग्छ कसैलाई लाग्दैन । बुझे पो पढ्ने बुझ्दै नबुझी कसरी पढ्ने भन्ने अन्यौलता पनि हुन्छ । नजान्दा लाज र सङ्कोच पनि उस्तै रहन्छ । यो विद्यार्थीको बौद्धिक क्षमतामा भर पर्छ ।
शिक्षकको काम पढाउने, कक्षाकार्य र गृहकार्य दिने अनि कोर्स पनि समयमा नै सक्नुपर्ने हुन्छ । विद्यार्थीको उमेर क्षमताभन्दा पनि धेरै विषयवस्तु समेटिएका मोटा-मोटा किताबको छेउ र टुप्पो विद्यार्थीले मेसो नै पाउँदैनन् । रोजेर पढाउनुपर्छ शिक्षकले । पेज नम्बर र टिक लगाइदिएको भरमा केटाकेटीले गृहकार्य, कक्षाकार्य गर्छ्न् । घरमा बाआमाको लागि र स्कुलमा शिक्षकका लागि जबर्जस्ती पढिदिनुपर्ने बाध्यात्मक परिस्थिति झेल्न बाध्य हुन्छन् विद्यार्थीहरू ।
सामान्य अर्थमा किताबमा रहेको पाठले के भन्न खोजेको हो भन्ने कुरा विद्यार्थीलाई थाहा नै हुँदैन । गृहकार्य र कक्षाकार्य सकेपछि एउटा ठूलो भारी बिसाएजस्तो हुन्छ अलिक पढ्न राम्रा विद्यार्थीलाई । पढाइमा सामान्य भएका विद्यार्थीहरूलाई त झन यो पढ्न भन्दा त ढुङ्गा कुट्ने काम बरू सजिलो जस्तो लाग्छ । अझै जसले जहाँ भेटे पनि पढाइ कस्तो छ ? भनेर सुरूमै गरिने प्रश्न रु झन घरमा पनि आमाबाबुले देख्यो कि पढ् भनेर भनिरहने, स्कुलमा पनि पढ्दैन भनेर शिक्षकसङ्ग गुनासो हुन्छ अभिभावकको । शिक्षकले पनि भन्नुपर्यो पढ भनेर । पढ्न मन त विद्यार्थीलाई पनि छ नि तर कसरी पढ्ने रु कहाँबाट सुरू गर्ने अन्योल कति-कति ?
अहिले हामी आधुनिक शिक्षा प्रणालीमा छौँ । पढ्ने विद्यार्थीको भन्दा अलिक पढाइमा कमजोर विद्यार्थीको कुरा गरौँ । लेख्न मन नलाग्ने, पढ्न मन नलाग्ने विद्यार्थी पनि नियमित विद्यालय त गइरहेको हुन्छ । सबै सरह कक्षामा नै हुन्छ । सुनिरहेको नै हुन्छ तर वर्षभरि गह्रौँ झोला बोकेर स्कुलमा गएको उपलब्धी के रु उसले सामान्य कुरा पनि जानेको हुँदैन । जस्तो कि नलेखे-नपढे पनि पाठले भन्न खोजेको कुरा के हो रु आफ्नो बोलीचालीकै भाषामा पनि कक्षामा सुनेकै भरमा पनि यो पाठले भन्न खोजेको कुरा यो हो भन्न त सक्नुपर्ने ।अहिलेको शिक्षाले त्यो बताउन सक्दैन ।
बरू शिक्षा त पहिलेकै राम्रो अक्षर चिन्न थालेपछि कथा, कविता, गीत कण्ठै पारिन्थ्यो । अङ्ग्रेजी पढ्न नजाने पनि पाठले भन्न खोजेको कुरा थाहा हुन्थ्यो । गणितमा र अङ्ग्रेजीमा केही समस्या परे पनि अरू विषयका पाठले भन्न खोजेको कुरा विद्यार्थीलाई थाहा हुन्थ्यो । नयाँ कक्षामा जानुभन्दा अघि रिजल्ट नआउँदै अब जाने कक्षाको किताब कस्तो होला भन्ने उत्सुकता हुन्थ्यो । चित्र हेरेकै भरमा किताबमा के लेखेको छ जानेर छोडिन्थ्यो । अझै आफ्नो मात्रै नभएर दाइ-दिदी लगायत अग्रजका किताबहरू पनि खोतलिन्थ्यो र पढ्ने उत्सुकता जाग्दथ्यो। कुन पाठ कसले लेखेको हो रु ती लेखक कस्ता थिए रु के-के लेखेका छ्न् ? कक्षामा सुनेकै भरमा खरर हुन्थ्यो । पाठले भन्न खोजेको भाव जस्तै नजान्नेले पनि भन्न सक्थ्यो सुनेकै भरमा । पढ्ने रहर उर्लेर आउँथ्यो मनमा ।
पढाइमा ध्यान हुने विद्यार्थीहरू पढ्थे । सामान्य विद्यार्थीहरू पनि त्यति हतोत्साहित देखिदैनथे । स्कुल जाने-आउने क्रममा कक्षामा सुनेकै भरमा उनीहरूले धेरै ज्ञान हासिल गारिसकेका हुन्थे । अझै भनौं गृहकार्य, कक्षाकार्य केही पनि नगर्ने मात्रै कक्षामा बसेर सुनेकै भरमा बसेका विद्यार्थीहरूले पनि चामत्कारिक रूपमा प्रगति गरेका थुप्रै उदाहरणहरू छ्न् । आमाबाबुको सपना र विद्यालयको इज्जत जोगाउनेको लागि लादिएको पाठ्यक्रम र अहिलेको शिक्षा प्रणाली सकस बनेको छ । किताबप्रति रुचि होइन वितृष्णा बढ्दै गइरहेको छ ।
सिकाइका चार सिपहरू छन् स् सुनाइ, बोलाइ, पढाइ, लेखाइ । यी चारै सिप हासिल गर्न चुस्तदुरुस्त शिक्षा प्रणाली हुनु जरूरी छ । विद्यार्थीसँग प्रत्यक्ष सरोकार नराख्ने कोरा पाठ्यक्रम र पाखण्डी सिकाइपद्धति अव्यवस्थित, अव्यवहारिक त छदैछन् यस्तो नीतिले शिक्षा अनुत्पादक पनि हुने खतरा रहन्छ। विद्यार्थीको सिकाइ क्षमता, बौद्धिकस्तर, उमेरको परिपक्कता र शैक्षिक वातावरणको सापेक्षतामा शिक्षा नीति, शैक्षिक पाठ्यक्रम र शिक्षणप्रक्रिया तथा प्रविधि तर्जुमा गरे मात्र समाज र राष्ट्रले खोजेको शैक्षिक उत्पादन प्राप्त गर्न सकिन्छ । देखासिकीमा जबर्जस्ती लादिएको ज्ञान जीवनोपयोगी होइन बरू अभिशाप सावित हुन सक्छ । आधुनिकताको नाममा दिइने बोझिलो शिक्षा विद्यार्थीको लागि रहर होइन कहर सावित भइरहेको छ । सम्बन्धित सरोकारवालाको गम्भीर ध्यानाकर्षण हुन जरूरी छ ।
प्रतिक्रिया