ताजा अपडेट »

भैरहवामा आंशिक रुपमा खाली गराईयो फुटपाथ, प्रभावशाली ब्यवसायीका अगाडि यथावत

मंगलबार, ०२ जेठ २०८०

भैरहवा । सिद्धार्थनगर नगर पालिकाको कार्यालयले ट्राफिक प्रहरीको सहयोगमा फुटपाथ खाली गराउन सुरु गरेको छ । मिलनचोक देखि बुद्ध चोक सम्म फुटपाथमा पार्क गरि राखिएको केही सवारी साधनलाई प्रहरीले कार्यवाही गरेको छ ।

सिद्धार्थ नगर नगर पालिकाको अनुसार ११ वटा मोटरसाईकल, ३ वटा साईकल, ३ वटा ठेला र ४ वटा कारलाई कार्यवाही गरिएको छ । मोटरसाईकल, ठेला र साईकल नगर प्रहरीले नगरपालिकाको कार्यालयमा लगेका छन । कारलाई सम्बन्धित स्थानमै व्हील लक गरि जरिवाना गरि छोडिएको थियो ।

नगर प्रहरी र ट्राफिक प्रहरीले बुद्धचोकबाट पश्चिम तर्फ फुटपाथ खाली गराए पनि बुद्धचोक देखि पूर्व तर्फ शुकदेव शालीक तर्फ आउने फुटपाथ भने त्यतिकै छोडेका छ । फुटपाथमा सबै भन्दा बढी मोटरसाईकल यही पार्क हुने गरेका छन् । प्रभावशाली ब्यवसायीहरुका सवारीहरु पार्किङ्ग हुने गरेको कारण नगर प्रहरी र ट्राफिक प्रहरीले यस तर्फ कार्यवाही गर्न नसकेको स्थानियमा चर्चाको बिषय रहेको छ ।

श्रोतका अनुसार नगरपालिका र ब्यवसायीहरुका बिच यो क्षेत्रमा फुटपाथमै पार्किङ्गको सम्झौता भएको छ । “सर्विस लेन खाली गराउन समयमा ब्यवसायीहरुलाई फुटपाथमै पार्किङ्ग गर्न दिने सहमति भएको छ ।” एक जना ब्यवसायीले भने ।

बुद्धचोक क्षेत्रमा फुटपाथमै गरिएको पार्किङ्गको कारण यस क्षेत्रमा हिड्डुल गर्ने पैदल यात्रुहरु सकसमा परेको समाचार ग्लोबल आवाजले प्रकाशन गरेको थियो । समाचार प्रकाशित भएपछि नगरपालिकाको कार्यालयले कार्यवाही सुरु गरेको हो ।