ताजा अपडेट »

रहर लाग्दो अम्रिसो खेती

शनिबार, २७ साउन २०८०

जल्पा । प्राकृतिक मनोरमसँगै डाँडैभरि हराभरा अम्रिसोकै वन । टुसाउने बेला चैत्र, बैसाख । मंसीर, पुषतिर लहलह फूल जस्तै देखिने । हेरिरहँदा आनन्द लाग्ने । आजभोलि सामाजिक सञ्जाल टीकटक, फेसबुक, अनलाइनहरुमा प्रचार व्यापक देखिन्छन् । समाचार पत्रहरुमा हेर्न र पढ्न सकिन्छ । त्यो स्थान हो पूर्वखोला गाउँपालिकाको जल्पा, ढोलीमारा ।

पाल्पाको सदरमुकाम तानसेनदेखि ३७ किलोमिटर दक्षिण–पूर्वमा जल्पा गाउँ पर्छ । जल्पाको बजारदेखि ३ किलोमिटर उचाइँमा यो ढोलीमारा गाउँदेखिमाथि लेखा पर्छ । यहाँको भाषामा लेखा भनेर लेक, घोर्लिभन्ज्याङ्ग र चुलीलाई बुझिन्छ । गौचरण, दाउरा काट्ने, घाँस काट्ने ठाउँ थियो । वर्षातमा अत्यधिक जुका लाग्ने गथ्र्यो । आजभोलि अम्रिसोको झाँडी सफाइ, डढेलो लगाइएको कारण जुका लाग्दैन । यो समुद्री सतहदेखि एक हजार सात सय मिटर उचाइँमा रहेको छ । जल्पाको ढोलीमारा, साठीकोल र मैदानमा अम्रिसो लगाइएको छ ।

गाउँमा कबुलियती वनको अवधारणामार्फत नाङ्गो र हैसियत बिग्रिएको वनमा रहेका झाँडी फँडानी गरि यसको शुरुवाती गरिएको थियो । जल्पा, ढोलीमारामा रहेको पर्यटकीय क्षेत्रको गहँना र पहिचान अम्रिसो खेती भएको छ । अहिले त जताततै अहा ! अम्रिसो भएको छ । तर यो अवस्थामा ल्याइपुराउनका लागि स्थानीयहरुको मिहिनेत, परिश्रम र योगदान कम्तिको छैन ।

डाँडाभरि नै पहिले काँडैकाँडा थियो । वनमाराको झाँडी उस्तै । घङारी वन (एक किसिमको काँडा) साउन, भदौ महिनातिर जङल नै रातो हुने गरि पाक्थ्यो । चुतारा, जुखुरेती काँडा(लहरे काँडा) राजु काँडा, कतै नाङ्गो डाँडा, कतै वनमाराले ढाकेका बुट्यान थिए । उजाड डाँडा । त्यस्तो ठाउँमा आम्दानीको यस्तो स्रोत होला भनेर कल्पना गर्न सकिन्थेन ।

सम्वत् २०६८ सालमा स्थानीय शयारी युवा क्लवका साथीहरु पाल्पा, निस्दीको काउलेडाँडा भ्रमणको लागि गएका थिए । त्यहाँ डाँडैभरि हरियाली अम्रिसोसँगै तेजपात, टिम्मुर देखेपछि आफ्नो ठाउँमा पनि यस्तै बनाउने सपना र कल्पना बुनेर फर्केका थिए । भ्रमण टोली फर्केपछि क्लबका अध्यक्ष पहलसिंह घर्ति र चित्र बहादुर कवँरको नेतृत्वमा गाउँमा छलफल, मिटिङ भयो । राम्रो कामको लागि सबैले साथ दिए । जङ्गलका झाँडी र काँडाहरु फँडानी शुरु गरे । शुरुमा ढोलीमाराका ६५ घरधूरी सहभागि भए । ०६९ देखि शुरु गरेको झाँडी सफाइ, थोरै थोरै बिरुवा, जग्गा बिस्तार गर्दै जाँदा ४÷५ वर्षसम्म त्यति आम्दानी लिने अवस्थामा रहेन ।

शुरुवाती समयमा गोड्मेल, झाँडीसफाइ मै समय गयो । १५÷२० हेक्टर गर्दै अहिले २८ हेक्टर क्षेत्रफल जम्मामा बिस्तार भएको ढोलीमारा कबुलियतयती वन समुहका अध्यक्ष पहलसिह घर्तिले बताए । अम्रिसो बोट ठूलो नहँुदासम्म घुसुवा बाली दालजन्य (गरुवास, सिल्टुङ, बेसार) लगाइएको थियो । यसबाट पनि धेरै, थोरै आम्दानी भए । अम्रिसोबाट थोरै, धेरै आम्दानी हुन थाल्यो । त्यतिबेला कहिले कुचो बुनेर, कहिले कच्चा कुचो २५ रुपियाँसम्म बेचेको अध्यक्ष घर्तिले बताए । ५० हजारदेखि ५ लाख रुपैयाँभन्दा बढिको बेच्न थालेका छन् । अहिले प्रति किलो कच्चा कुचोको मूल्य एक सय २५ रुपैयाँ परेको रहेछ । उत्पादित कुचो बुटवल, दाङ, नेपालगञ्ज लगायतका सहरमा व्यसायिक कम्पनीले खरिद गरि लैजादा रहेछन् ।

गाउँलेहरुले वनमा काम गर्न जाने दिनको आधारमा कम्तिमा ५ हजारदेखि १५ हजारसम्म प्रति ब्यक्ति वार्षिक रकम बुझ्दा रहेछन् । बेरोजगारका लागि रोजगारको अवसर, सामान्य घर खर्च चलाउने, नूनतेलको जोहो गर्ने माध्यम बनेको छ यतिबेला अम्रिसो खेती । कुचो निकाल्ने समयमा हरियोघाँस खोज्न अन्यत्र जङ्गल धाउनु पर्दैन । कृषकहरुले गाईबस्तुका लागि पोषिलो घाँस प्रयोग गर्न पाउँछन् । बहुवर्षे अम्रिसोले बहुआयामको अनुभूति गराएको छ ।

जङ्गल फडानी गर्दै हिड्दा, लागेको चोट, मर्काएका हातखुट्टा, हातमा उठेका फोरा (ठेला), एैंसेलु, जुखुरेती काँडा, चुत्रा, घाङारी काँडाले लछारेको, छेस्काले गोपेका घाउहरु, पसिनैपसिनासँगै थकित जिऊ लिएर हाँस्दै फर्केको त कहाँ बिर्सेका छन् र गाउँलेहरुले । यहाँको मिहिनेती समुदायले सामुहिक कामले नै परिवर्तन सम्भव छ भन्ने बुझेका छन् । श्रमको महत्व जानेका छन् । काम गर्न सजिलोको लागि ढोलीमारा कबुलियती वन समुह र बेनडाँडा कबुलियती समुह गठन गरेर अघि बढाइएको रहेछ ।

सरोकारवाला संघ–संस्थासँग समन्वय गर्ने क्रममा डिभिजन वन कार्यालय (हब अफिस पाल्पा), हालका डिभिजन वन अधिकृत नारायणदेव भट्टराई, रामचन्द्र चौधरी, दीपक ज्ञवाली, यमलाल पोख्रेल लगायतका कर्मचारीहरुको योगदान अतुलनीय छ । उक्त कार्यालयबाट दिन मिल्ने र सक्ने प्राविधिक सहयोग, हौसला, उत्प्रेरणा स्वरुप धेरै÷थोरै आर्थिक सहयोगप्रति सधैं कृतज्ञ छन् गाउँलेहरु । डिभिजन वन कार्यलयबाट प्रति बिरुवा ३ रुपैयाँ र दिनभरि काम गरेर नास्ता वापत् रु १०० प्रत्येक कृषकले पाउँदा खुसी छन् । गाउँलेहरुले आफ्नै काम सम्झेर निरन्तर सक्रिय भएका छन् ।

यहाँका किसानका सक्रियता, मिहिनेत र श्रमको मूल्याङ्कन गर्दै नेपाल सरकार वन तथा वातावरण मन्त्रालय भू–सरक्षण विभागले वन संरक्षण, सम्वर्द्धन, दिगो विकास र समुह सशक्तिकरणमा योगदान पुराएको भन्दै आर्थिक वर्ष ०७८÷०८९ मा ढोलीमारा कबुलियती वनलाई प्रथम पुरस्कार (नगद एक लाख र सम्मान–पत्र) ले सम्मान गरेको थियो ।

उक्त पुरस्कार प्राप्त गरेपछि गाउँलेहरु खुसी छन् । आफ्ना पुराना दिन बिर्सिएका छन् । अम्रिसोबाट प्राप्त धनलाई घरव्यवहारमा खर्चिएका छन् । अम्रिसोबाट जीवन धान्न सकिदोरहेछ भनेर सिकेका छन् । परिश्रम, पसिनाबाट नै पैसा कमाउन सकिदोरहेछ भनेर जानेका छन् ।