ताजा अपडेट »

तिलोत्तमाले महिला उद्यमीलाई करमा छुट दिए पछि खुशि

सोमबार, ०१ जेठ २०८०

बुटवल । तिलोत्तमा नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउनका लागि करमा ५० प्रतिशत छुट दिए पछि महिला उद्यमीहरु खुसी भएका छन् । नगरको यो निर्णयले लामो समयसम्म उद्यम गरिरहेका महिलाहरु खुसी हुनुका साथै नयाँ महिला उद्यमीहरु पनि थपिएका छन् ।
तिलोत्तमा ३ की केशरी तरामु मगरले बिगत ११ वर्षदेखि नालान्दा हेण्डिक्राफ्ट नामको ढाका उद्योग सञ्चालन गरिरहेकी छन् । पछिल्लो पाँच वर्ष यता उनले उद्योगलाई दर्ता गरि व्यवस्थित रूपमा सञ्चालन गरेकी हुन् ।

मिहिनेती अनि जाँगरिली उनी भन्छिन् – ‘आफूमा भएको सीपलाई खेर जान नदिन आफैंबाट शुरु गरेँ ।’ उनले थपिन् –‘हाम्रा पुर्खाहरुले आफै बुनेर लगाउथे हामीले पनि आफै बुनेर लगाऊँ भन्ने सोचले यो सुरू गरेँ।’ केशरीले विशेषगरी ढाकाका जातिय पोसाक घलेक, पटुकी, रुमाल, झोला, ढाकाको सल, पुर्वेली ढाकाका सलहरु, ढाकाका साडीहरु बनाउँछिन् । उनी उद्यमीसँगै समाजसेवी पनि हुन् । बिस्तारै उनले आफ्नो उत्पादनलाई बिक्रीवितरण गर्न थालेकी छन् । हाल उनी आफू मात्रै होइन काम गर्ने कर्मचारी समेत भर्ना गरेकी छन् । केशरीले जबदेखि तिलोत्तमा नगरपालिकाबाट करमा छुट पाइन् तबदेखि धेरै राहत भएको बताइन्।

त्यस्तै तिलोत्तमा १ कि अर्की उद्यमी पार्वती गिरीले आफ्नै घरमा विभिन्न प्रकारका अचार बनाएर बिक्रीवितरण गरिरहेकी छन् । पार्वतीले लकासी अचार उद्योगबाट सिजनअनुसारका विभिन्न अचारहरू जस्तै आँप, गाजर, कागती, लसुन खुर्सानी अदुवाजस्ता फलफूल र तरकारी प्रयोग गरी घरमा आफैले अचार बनाएर लेभल लगाई प्याकिङ गरेरै व्यवस्थित तरिकाले बिक्रीवितरण गर्ने गरेकी छन् । पार्वतीले भनिन् – ‘बिगत ५ वर्ष यता व्यवसाय दर्ता गरेँ । पहिल २ हजार ५ सय रकम तिरर्थे । अहिले गरपािलकाले महिला उद्यमीका लागि करमा छुट गर्याे अहिले ४ सय तिरे पुग्छ । यसले मजस्ता उद्यमी महिलाको लागि धरै नै राहत भएको छ।’

केशरी र पार्वती यी दुबै जना त केवल उदाहरण मात्र हुन् । करमा महिलाका लागि छुट दिँदा महिलाको संख्यामा केही वृद्धि भएको छ भने उद्यमी महिलाको लागि धेरै राहत भएको महिलाहरूले महसुश गरेका छन् । यता तिलोत्तमा १ मा विगत ४ वर्षदेखि पुनः प्रयोग गर्न मिल्ने (वासेबल) प्याड बनाउँदै आएकी अन्जुले भने यो ५० प्रतिशत कर आफूलाई थाहा नभएको बताइन् । उनले भनिन् ‘अब भने मैले यो सुविधा लिनेछु ।’ अन्जुले अन्जु रि– युजेवल प्याड नामको उद्योग सञ्चालन गरेकी छन् । नगरको वाड नम्बर १ काअध्यक्ष फर्सुराम गिरीले वाडबाट वार्षिक २/३ जनाको दरले उद्यमी महिला बढेको बताए । उनी भन्छन् – ‘तर यो संख्या त्यति पर्याप्त भने होइन। सन्तोष मान्ने अवस्था छैन् । आगामी दिनमा यो संख्या बढ्न जरूरी छ ।’

नगरले आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन र आत्मनिर्भर बनाउन लागि विभिन्न समयमा विभिन्न सीपमूलक तालिम प्रदान गरिरहेको छ । विशेषगरी नगरकै निर्देशन अनुसार वडातहबाट विभिन्न तालिमहरू सञ्चालन गरेको वाड कार्यालयले जनाएको छ । करमा छुट पाएका धेरै महिलाहरु छन् । जो करमा छुट पाउँदा धेरै नै हर्षित बनेका हुन् । नगरपालिकाले महिलाको लाई ५० प्रतिशत छुट र पुरुष लाइ ३० प्रतिशत छुट दिएको नगरपालिकाका आर्थिक शाखा प्रमुख कृष्ण पाण्डेले बताए । उनी – भन्छन् “ नगरमा उद्यमी महिला वार्षिक यति नै बढे भनेर यकिन तथ्यांक भने छैन् । एकमुष्ट दर्ता गर्छाैँ ।“

नगरले विभिन्न समयमा वडामार्फत विभिन्न तालिम दिएपनि कतिपय तालिम तालिममै मात्रै सिमित भएको उपप्रमुख जगेश्वरदेवी चौधरीले बताइन् । उनले भनिन् –‘कतिपय महिला दिदीबहिनीले यस्ता कुरामा चासो दिन चाहानु हुन्न । तालिम लिनुहुन्छ तर त्यसलाई व्यवसायिक बनाउन खोज्नुहुन्न । त्यसैले उद्यमी महिलाको संख्यामा उल्लेख्य वृद्धि हुन सकेन । महिलाका लागि करमा ५० प्रतिशत छुट हुन्छ भन्ने कुरालाई टोल विकास संस्थाका प्रतिनिधिले प्रष्ट पार्न जरूरी रहेको बताइन् ।’ तिलोत्तमा नगरपालिकामा उद्योग व्यवसाय सञ्चालन गरेका कतिपय महिलालाई नगरले करमा महिलाका लागि ५० प्रतिशत छुट दिन्छ भन्ने थाहै नभएको बताउँछन् ।