ताजा अपडेट »

भद्रगोल भैरहवा : पैदल यात्री हिँड्ने बाटोमा सवारी पार्किङ, नियामक निकाय मौन

सोमबार, ०१ जेठ २०८०
1 Shares

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगर पालिका (भैरहवा ) मुलुककै विकसित नगरहरु मध्ये एक हो । पछिल्लो एक दशकमा भैरहवामा उल्लेख्य प्रगति भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल, फुटपाथ सहितको फराकिलो ६ लेनको सडक, आकाशे पुल, ठूला–ठूला होटलहरु यहाँ निर्माण भएका छन् ।

यहि रहेको बेलहिया नाकाले स्थलमार्ग हुँदै सबै भन्दा बढी पर्यटकहरु भित्र्याउने गरेको छ । लुम्बिनीको प्रवेशद्वार हो भैरहवा । तर पर्यटकीय दृष्टिले अति महत्वपूर्ण भैरहवामा पैदलयात्री अझै पनि जोखिममा हिँड्नु परिरहेको छ । नगरमा फुटपाथ रहे पनि नगरपालिकाको लापारवाही र ट्राफिक प्रहरीको बेवास्ताको कारण अझै पनि भैरहवाको मूख्य चोकको रुपमा रहेको बुद्ध चोक वरिपरि पैदल यात्रुहरु जोखिममा यात्रा गर्नुपरि रहेको छ । फुटपाथ हुँदाहुँदै पैदलयात्रुहरु मूख्यबाटो अथवा सर्विस लेनबाट जोखिममै यात्रा गर्नुको कारण हो फुटपाथमा अवैध कब्जा ।

बुद्धचोक आसपासको क्षेत्रमा पैदलयात्रु हिँड्ने फुटपाथ भरि मोटरसाईकल तथा रिक्सा पार्किङ्ग गरि राख्दा पैदलयात्रुहरु समस्यामा पर्ने गरेका छन् । लुम्बिनी, बेलहिया, बुटवल लगायतका स्थानहरु पुग्ने यात्रुहरु बुद्धचोकमा आईपुग्दा फुटपाथबाट हिड्नै पाउँदैनन् । बाटोमा हिँडे दुर्घटनाको जोखिम हुन्छ । यो क्षेत्रमा सर्विस लेनमा ट्राफिक प्रहरीले “नो पार्किङ्ग” को बोर्ड राखेको छ । यस अघि सर्विस लेनमै पार्किङ्ग हुँदा सो क्षेत्रमा जाम हुने गरेको थियो । जाम हटाउन प्रहरीले नगरपालिकाको समन्वयमा त्यस क्षेत्रलाई नो पार्किङ्ग क्षेत्र घोषणा गर्यो । सर्विस लेनमा पार्किङ्ग गर्न नपाएपछि स्थानीय ब्यवसायीहरुले आफ्नो पसल अगाडि फुटपाथमै मोटरसाईकल पार्क गर्न थाले ।

फुटपाथमै पार्किङ्ग गरेको कारण समस्यामा परेको भन्दै पैदल यात्रुहरु समय समयमा गुनासो गर्दै आएका छन् । तर यसको सुनुवाई न नगरपालिकाको कार्यालयले गरेको छ, न ट्राफिक प्रहरीले नै । छपियाबाट उपचारका लागि भैरहवा आएका कैलाश रैदासले बाटो नभएकै कारण पैदलयात्रुलाई दुःख भएको बताए । “हामी गाउँ तिरबाट आएकाहरु बाटोमा हिड्न गाह्रो हुन्छ, सकेसम्म छेउ–छेउ हिड्छौं ।” रैदासले भने “हामी हिड्ने बाटोमै मोटरसाईकल राखिएको छ, यस्तो गर्नुभएन नि ।”

रैदास मात्र हैन बुद्ध चोक छेउमै बस्ने स्थानीय टिपु सुल्तानले ट्राफिक प्रहरीको लापरवाहीले यस्तो भएको बताउँछन् । “यहि ट्राफिक प्रहरीको ड्युटी हुन्छ, अझ दिनमा कयौ पटक प्रहरी यो बाटो ओहोरदोहोर गर्छ, तर अवैध पार्किङ्ग हटाउने कुनै पहल गर्दैन ।” उनले गुनासो गरे “यो पैदल यात्री मात्रै हिड्ने ठाउ हो तर खै किन यो बिषयमा कार्यवाही गर्न नसकेको हो ।”

पार्किङ्गको समस्या पुरानै हो भैरहवामा । यहाँका अधिकांश बैंक तथा वित्तीय संस्था, ब्यवसायीक प्रतिष्ठान, ब्यवसायीक कम्पलेक्समा पार्किङ्गको ठाउँ राखिएको छैन । भवन निर्माण मापदण्ड अनुसार ब्यपारिक कम्पलेक्स बनाउँदा पार्किङ्गको ब्यवस्था गर्नुपर्ने प्रावधान छ । तर भैरहवाका अधिकांश ब्यपारिक कम्पलेक्सले पार्किङ्गको लागि जग्गा छुट्टयाएका छैनन् । पार्किङ्ग क्षेत्र बनाएका ब्यपारिक कम्पलेक्सले पनि उक्त क्षेत्रलाई ब्यवसायीक प्रयोजनको लागि बहालमा दिएका छन् ।

फुटपाथमै पार्किङ्ग हुने गरेको जानकारी सिद्धार्थनगर नगरपालिकालाई पनि छ, तर नगरपालिका ब्यपारीहरुको अगाडि निरिह बनेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले पार्किङ्गको बैकल्पिक ब्यवस्था नहुँदा समस्या आएको बताए । “बुद्धचोक क्षेत्रमा केही समस्या छ, हामीले ट्राफिक प्रहरीको समन्वयमा केही मोटरसाईकललाई कार्यवाही पनि गरेका हौं ।” उनले भने “आगामी वर्ष पार्किङ्गको विषयलाई नीतिमा नै राखेर यसको दिर्घकालिन समाधान हुने गरि ब्यवस्था गर्न लागेका छौ ।”

पौड्यालले पनि मूख्य समस्या बैंक तथा वित्तीय संस्था, ब्यवसायीक प्रतिष्ठानहरु रहेको बताए । अर्को वर्षदेखि यस्ता प्रतिष्ठानलाई पार्किङ्ग बनाउन लगाउने वा अन्य बैकल्पिक स्थानको खोजीमा सार्ने नगरपालिकाले नीति बनाउन लागेको उनले जानकारी दिए । यस बाहेक नगरपालिकाले सशुल्क नीजि सवारी पार्किङ्ग स्थल सञ्चालन मापदण्ड बनेर नगरपालिकाबाट पारीत भई सकेको उनले जानकारी दिए । यसले पनि नगर क्षेत्रमा पार्किङ्गको समस्या समाधान हुने पौडयालको दाबी छ ।

नगरपालिकाले दिर्घकालीन समस्याको योजना बनाए पनि पैदलयात्रुलाई तत्काल राहत दिने कुनै योजना ल्याउन सकेको छैन । यस विषयको सरोकार राख्ने ट्राफिक प्रहरी पनि मौन बसिदिँदा पैदलयात्रु झनै समस्यामा परेका छन् भने अवैध पार्किङ्ग गर्नेहरुको मनोबल बढ्दै गएको छ ।

रुपन्देहीका ट्राफिक प्रहरी प्रमुख, ट्राफिक प्रहरी निरीक्षक साकार राज पन्तले फुटपाथ पैदलयात्रुकै लागि भनेर बनाईएको बताउछन् । “फुटपाथ पैदलयात्रु र सडक सवारी साधन गुड्नका लागि बनाईएका हुन् ।” पन्तले भने “नगरपालिका कार्यालय संगको सहकार्यमा यसको ब्यवस्थापनमा लागेका छौं ।”

पन्तले फुटपाथमा पार्किङ्ग गर्ने सवारीहरुलाई कार्यवाही पनि गरिरहेको दावी गरे । तर उनको यो दावी भनाईमा मात्र सीमित भएको प्रत्यक्ष महशुश गर्न सकिन्छ । कार्यवाही गर्ने निकाय नै मौन बसिदिँदा नगरमा रहेका स्थानीय मात्र हैन यहाँ आउने पर्यटक, बिरामी लगायत अन्य पैदलयात्रीहरु समस्यामा परिरहेका छन् ।