ताजा अपडेट »

तिलाेत्तमामा लुकिछिपी गुट्खाजन्य पदार्थको बेचबिखन

आइतबार, ३१ बैशाख २०८०

बुटवल । तिलाेत्तमा नगरपालिका १ का हरि ज्ञवाली (नाम परिवर्तन ) लाई गुट्काजन्य पदार्थ (भाेला) लिन अचेल सहजै छ । उनलाई उनी गइरहने किराना पसलले सुटुक्क जति चाहिन्छ उति भाेला दिन्छन् । भन्छन् " कहिलेकाहीँ बुटवलतिर बाट पनि ल्याउँछु ।" गत चैतबाट गुट्खाजन्य पदार्थकाे बिक्रीवितरणमा नगरले निशेष गरेपछि लुकेर सुटुक्क भाेला किन्नुपर्ने अवस्था आएकाे हाे । उनी मात्रै हैन गुट्खाजन्य पदार्थको सेवन गर्ने सबैले सहजै भाेला किन्ने र सेवन गर्ने गरेकाे पाइएकाे हाे ।

पसल सञ्चालकहरू भन्छन् " नचिनेका व्यक्तिलाई भाेला दिइदैन । चिनेजानेका व्यक्तिहरूलाई मात्रै भाेला दिन्छाैँ त्याे पनि लुकिछिपी दिन्छौं  । देखाएर त बेच्नै पाइँदैन । यसरी बेचेकाे नगरले थाहा पायाे भने जरिवाना तिर्नुपर्छ ।" उनीहरूले भने ।" सुरूसुरूमा अनुगमन अलि बढी थियाे तर अचेल त्यसताे खासै अनुगमन छैन् । " उता वाड नम्बर ९ मा रहेकाे एक हाेलसेल किराना पसलमा पनि गुट्खा जन्य पदार्थको लुकिछिपी बिक्रीवितरण हुने गरेकाे छ । पसल सञ्चालक भन्छन् -" पसलमा भएकाे मालसमान त बेच्नै पर्याे नि ! हैन भने हामी पसलमा लगानी लगाएकाहरू त मर्कामा पर्छाैँ । नगरले निषेध गरेपनि लुकिछिपी बेच्छाैँ हामी त । फाइदा हुने यसैबाट हाे । "

यी त केवल उदाहरण मात्रै हुन् । तिलाेत्तमा नगरपालिकाभित्र प्राय सबै किराना पसलहरूमा गुट्खा जन्य पदार्थको लुकिछिपी बिक्रीवितरण हुँदै आइरहेकाे भेटिएकाे छ । भने याे सेवन गर्ने केही व्यक्ति आफुलाई पाएक पर्ने बुटवल उपमहानगरपालिका र केहि व्यक्ति सिद्धार्थनगर नगरपालिकातिर बाट गुट्खाजन्य पदार्थ ल्याएर सेवन गर्ने गरेकाे पाइएकाे हाे । गत चैत १ गतेबाट तिलाेत्तमा नगरपालिकाले गुट्खाजन्य  पदार्थको बिक्रीवितरणमा राेक लगाएकाे छ । नगरले एक समारोहबीच गुट्खाजन्य पदार्थ निषेध क्षेत्र भनेर घाेषणा नै गरिसकेको छ ।

तर नगरले घाेषणा गरेपनि बिक्रीवितरण र सेवनमा कमी नआएकाे वाड नम्बर १ का वाड अध्यक्ष फर्सुराम गिरीकाे भनाइ छ । घाेषणाताका अनुगमन अलि भए पनि पछिल्ला दिनमा भने अनुगमन नभएकाे वडा अध्यक्ष स्वीकार्छन् । उनी भन्छन्-" राेकमात्र लगाएर नहुने र यसका लागि जनचेतनामूलक कार्यक्रमहरूकाे पनि आवश्यकता छ । "तिलाेत्तमा नगरपालिकाले गुट्खाजन्य पदार्थ  बिक्रीवितरण नियन्त्रण गर्ने सम्बन्धि कार्यविधि २०७९ भनि कार्यविधि नै बनाएकाे छ । साे कार्यविधिमा गुट्खाजन्य पदार्थको प्रयाेगले मानव स्वास्थ्य र शहरी साैन्दर्यमा समेत गम्भीर असर पर्ने देखिएकाे उल्लेख्य गरिएकाे छ ।

गुट्खाजन्य पदार्थको बिक्रीवितरण कार्यकाे अनुगमनकाे लागि साे कार्यविधिकाे दफा ६ काे उपदफा १ मा नगरस्तरीय अनुगमन समितिमा नगर उपप्रमुख संयाेजक रहनेगरी आर्थिक विकास समिति संयाेजक, वन वातावरण तथा विपद व्यवस्थापन समिति संयाेजक , राजश्व शाखा संयाेजक , नेपाल प्रहरीको स्थानीय प्रमुख , उद्योग वाणिज्य संघकाे प्रतिनिधि , चेम्बर अफ कमर्शकाे प्रतिनिधि , उद्याेग व्यापार संगठनकाे प्रतिनिधि र नगर प्रहरी इन्चार्ज सदस्य रहेकाे अनुगमन समिति रहने भनी उल्लेख छ ।

यसैगरी दफा ७ काे उप दफा १ मा टाेलस्तरीय अनुगमन समिति वडा अध्यक्ष संयाेजक रहनेगरी वडा अध्यक्षले ताेकेकाे वडा सदस्य मध्यबाट एकजना वडा सदस्य , टाेल विकास सञ्जालकाे अध्यक्ष , वडा बाल सञ्जाल प्रतिनिधि , क्लव संघ संस्था आमा समूह मध्यबाट तीन जना , स्वास्थ्य संस्थाबाट दुई जना नेपाल प्रहरीकाे स्थानीय प्रमुख प्रतिनिधि र वडा सचिव रहने भनी उल्लेख गरिएकाे छ ।

गुट्खाजन्य पदार्थको बिक्रीवितरण भएमा
साे कार्यविधिकाे दफा ४ काे उपदफा १ मा  जरिवानासमेत ताेकिएकाे छ । पहिलाे पटक गुट्खाजन्य पदार्थको बिक्रीवितरण गरेकाे भेटिएमा डिलरकाे लागि रू १००००/- अन्य व्यवसायीका लागि रू१५००/- जरिवाना ताेकिएकाे छ । त्यस्तै दाेस्राे पटक डिलरकाे लागि रू २००००/- अन्य व्यवसायीका लागि रू २०००/- रकम जरिवाना ताेकिएकाे छ भने तेस्राे पटक पनि भेटिएमा डिलरका लागि रू ५००००/- र अन्य व्यवसायीका लागि रू ५००००/-  रकम जरिवाना ताेकिएकाे साे कार्यविधिमा उल्लेख छ ।

तर गत चैतमा घाेषणा नै गरेर गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा राेक लगाए पनि सेवन र बिक्रीवितरणमा कमी आएकाे छैन् । घाेषणापछिका केही समय केही समय अनुगमन अलि बढी भएकाे र अनुगमनका क्रममा भेटिएका करिब ८/१० पाेका गुट्खाजन्य पदार्थ (भाेला) जफत गरि नगर प्रहरीकाे सहयाेगमा नष्ट गरिएकाे हरियाली प्रवर्द्धन अधिकृत गाेरख खनालले बताए । उनी भन्छन् -"कार्यविधि बने पनि त्याे पास भएकाे छैन् ।"

तिलाेत्तमा नगरपालिकाले भव्यताका साथ गुट्खाजन्य पदार्थकाे बिक्रीवितरणमा राेक लगाए पनि नगरभित्र पछिल्लाे पटक खासै अनुगमन नगरिएकाे तिलाेत्तमा नगरपालिका वातावरण शाखा प्रमुख युवराज पन्थीकाे भनाइ छ ।