ताजा अपडेट »

राष्ट्रिय युवा संघको ३४ औं स्थापना दिवसको अवसरमा रक्तदान

आइतबार, ३१ बैशाख २०८०

बुटवल । तिलोत्तमाकी देवी थापा शनिबार बिहान रगत दानका लागि आइन् । उनलाई मनमा डर लागेको थियो । तर केही समयपछि भने उनलाई सामान्य जस्तै भयो । किनकि उनले पहिलो पटक रक्तदान गर्दै थिइन् । उनी भन्छिन् ‘पहिले त डर लागेको थियो तर पछि भने डर हरायो । देवीले आफ्नो शरीरमा रहेको खेर जाने रगत दिन पाउँदा खुसी भएकि हुन् ।

तिलोत्तमा ५ का गोविन्द बन्जाडे भने खुसी थिए । उनको अनुहार हँसिलो थियो । उनले यसपालि २७ औँ पटक रक्तदान गरेका हुन् । यसरी विभिन्न समयमा रक्तदान गरिरहन पाउँदा उनी खुसी छन् । गोविन्द तिलोत्तमा रक्तदाता समाजका अध्यक्ष पनि हुन् । सोहि समाजकै वरिष्ठ उपाध्यक्ष राजकुमार श्रेष्ठ पनि यसैपालि २७ पटक रक्तदान गरेका छन् । उनले पनि आफ्नो शरीरको खेर जाने रगत दान गर्न पाउँदा औधी खुसी छन् । यहाँ यी तीन मात्र हैन करिब ६० जना युवाहरू जोस जाँगर र उत्साहका साथ भेला भएका हुन् । तिलोत्तमा १ मा रहेको शिवचोक मन्दिर परिसरमा उनीहरू यसरी भेला भएका हुन् । यो महत्त्वपूर्ण अवसर राष्ट्रिय युवा संघ तिलोत्तमा नगर कमिटीले जुराइदिएको हो ।

रूपन्देहीको तिलोत्तमा १ मा शनिबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय युवा संघ तिलोत्तमा नगर कमिटीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय कमिटी सदस्य केशव रोक्काको प्रमुख आतिथ्यतामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि रोक्काले यो समयमा सबैले रक्तदानको महत्त्व बुझ्न जरूरी रहेको बताए । राष्ट्रिय युवा संघको ३४ औं स्थापना दिवसको अवसरमा गरिएको सो कार्यक्रममा ५५ युनिट रगत सकंलन भएको उपाध्यक्ष जीवन पाण्डेले बताए ।

रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको सो कार्यक्रम तिलोत्तमा रक्तदाता समाजको सहकार्यमा भएको हो ।राष्ट्रिय युवा संघ नेपाल तिलोत्तमा नगर कमिटीका अध्यक्ष सुभाष खत्री क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय कमिटी सदस्य किरण नेपाल, लुम्बिनी प्रदेश कमिटी सदस्य ईश्वर न्यौपानेको उपस्थिति रहेको थियो साथै जिल्ला कमिटी अध्यक्ष विकास बस्नेत, उपाध्यक्ष दिपक खड्की, कमिटीका कोषाध्यक्ष नारायण थापा, सदस्यहरू शंकर पाण्डे, सागर माली, विकास गुरुङ, गणेश थापा, तिलोत्तमा रक्तदाता समाजका पदाधिकारी लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको संघले जनाएको छ । नगर कमिटीले विभिन्न समयमा सामाजिक उत्तरदायित्वका कामहरू गर्दै आइरहेको छ भने आगामी दिन अझै महत्त्वपूर्ण कार्यक्रमहरू गर्ने जनाएको छ ।