ताजा अपडेट »

आगामी तीन वर्षभित्र सबैको पहुँचमा विद्युत्

बुधबार, ०१ माघ २०७६

माघ १,

काठमाडौँ । अबको तीन वर्षभित्र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा सबै नेपालीको पहुँच पुग्ने भएको छ । आउने तीन वर्षभित्र राष्ट्रिय ग्रिड सबै नेपालीसम्म पुर्याउने लक्ष्यसहित तीव्र गतिमा काम भइरहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार अहिले ग्रामीण विद्युतीकरणको कामलाई तीव्ररूपमा अगाडि बढाइएको जनाइएको छ । प्राधिकरणका वितरण तथा व्यापार विभाग प्रमुख प्रबल अधिकारीले अबको तीन वर्ष्भित्र हरेक नेपालीको घरमा विद्युत् सुविधाका लागि प्राधिकरणको राष्ट्रिय ग्रिड पुर्याउने लक्ष्य लिएर प्राधिकरणले कामलाई तीव्रता दिएको जानकारी दिए ।

अहिले प्राधिकरणको राष्ट्रिय ग्रिडमा ८० प्रतिशत नेपालीको प्रत्यक्ष पहुँच रहेको बताउँदै उनले भने, ‘‘अबको तीन वर्ष्भित्र हरेक नेपालीको घरसम्म प्राधिकरणको राष्ट्रिय ग्रिड पुर्याइसक्ने छौँ ।’’ राष्ट्रिय ग्रिड जडान सम्भव नहुने क्षेत्रमा ब्याट्री स्टोरेज प्रणालीसहितको माइक्रो–हाइड्रो, सोलार तथा वायु ऊर्जाको उपयोग गरी बिजुली पु(याउने लक्ष्य प्राधिकरणको रहेको उनले बताए ।

राष्ट्रिय ग्रिडमा सबै नेपालीको पहुँचसँगै प्रतिव्यक्ति विद्युत् खपतको अनुपातसमेत बढ्ने बताउँदै उनले सन् २०२३ सम्म प्रत्येक नेपालीको वार्षिक विद्युत् खपत सात सय र सन् २०२८ सम्म पन्ध्र सय युनिट पुर्याउने लक्ष्य प्राधिकरणको रहेको जानकारी दिए । अहिले प्रतिव्यक्ति कम विद्युत् खपत गर्ने मुलुकमध्ये नेपाल पनि एक रहेको छ । अहिले प्रत्येक नेपालीले वार्षिक करिब २४५ युनिट विद्युत् खपत गर्ने गर्दछन् । –गोरखापत्र दैनिक