ताजा अपडेट »

नेत्रज्योति संघप्रति सरकारले दायित्व पूरा गरेको छ : उपाध्यक्ष राणा राणा

शनिबार, ३० बैशाख २०८०

गुल्मी । नेपाल नेत्र ज्योति संघका केन्द्रीय उपाध्यक्ष सागर प्रताप राणाले नेपाल नेत्र ज्योति संघप्रति निभाउनु पर्ने दायित्व सरकारले पूरा गरेको बताएका छन् । बिगत ४४ वर्षदेखि निरन्तर यस क्षेत्रमा लागेका राणाले अहिले १५० उपचार केन्द्र, २७ सय आँखा अस्पताल र ४४ सय शाखाहरुद्वारा नेपाल नेत्र ज्योति संघले सेवा दिइरहेको बताए ।

नेत्र ज्योति संघ गुल्मीको शनिबार सदरमुकाम तम्घासमा भएको २६ औं अधिवेशनको अवसरमा बोल्दै विभिन्न कारणले उपचार पाउन नसकिरहेका बिरामीहरुको उपचारमा समेत सचेत भएर कोही सेवा लिनबाट बञ्चित नहुने गरि लाग्न आग्रह गरे ।

मदाने गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवर, नेपाली काँग्रेस जिल्ला कार्य समिति गुल्मीका सहसचिव छवि पाण्डे, नेकपा एमाले जिल्ला नेता कृष्ण सुनार, माओवादी केन्द्र गुल्मीकी नेतृ गीता थापा, जनता समाजवादी पार्टी गुल्मीका वरिष्ठ उपाध्यक्ष घनश्याम पाण्डे, एकिकृत समाजवादी पार्टीका जिल्ला नेता राममल्ल ठकुरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला नेता अनिल कक्षपति नेपाल नेत्र ज्योति संघ गुल्मीले प्रवाह गरेको सेवा र कार्यहरु प्रशंसनीय रहेको बताए ।

गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पौडेल, आँखा उपचार केन्द्रहरुको तर्फबाट अग्निधर लोहोनी, समाजसेवि कृष्णहरि सापकोटा, प्रा. डाक्टर ज्ञानेन्द्र लामिछाने, नेपाल नेत्र ज्योति संघ प्यूठानका प्रतिनिधि दामोदर शर्मा, नेत्र ज्योति संघ पाल्पाका सभापति बुद्धिप्रसाद शर्माले नेत्र ज्योति संघले दृष्टि गुमाएकाहरुको उपचार गरी अन्धोपन निवारणका लागि ठूलो सहयोग पुर्याएको बताए । उनीहरुले दृष्टि सबैको अधिकार हो भन्ने भावनालाई नेत्र ज्योति संघ गुल्मीले सार्थक तुल्याएको बताए ।

नेपाल नेत्र ज्योति संघ जिल्ला उपसभापति अखिलेश्वर प्रसाद पाण्डेको स्वागत तथा सचिव राजेन्द्रप्रसाद श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो । सो अवसरमा विभिन्न सामाजिक व्यक्तित्वहरुलाई सम्मानित गरिएको छ । समाजसेवि कृष्णहरि सापकोटा, नेपाल नेत्र ज्योति संघ गुल्मीका पूर्व सभापति शशि पन्थी, निवर्तमान सभापति भरतबहादुर चन्द, मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक ढालबहादुर जि.सि., मालिका गाउँपालिकाका स्वास्थ्य संयोजक वसन्तराज भुसाल, जिल्ला आँखा उपचार केन्द्रका चालक सन्तोष सुवेदीलाई सम्मान गरिएको हो । उनीहरुले नेत्र ज्योति संघलाई पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको सभापति थापाले जानकारी दिए।

यस्तै सोही अवसरमा गुल्मी जिल्लाको पहिलो रेडियो, रेडियो रेसुंगामा कार्यरत मनु सुनार नेत्रज्योति सम्मान पुरस्कारबाट पुरस्कृत तथा सम्मानित भएका छन् । नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र तम्घास गुल्मीले उनलाई नेत्रज्योति सम्मान पुरस्कारबाट पुरस्कृत गरेको हो ।