झपिन्द्रबहादुर रायममाझीको निमन्त्रणामा रायमाझीहरुको कुलपूजामा सहभागी हुन पाल्पा, रैनादेवी छहरा गाउँपालिका वडा नं. ४ को बोखरडाँडामा बैसाख २७ गते, बुधवार मध्यान्ह १२ बजे पुगिसकेका थियौं । हामीसँग नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपाल, होटल व्यवसायी गमला नेपाल लगायतका थियौं । त्यहाँ पुग्न हामी डुम्रेको तानसेन खोला पुल तरेर चलनचल्तीको नाममा सुशील मार्ग हुँदै कुसुमखोला पुगेका थियौं । त्यहाँबाट बतासेहुँदै छहरा बजार काटेर बोखरडाँडा पुग्दा कुलपूजा भब्यताका साथ चलिरहेको थियो । त्यहाँ पुग्नुअघि हामीले बाटामा बेच्न राखेका काफल चाखेका थियौं ।
रायमाझीहरुको कुलपूजामा पहिलो पटक सहभागिता जनाउन पाउँदा हर्षित थियौं । पाँच पाँच वर्षमा हुने उक्त कुलपूजाको परिदृश्य अनौठो र भव्य थियो । बोखरडाँडाभरि नै कुलपूजा गर्ने रायमाझीहरु अनि उनीहरुका शुभचिन्तक निम्तालुका सार्थक उपस्थिति लोभ लाग्दा देखिन्थे । उक्त स्थलमा पञ्चेबाजा बजिरहेको थियो । नाँच्नेहरुको कमी थिएन । महिला, पुरुष सरोबरी नाँचिरहेका थिए । मन भुलाउने बाटो राम्रै लाग्यो । थानका वरिपरि घुमियो । मूल पूजारी मीनबहादुर रायमाझीसँग माधव दाइ र गमला भाउजुले फोटो खिचे । ७४ वर्षीय मीनबहादुर बासँग एकछिन पूजाआजाका बारेमा कुराकानी गर्ने अवसर मिल्यो ।
विगत २५ वर्षदेखि यही थानमा पूजा गर्दै आएका मीनबहादुर बाले आफू सकुञ्जेल मुख्य पुजारीका रुपमा रहने बताए । खास गरी यहाँ बराह मष्टको पूजा गर्ने परम्परागत चलन रहेको उनले सुनाए । उक्त दिनमात्र मौलामा पाँचसय पचास बढी बोकाहरु काटिएको अनुमान लगाए । थप जानकारीका लागि समितिसँग टिपोट हेर्न अनुरोध समेत गरेका थिए । मीनबहादुर बाको निधारदेखि पाउसम्म बलीको निशानी रगत देखिन्थ्यो । अरुबेला घरमा टुक्रुक्क बस्ने उनै मूल पूजारी मीनबहादुर बा, यो कुलपूजामा तगडा हुने र बोकालाई लात्तीले हानेर छनौट गर्न सक्ने हुन्छन् भनेर झपिन्द्रले सुनाएका थिए । थानमा अन्य पूजारीहरु पनि थिए । महिलाहरुले पूजाका लागि उनीहरुलाई पूजा सामग्री दिएका थिए । हेर्दा लाग्थ्यो–हाटबजार नै लागेको छ !
डाँडाको माथिपट्टि दमिनी सरायँ खेल्ने मन्दिर रहेछ । त्यस मन्दिरका बारेमा पाल्पाका इतिहासकार निर्मल श्रेष्ठले आफ्नो पुस्तकमा उल्लेख गरेको माधव दाइले मलाई सुनाइरहेका थिए । कुलपूजा गरेर ढालिएका बोकाहरु डाँडाभरि कतै पोलिदै थिए । कतै भुटिदै थिए । कतै ताउलामा पाक्दै थिए । निम्तालुहरुले टेन्टमूनि बसेर, कतै रुखको ओत लागेर प्रसादी मासुसँग भात, चिउरा ग्वाँमग्वाँम खाँदै थिए । पकाउनेले पकाइरहेका देखिन्थे । भाँडा माझ्नेले माँझिरहेका थिए । खानेहरुले उभिएर, बसेर, कतै रुखमा आड लगाएर खाइरहेका पाइन्थे । अचम्म रमाईलो थियो ।
कतै बोकाका भुँडीहरु खाल्डो खनेर गाँड्दै थिए । कतै सिङलाई माटोले खाल्डोमा पुर्दैथिए । कस्तो अनौठो चलन–सकेको खाने, नसके खाल्डोमा घाम छँदै पुर्नुपर्ने रे ! घरमा कसैले लैजान नपाइने रे ! त्यहिभएर नै होला निम्तालुहरुका उपस्थिति लोभ लाग्दो । एउटा निम्तालु धेरैका भान्सामा पुग्दा रहेछन् । को कसका निम्तालु भन्ने हेक्का नहुँदा रहेछ । जो जस कहाँ गएपनि खान पाइने चलनको विकास भएको रहेछ । सायद भीडका कारण आपूmलाई बोलाएको मान्छेलाई भेट्नै गाह्रो भएपछि यस्तो साझा नियम बनाएका होलान् ।
रायमाझीहरुको यस्तो खालको कुलपूजाले एकताको गाँठो बलियो देखिन्छ । भातृत्वप्रेम, स्नेहपूर्ण भेटिन्छ । मिलेर सँगसँगै हिड्नुपर्छ भन्ने सन्देश प्रवाह हुन्छ । देशभरिका रायमाझीहरु पाँच वर्षमा भेट्न पाउने यो सुनौलो अवसरले सञ्चो, विसञ्चो सोध्नेमात्र होइन बरु बाँचेको र मरेकाको हिसाबकिताब समेत गर्ने थलो हुँदोरहेछ । पाँच वर्षमा एकपटक टाढा टाढाका दाइभाइ, इष्टमित्रहरु भेट्न पाउँदा सुख सुनाउने र दुःख बुझाउने अनुपम अवसर पनि रहेछ । रायमाझी बन्धुहरुकोमात्र कुलपूजा भएन पनि यसको स्वामित्व, उनीहरुसँग जोडिएका नालनाता र साथीभाइका सुखद् मिलन समेत रहेछ । भेटघाट हुने, सुख दुःख सोध्ने, मनका कुरा साट्न अवसर समेत कुलपूजाको मिलनले दिदोरहेछ ।
कति राम्रो व्यवस्थित यो कुलपूूजा नमूनायोग्य लाग्यो । प्रसादी ग्रहण गर्नेहरुले शान्तपूर्वक ग्रहण गरिरहेका थिए तर कही कसैले बिजुली पानी खाएर बिजुलीजस्ता चम्केका थिएनन् । कतै कसैले खाएको देखिएन । त्यही भएर त यत्रो २०/३० हजारको संख्यामा रहेका मानिसहरुका बीच शान्त वातावरण थियो । एकछिन माधव दाइ र मैले कसैले खाएर कतै हल्ला गरेका छन् कि भनेर नियालेर हेरेका थियौं । हाम्रो अनुगमनको प्रयास निर्थक भयो । सायद नियम होला वा प्रसादीसँग बिजुलीपानी मिसाउन नपाइने चलन पनि हुन सक्छ ।
हामीले झपिन्द्रको निम्तो बोकाको मासु र भातसँग खुबै मान्यौं । गमला भाउजुले सादा भातमा तरकारी र अचार मिसाएर निम्तो मानिन् । रैनादेवी छहरा वडा नं.७ गहतेका कुलबहादुर खड्का, इन्द्रबहादुर खड्का, डाक्टर रामबहादुर राउत, रामप्रसाद ज्ञवाली, सत्यवती, इटियाका दिलबहादुर गाहा, खुर्साने आधारभूत विद्यालयका प्रअ प्रेम घिमिरेसँग भेट्ने अवसर मिल्यो । पत्रकारहरु भुवन कार्की, यानेन्द्र जीसीलाई हातहल्लाएर आएको संकेत गरियो । सुकादमार माइती भएका मिठू रायमाझीसँग थान नजिकै भेट्ने अवसर मिलेको थियो । गीता भट्टराईलाई फोनमा त भेटियो तर प्रत्यक्ष भेट्न हुलमुलमा सकिएन । डुलबहादुर कुँवर दाइ डुल्दै गरेको देखें टाढैबाट ।
खाएपछि भुँडी टुम्म भयो । अटसमटस भएपछि यताउता घुमियो डाँडामा । यति ठूलो कुलपूजामा जमघट अरु जातिको कमै हुन्छन् होला भन्ने मेरो अनुमानमात्र हो एकीन भने होइन । कुलपूजा गर्नका लागि गठित समितिको निर्णय, पूजाको समय तालिका र कार्यान्वयनको पाटो अतिनै सुन्दर लाग्यो । कठोर अनुशासनका बीच हुने रायमाझीहरुको यो कुलपूजा सबैका लागि उदाहरणीय हुन सक्ने मेरो ठहर छ ।
२०४६ सालपछि हाम्रो देशमा पार्टीकै कारण गाउँ फुट्यो, टोल फुट्यो, कुल फुट्यो । पार्टीकै कारण मलामी बाराबार भयो । चुल्हो बाराबार भयो । पँधेरामा बोलचान बन्द भयो । कुल फुटेर टुक्राटुक्रा भए । दाजुभाइका बीच काटाकाट र मारामार भयो । बोलचालमात्र होइन छोइछिटो चल्यो । तर कसरी रायमाझीहरु एक रहिरहे ? उनीहरुको कुलपूजा आजसम्म एकै ठाउँमा गर्ने अवस्था कसरी रहिरह्यो ? उनीहरुका बीचमा पनि पार्टी फरक थिए होलान् नि ? दाजुभाइका बीच मनमुटाव थिए होलान् नि ? अंश र बंशका कुरामा तानातान र हानाहान त होला नि अहिले पनि ? तर एउटै थानमा पूजा गर्ने वातावरण कसरी बनिरहेको छ ? मनका तुषहरुलाई दबाएर एउटै थलोमा हाँस्ने केले बनाएको छ उनीहरुलाई ? बढो गम्भीर प्रश्न मेरो मनमा खेलिरहेको बेलामा कसैले रायमाझीको कुलपूजाको बारेमा थेसीस लेखेको होला ? यसका बारेमा कसैले गहिरो खोज, अध्ययन, अनुसन्धान गरेका होलान् ?
देशमा रायमाझीहरु ठूल्ठूला पदमा पुगेका छन् । चाहे राजनीति नेतृत्वमा होस् या चाहे सेना, प्रहरीमा किन नहोस् । चाहे न्यायक्षेत्रमा होस् वा शिक्षा क्षेत्रमा किन नहोस् । उनीहरुको एकता यही कुलपूजाले झल्काइरहेका पाइन्छ । उनीहरुका बीचको भाइचारा सम्बन्ध प्रगाढ देखिन्छ । हुन त रैनादेवी छहराका अगुवा समाजसेवी कुलबहादुर खड्काका अनुसार गुल्मी र अर्घाखाँचीका केही रायमाझीहरुले आफ्नै जिल्लामा कुलपूजा गर्ने चलन अmझै कायम रहेको बताए । त्यसो हुनुमा भौगोलिक एवम् आर्थिक अवस्था समेत हुन सक्ने उनको तर्क छ । त्यसो हो भने रायमाझीहरुले उनीहरुलाई समेत आफ्नो स्थानमा समाहित गराउन थप पहल गर्नुपर्ने देखिन्छ ।
हामीहरु पाल्पाको तीनगिरेसम्म पुग्दा पाणिनी गाउँपालिका वडा नं. २ का पूर्ववडाध्यक्ष पन्थी समेत थिए । केहीबेर राजनीतिका कुरा गरेका थियौं । उजाड तीनगिरे, डाँडाकटेरी हुँदै नियाली पुग्दा दिउँसोको तीन बज्दै थियो । सायद तत्कालीन माओवादी र श्री ५ को सरकार बीचको अन्तिम लडाइँ तीनगिरेमा भएको पन्थीले भन्दैथिए ।
नियाली गाउँबाट ढोरपाटन जाने बाटो जोडिँदो रहेछ । यो चोक रहेछ । त्यहाँ हामीले रास्कोटी थरकी साहुनीकहाँ चिया खाइयो । पाउरोटीको पैसा माधव दाइले दिए तर चिया खाएको पैसा लागेन । त्यहाँबाट ३५ किलोमीटर दूरीमा रुपन्देहीको सालझण्डी बजार पर्दोरहेछ । हामीलाई करिव २ घण्टा लाग्यो नियालीबाट सालझण्डी झर्नका लागि । बाटामा हामीले ढवाहा, सिम्ले गाउँ देख्यौं । तरेली परेका फाँटहरु देखेपछि फोटो खिचियो । सिम्लेमा रहेको १० कक्षासम्म पढाइ हुने स्कूल सिद्ध माध्यमिक विद्यालयमा ११ र १२ कक्षा पढाइ नहुँदा स्थानीय विद्यार्थी २ घण्टाको पैदल यात्रा गरेर नियालीमा रहेको द्यौराली माविमा पढ्न जानुपर्ने बाध्यता खिमा सारुले बताइएकी थिइन् । उनलाई पत्रकारिता पढ्ने रहर रहेछ । उनको जिज्ञासा थोरै समयमा मेटाउन मैले कहाँ सक्थें र !
ढोरपाटनको बाटो दनादन बिस्तार हुँदै रहेछ । कामको माँचो खुबै रहेछ । केहीबेर पर्खिन परेपनि विकासको बाधक हुने कुरै भएन । बाटाभरि डोजर, टिप्पर चलेकै थिए । तल गाउँ, ढवाह आइपुगेपछि बुद्धबहादुर रानासँग भेट भो । उनको बाख्रापालन राम्रो चलेको छ तर होटल भने ठप्प रहेछ । इटियाहुँदै फूलबारी अनि मुर्गियामा समीक्षा कुँवरले पकाएको चिया खाएर बुटवल आइयो । दिनभरिको यात्रा र यात्रामा देखिएका दृश्यहरु आँखामा सजाएर सुत्दा १० बज्दै थियो ।
प्रतिक्रिया