बुटवल । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेसँगै अवस्था हिंसात्मक बन्दै गएको छ । यसै बीच पूर्व विदेशमन्त्री एवं पाकिस्तान तहरिक-ए-इन्साफ दलका नेता शाह महमूद कुरैशी पक्राउ परेका छन्।
गिरफ्तार हुनुभन्दा अघि उनले रिकर्ड गरेको भिडिओमा भनेका छन्, “मलाई गिरफ्तार गर्न प्रहरी आइपुगेको छ। म एउटा सन्देश दिन चाहन्छु। यो आन्दोलन स्वतन्त्रताको लडाइँ हो र हामीले यसमा भाग लिनुपर्छ। आज इमरान खान उनको नियन्त्रणमा छन् जसबाट उनको ज्यानलाई जोखिम छ।”
उनले समर्थकहरूलाई खान रिहा नभएसम्म आन्दोलन नरोक्न भनेको समाचार बीबीसीले प्रकाशन गरेको छ । यसअघि पाकिस्तानको सेनाले सैन्य अखडाहरू र सार्वजनिक सम्पत्तिहरूमा आक्रमण गर्नेहरू विरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएको छ।
पूर्व प्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएपछि जारी प्रदर्शनहरूमा उनका समर्थकहरू र सुरक्षा फौजहरूबीच झडप भएका र सरकारी भवनहरूमा आक्रमण गरिएका विवरण आइरहेका छन्। राजधानी इस्लामावादमा एउटा प्रहरी चौकीमा आगजनी गरिएको छ।
पछिल्लो तनावमा कम्तीमा १० जना मानिसहरूले ज्यान गुमाएका छन्। पन्जाब र खैबर पख्तुनख्वामा अमनचयन कायम गर्न सेना परिचालन गरिएको छ। खानलाई आठ दिन हिरासतमा राख्न अनुमति दिइएको छ। पाकिस्तानका पूर्व प्रधानमन्त्रीले आफूमाथिका आरोप राजनीतिक रूपमा पूर्वाग्रही भएको बताउँदै आएका छन्।
प्रतिक्रिया