ताजा अपडेट »

कृषि पत्र पढेपछि..

मंगलबार, २६ बैशाख २०८०

कृष्णप्रसाद खनाल प्रकाशक एवम् सम्पादक रहेर प्रकाशित कृषि पत्र पढ्ने अवसर मिल्यो । पाँचौ वार्षिकोत्सवको अवसरमा प्रकाशित विशेषाङ्कको रुपमा प्रकाशित यो जानकारीमूलक बुलेटिनले कृषिका सन्दर्भमा धेरै कुरा सिक्ने अवसर मिल्यो । यस बुलेटिनमा युवराज कंडेलले लुम्बिनी प्रदेशमा कृषिका चुनौतीहरु र सम्भवना विषयमा खोज तथा ओजपूर्ण लेख लेखेका छन् । उनले लुम्बिनी प्रदेशको समग्र परिचय दिएका छन् । प्रदेशमा कृषि उत्पादनको अवस्था, कृषि क्षेत्रमा देखिएका चुनौतीहरु, कृषिका सम्भावनाहरुका बारेमा व्यापक चर्चा गरेका छन् । कृषि क्षेत्रमा देखिएका चुनौतीहरुमध्ये सिंचाईको अभावलाई पहिलो नम्बरमा राखेका छन् । त्यसैगरी मलखाद,बजार अभाव,छाडा चौपायाका कारण कृषकहरु मारमा परेका कुरा, वन्यजन्तुका कारण बाली भित्र्याउन नपाउने विषम अवस्था र पशुपालनमा देखिएको समस्याहरुलाई चुनौतीका रुपमा लेखेका छन् ।

लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव समेत रहेका यामनारायण देवकोटाले रासायनिक विषादीहरुको प्रयोग गर्नुपर्दा अपनाउनु पर्ने सावधानीहरुका बारेमा मिठो लेख प्रस्तुत गरेका छन् । उनी लेख्छन्–विषादीको छनौट र प्रयोग गरिने गलत तरिकाका कारण नेपालको परिप्रेक्ष्यमा यो बढी हानिकारक भएको पाइन्छ । उनले विषादी के हो ? कसरी प्रयोग गर्ने ? प्रयोग गर्ने तरिका र यसका सावधानीका सन्दर्भमा मिहिन तरिकाले आफ्नो लेखमा प्रष्ट्याएका छन् । किसानहरुलाई यो लेख अमृतसमान रहेको छ ।

पशुपालन तथा पशुपोषण विशेषज्ञका रुपमा परिचित तुलसीराम भण्डारीले यो बुलेटिनमा लुम्बिनी प्रदेशमा कृषि तथा पशुपंक्षीको सम्भावना, समस्या र चुनौती विषयक समय-सान्दर्भिक लेख प्रस्तुत गरेका छन् । उनले आफ्नो लेखमा निष्कर्षका रुपमा कृषि र पशु सेवा कार्यक्रमको दीगो विकासका लागि प्राथमिकताका साथ सोच, भिजन, दूरदृष्टि स्पष्ट गर्दै प्राविधिक मापदण्ड अनुसार कार्यान्वयन गर्नुपर्ने, उत्पादित कृषि एवम् पशुपंक्षीजन्य बस्तुको वैज्ञानिक र न्यायोचित बजारको व्यवस्था गरी बाह्य बजारको हस्तक्षेत्रबाट सुरक्षित गरिनुपर्ने लगायतका कुराहरुमा जोड दिएका छन् । दलबहादुर गुरुङले कृषि वनको अवधारणालाई आफ्नो लेखमार्फत जानकारी गराएका छन् ।

कसरी पाल्ने पंगासयिर माछा शीर्षकको लेख मत्स्यपालक कृषकहरुलाई अति उत्तम लेख हो । यसमा दीपक भुसालले यो माछाको परिचय, यो माछा वर्तमान समयमा कृषकहरुमाझ प्रभावकारी हुनुका कारण, पालन प्रविधि, माछा मार्ने तरिका साथै माछापालन गर्दाको खर्च विवरण समेत प्रस्तुत गरेका छन् ।

जलवायु परिवर्तन संसारकै समस्या र चुनौती बनेर आइरहेको सबैलाई थाहा भएको विषय हो । यसले कृषिमा कति बढी असर गर्छ भन्ने कुरा जीवराज चालिसेले कृषिमा देखिदै छ जलवायु परिवर्तनको असर नामक लेखमा प्रष्ट पारेका छन् । उनले बाँके, नरैनापुर गाउँपालिकाको किसानको पीडा लेखेका छन् । बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिका डुबानमा परेका घटनालाई प्रतिविम्वित गराएर आफ्नो लेख पूरा गरेका छन् ।

दामोदर खनाल, टीभी जर्नालिष्ट हुन् । उनले व्यवसायिक उत्पादन र बजारीकरण आजको आवश्यकता शीर्षकमा ओजपूर्ण लेख बुलेटिनमा समाहित गरेका छन् । उनले आफ्नो लेखमा यसरी लेखेका छन्–बुटवलको पैंचो पसलले किसानका तरकारी, फलफूल गुल्मीको गाउँगाउँबाट उठाइदिने गरेका कारण पनि किसानलाई सुविधा भएको मात्र छैन, उनीहरुलाई बजार खोज्न समेत परेको छैन । हिजो बारीमा कुहिएर खेरजाने स्कूस, फर्सी, तामा, घिरौंला, लौका, काँक्राजस्ता कृषि पैदावारले आज बजार पाएको छ । जसबाट उनीहरुले घरखर्च चलाएका छन् । छोराछोरीलाई राम्रो विद्यालयमा पढाएका छन् । प्रगति गरेका छन् । कृषिलाई बजार र बजारीकरणसँग जोडेर उक्त लेख लेखिएको छ ।

देवदह, कृषिमा फड्को मारेको नगरपालिका हो । यहाँ बसेर कृषि एवम् पत्रकारिता गर्ने त्रिलोचन दाहालले देवदहको कृषिमा देखिएका समस्या, चुनौती र सम्भावनाहरुका बारेमा प्रष्ट विचार पस्केका छन् । आफ्नो स्थानमा कृषि व्यवसायिकरण हुन नसकेको, भू-उपयोग नीति बन्न नसकेको, बिचौलियाहरुको दबदबा रहेको, समन्वय र सहकार्यको अभाव लगायतका कारणले सोचे जति कृषिमा देवदहले उन्नति, प्रगति गर्न नसकेको लेखेका छन् ।

नेपाली बीउ क्षेत्रलाई सहकार्य गर्दै आत्मनिर्भर बनाऔं शीर्षकको लेख सुभाषराज उपाध्यायले लेखेका छन् । उनले कटाइ, चुटाई सफाइ, पूर्ण निगरानी, आवश्यकता अनुसार वातानुकूलित भण्डारण व्यवस्था, प्रशोधन, वैज्ञानिक ढंगले खडाबाली बीउ निरीक्षणले बीउको व्यवस्थापन गर्न सकिने उल्लेख गरेका छन् । डीआर घिमिरे पाका पुराना पत्रकार एवम् लेखक हुन् । पछिल्लो समय उनी कृषि कर्मसँगै जोडिएका छन् । वानस्पति विषादीको प्रयोग : समस्या एवम् समाधान उनको गहकिलो लेख हो । विषादी के हो ? यसको प्रयोग किन गर्नुहुँदैन ? जैविक वानस्पतिक विषादी के हो ? जैविक खेती के हो ? उनले भारतको कर्नाटक र महाराष्ट्रमा गोबरको प्रयोगले उत्पादन बढेको दृष्टान्त दिदै आफ्नो लेखको बीट मारेका छन् ।

अस्मिना पाण्डेयले यो कृषि पत्र बुलेटिनमा खोजमूलक लेख लेखेकी छन् । महिलाले हाँकेको बिहानी सहकारी समूहदेखि उद्योगसम्म शीर्षक राखेर महिला उद्यमशीलतालाई जोड दिएकी छन् । कपिवबस्तुको उक्त सहकारीले गरेका उन्नति र प्रगतिको फेहरिस्त लगाएकी छन् । सहकारीका अध्यक्षका रुपमा रहेकी तुल्सी थापाले आफ्नो सहकारीले आयआर्जनमा खेलेको भूमिका र पाएको सहयोगका बारेमा बताएकी छन् ।

सम्पत्ति शुद्धीकरण गर्ने कार्यले अदृश्य रुपमा विश्व अर्थतन्त्रलाई गाँजिरहेको छ । नेपालबाहिर पूँजी पलायन गर्दै सम्पत्ति शुद्धीकरण गर्नेहरुको संख्या नेपालमा पनि बढिरहेको बताइन्छ भनी सम्पत्ति शुद्धीकरण : संगठित आर्थिक अपराध लेखमार्फत आफ्ना विचार सीमा वनले प्रस्तुत गरेकी छन् । मत्स्य विशेषज्ञका रुपमा रहेका सुवोधराज भट्टराईले यो बुलेटिनमा बायो फ्लक प्रविधि आवश्यकता, महत्व विषयमा नौलो लेख लेखेका छन् । यो प्रविधि भनेको पानीको गुणस्तर बढाउने रहेछ ।

नेपालको कृषि प्रणाली र कृषि बजार शीर्षकमा लुम्बिनी फलफूल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष बाबुराम भुसालले आफ्नो लेख लेखेका छन् । उनका अनुसार बुटवलको उक्त कृषि बजारमा ५५ जिल्लाबाट फलफूल तथा तरकारीहरु आउने र बिक्री हुने बताए । यहाँका फलफूल तथा तरकारीहरु छिमेकी तथा तेस्रो राष्ट्रमा पठाउने सरकारी तीति नबनेकै कारण आज नेपाली किसानहरु मर्कामा परेको कुरा उनको लेखमा पढ्न पाइन्छ ।

शिबु भण्डारीले कृषि पत्र बुलेटिनमा कम्पोष्ट मल भनेको के हो शीर्षकमा लामो र ज्ञानवद्र्धक लेख लेखेका छन् । ग्रामीण किसानहरुलाई यो लेख सान्दर्भिक देखिन्छ । यो बुलेटिन किसानका घरघरमा पुग्न सकेमा उनको लेखले प्रसिद्धि पाउने छ ।

यस बुलेटिनका सम्पादक एवम् प्रकाशक अनि कृषि प्राविधिक समेत रहेका कृष्णप्रसाद खनालले कहाँ चुके तीन तहका सरकार शीर्षकमा आफ्नो गर्विलो लेख लेखेका छन् । सरकार बन्यो ,संरचना बन्यो तर काम हुन नसकेको उनले लेखमार्फत उजागर गरेका छन् । राजेश कुँवरले पहाडीक्षेत्रमा तीव्र कृषि व्यवसायिकरणका सम्भावना, चुनौती र रणनीतिहरु विषयक लेखमा कृषिलाई व्यवसायिकरण गर्नुपर्नेमा जोड दिएका छन् । त्यसका लागि प्रविधिमैत्री कृषि हुनुपर्नेमा उनको दमदार प्रस्तुति छ ।

कृषि पर्यटन पछिल्लो समय सबैको मुखमा झुण्डिएको विषय र सन्दर्भ हो । कृषिलाई पर्यटनसँगै जोडेर लैजान सक्दा कृषिले फड्को मार्ने र आम्दानीलाई धूरी चढाउने देखिन्छ । सोही प्रसंगलाई जोडेर छपियाको फिस भिलेज रिसोर्टका बारेमा पत्रकार विकास पराजुलीले फिचर लेखेका छन् । गौरव गौतमको तर्कीलाई विकासले उजागर गरिदिएका छन् । अर्घाखाँचीको सीतगंगा नपाको कुडुलेमा रहेको गुराँस जंगल रिसोर्टका बारेमा समेत जान्न पाइने गरी नारायण भुसालसँग गरिएको अन्तर्वार्ता पढ्न पाइन्छ ।

माछाको सुपरजोन एरियाको रुपमा परिभाषित सियारीका बारेमा सुरज घिमिरेले लेखेको लेख पढ्न पाइन्छ । सियारीको अर्थतन्त्र, सियारीको कृषि, माछा गाउँको विम्व, सियारीमा कृषिको सम्भावना र आवश्यकताका बारेमा घनीभूत तरिकाले बयान गरिएको लेख पठनीय छ । चुल्होदेखि उद्यमी यात्रा, सफलताको उच्च विन्दूमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका सन्दर्भमा समेत बुलेटिनमा पढ्न पाइन्छन् ।

विज्ञापन राम्रै प्रकाशन भएको छ । सायद बुलेटिन प्रकाशन र वितरण गर्न पुग्ला । कृष्णको मिहिनेत र शाहस उत्तम देखिन्छ । पर्दा पछाडिको पात्रका रुपमा अस्मिना पाण्डेयलाई जान्न सकिन्छ । कृषि पत्र राम्रो, चारै कलरमा छापिएको छ । तरपनि सम्पादनमाथि औंला उठाउन जाँगर चलेको छ । वर्णविन्यासमा देखा परेका विचलनका कारण आँखामा च्वाँस्स च्वाँस्स गोप्छ । यति राम्रो, यस क्षेत्रकै गौरव गर्न लायक, सबैका लागि उदाहरणीय एवम् पठनीय हुने यो बुलेटिनलाई निरन्तरता दिनुपर्ने देखिन्छ । सम्पादक एवम् प्रकाशकले भाषा सम्पादनमा अति नै ध्यान दिएमा सुनमा सुगन्ध हुनेछ ।

कृषि नै जीवनको मूल आधार हो । कृषिविना जीवन, गतिशील हुने सम्भवना छैन । हामी सबैको बाँच्ने आधार भनेको नै कृषि हो । कृषिलाई समयानुकूल र प्रविधिमैत्री बनाउन नसकेको कारण नै आज हामीले भोगेका समस्या भोलिका सन्ततिले समेत भोग्ने पक्का देखिन्छ ।